site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्प : विज्ञ भन्छन्– सचेत गरायो, महाभूकम्पको जोखिम टरेको छैन

काठमाडौं । जाजरकोटमा शुक्रबार रातियता भूकम्पका १७५ भन्दा धेरै धक्का मापन गरिएको छ । शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । केन्द्रका अनुसार उक्त धक्का ‘मझौला भूकम्प’ हो । त्यसपछि जाजरकोटमै चार म्याग्निच्युडदेखि माथिका पाँच धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मुख्य भूकम्पपछिका धक्का परकम्प हुन् । तीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।

Dabur Nepal
NIC Asia

६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको केन्द्रका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए ।

जोखिम टरेको छैन : भूकम्पविद्
भूकम्पविद्ले पश्चिम नेपालमा महाभूकम्पको जोखिम कायमै रहेको बताएका छन् । पश्चिम नेपाल आसपासमा ठूलो भूकम्पको सम्भावना कायमै रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।

शुक्रबार रातिको धक्काले महाभूकम्पको जोखिम कम नभएको उनले उल्लेख गरे । उक्त क्षेत्रमा ५०० वर्षदेखि सञ्चित शक्ति मझौला भूकम्प जाँदैमा क्षय नहुने उनले बताए । गए रातिको भूकम्पले सचेत गराएको उनको भनाइ छ ।

“ठूलो भूकम्पको जोखिम कम भएको छैन । मझौला भूकम्पले त्यहाँ सञ्चित शक्ति कम गर्दैन,” उनले बाह्रखरीसित भने, “सानातिना र मझौला भूकम्प गइरहनु भनेको त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित छ भन्ने हो । गए रातिको भूकम्पले सचेत गराएको छ ।”

८ म्याग्निच्युडदेखि माथिका धक्कालाई महाभूकम्प भनिन्छ । ८ म्याग्निच्युडको सञ्चित शक्ति क्षय हुन ६ म्याग्निच्युडका हजारौँ भूकम्प जानुपर्ने उनले बताए ।

“८ को शक्ति सञ्चय भएको ठाउँमा त्यो क्षय हुन ६ को हजारौँवटा भूकम्प जानुपर्छ,” उनले भने, “साना र मझौला केही भूकम्प जाँदैमा जोखिम कम हुँदैन ।”

उनका अनुसार ६ भन्दा ७ म्याग्निच्युडको भूकम्प ३२ गुणा ठूलो हुन्छ । ६ भन्दा ८ म्याग्निच्युडको भूकम्प हजार गुणा ठूलो र शक्तिशाली हुन्छ । सोहीअनुसार क्षति पनि बढी हुन्छ ।

भूकम्पको म्याग्निच्युडसँगै केन्द्रविन्दु, भौगोलिक अवस्था, भौतिक संरचनाको स्थितिलगायत कारणले क्षतिमा प्रभाव पर्ने उनले स्पष्ट पारे ।

शुक्रबार रातिको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro