site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
३४ वर्षमा दुईहजार बच्चा हुर्काएँ, तर यही देशमा मलाई तस्कर बनाइयो

सरकार पक्षबाट सचिवज्यूहरूले बोल्दा मलाई अलि नमज्जा लाग्यो । ३४ वर्ष मैले जेलमा काम गरेँ । अन्तर्राष्ट्रियस्तरमा मैले मेरो सुनाएको अनुभवहरू उनीहरूले कार्यान्वयन गरेर धेरै काम गरेका छन् । अहिले पनि मलाई अन्तर्राष्ट्रियस्तरमा वक्ताको रूपमा बोलाउने गरेका छन् । हिजोअस्ति मात्र स्पेनको जेलमा मेरो अनुभव सुनाउन बोलाएको थियो । धेरै कार्यक्रमहरू त्यहाँका युवा, विश्विद्यालयका, सामाजिक अभियान्ताहरू दुई घण्टा ट्रेनमा यात्रा गरेर मेरो अनुभव सुन्न आएका थिए । 

तर, म आफ्नै देशमा ‘स्पिचलेस’ छु । यहाँ बसेर यत्रो वर्ष काम गरेँ, मेरो विज्ञता मेरो अनुभवहरू बेकार भएको छ । मलाई त्यो देख्दा रुन मन लाग्छ । यहाँहरूको विचार सुनेँ, यस्तो तरिकाले जेलमा रहेका युवाहरूलाई प्रस्तुत गर्नुभयो कि लाग्छ उनीहरू आतंकवादी नै हुन् । त्यो युवालाई यो अवस्थामा पुराउने यही समाज हैन ? यही राज्य हैन ?

मैले देखेको छु । कति बालबालिका आमाबुबालाई प्रहरीले पक्रिन जाँदा चित्कार छोडेको मैले अनुभव गरेको छु । मलाई डीएसपी साहेबले राति बोलाएर इन्दिरा मिस मैले यो बच्चालाई राति जेलभित्र राख्नुहुँदैन आमालाई मात्र राख्न मिल्छ भनेपछि सेन्टर जेलबाट चित्कार छोड्दै बच्चालाई लिएर आएको अवस्थाहरू कसैलाई थाहा छैन ।

Dabur Nepal
NIC Asia

त्यो जेलमा आश्रित बालबालिकाको रेकर्ड हुँदैन थियो । त्यही देखेर पारिजात दिदी, हाम्रो सपना थियो कि यो बालबालिकाको अधिकारलाई सुनिश्चित होस् भनेर सपना देखेका थियौँ । दिदीको सपनाको फुलाउँदै मेरो जिन्दगी त्यहाँ समर्पण गरे । ३४ वर्ष बिताएँ । म १८ वर्षको थिएँ, दिदीलाई भेट्दा । त्यतिबेला जेलभित्र कोही पनि जाँदैन थियो । ससाना नानीहरू जेलमा हुन्थे । ठूला बन्दीहरूले खेदी खेदी यौन शोषण गर्थे । त्यो कुरा थाहा पाएर हामी लड्यौँ । 

२००४ तिर गृह मन्त्रालयमा विभाग थियो । त्यो विभागमा नेत्र सरहरू, उमेश सरहरू हुनुहुन्थ्यो । त्यो बेला जेलमा कोही एनजीओ जाँदैन थियो । जेलको अनुभवी भनेर कुनै पावरबिनै त्यो ठाउँमा गएर मैले काम गरेको हो । त्यसबेला बालसुधार खोल्ने भन्ने कुरा आयो । तर, राज्यमा कुनै पूर्वाधार छैन के गर्ने त भन्दा युसेपको आफ्नै जमिन थियो । कारखाना थियो, ट्रेनिङ सेन्टर थियो । त्यसैको आधारमा बालसुधार गृह खोल्ने सहकार्य भएको हो । इतिहास यही हैन त ? त्यसबेला राज्यके के थियो र ?

बालसुधार गृह युसेपले मात्र चलाउने हैन नि । सरकारकै मानिसहरू बोर्डमा हुनुहुन्छ । त्यस्तै सरकारले चलाउने एउटा बालमन्दिर थियो । भूकम्पको बेला बालमन्दिरको मुख्य भवन भत्किएपछि केटा र केटीलाई एकै ठाउँमा राख्यो । आज म तपाईंहरूलाई भन्छु, भूकम्पको बेला १२, १३ वर्षका केटा–केटी एकैठाउँ राख्दा त्यहाँ यौन शोषण हुने सम्भावना आएर उनीहरूको अभिभावकले मलाई सम्पर्क गरेर छोरीहरू निकाल्दीन अनुरोध गरे । मैले जेलरलाई भनेर पाँचजना बच्चा निकालेँ । उनीहरू अहिले कलेज पढ्दै छन् । तर, मलाई यही देशमा तस्कर बनाइयो कति रुन मन लाग्छ होला ।

घोची घोची मलाई पिच्दा खेरी कति पीडा हुन्छ होला । म आज ३४ वर्ष काम गर्दा संसारले चिन्यो । मलाला सँगसँगै मलाई चाइल्ड नोबेल प्राइज दिने, बीबीसी हन्ड्रेड वुमनको अवार्ड दिने, हिजोअस्ति मात्रै ५० हजार डलरको अवार्ड पाएँ मैले त्यो पनि संस्थालाई बुझाएँ । मेरो कुनै घर छैन काठमाडौंमा । यो देशमा अहिले पनि बालबालिकाको विषयमा अबुझ छन् ।

हामीले आज बालबालिकामा लगानी गरेनौँ यो देशको कस्तो परिकल्पना हामी गर्दै छौँ ? सडकमा लगानी गर्छौं दुई दिनमा अलकत्रा उकिन्छ । भवन बनाउँदैमा विकास भयो भन्न मिल्दैन । बालबालिकाको विकास गर्न नसके कसरी हुन्छ र । बालबालिकाको विकास गर्नुपर्‍यो नि । मनोविज्ञान परामर्श सुविधा दिनुपर्‍यो । जेलमा तपाईंहरूले कतिवटा काउन्सिलर दिनुभएको छ ? त्यो त सरकारले दिने होला नि । 

संस्था गलत हैन । संस्थामा काम गर्ने स्टाफ त सरकारले दिने कुरा पर्‍यो नि यो कुरा माननीयज्यूहरूले हेर्नुपर्‍यो । हरेक कुरा नकारात्मक रूपमा लिनुहुँदैन । सबै बालसुधार गृह सरकारले लिने भने पनि ठिक छ । तर, सरकारसँग त्यो अनुसारको पूर्वाधार छ ? जमिन छ ? जमिन छैन नि । यहाँको जमिन पनि युसेपको हो, नेपालगञ्जमा पनि व्यक्तिले दिएको जमिन हो ।

मेरो कुरा सरकारले एनजीओको गल्ती देखाएर आफू पन्छिन भएन । पूर्वाधार त दिनुपर्‍यो नि । एउटा संस्थाले यहाँसम्म गर्‍यो, अब उसैलाई गल्ती देखाउने कुरा मलाई दु:ख लाग्यो । मैले दुईहजार बढी बच्चा हुर्काएँ । मेरो बुबाले मलाई दाइजोको रूपमा दिएको मेरो जमिन मैले डोनेट गरेको छु । मैले झापा सालबारीको मेरो जमिन आफूले नराखेर विद्यालय खोलेर सरकालाई दिएको छु । अर्थात् युसेपजस्ता संस्थालाई सरकारले धन्यवाद दिनुपर्ने हो । 

मैले यतिमात्र भन्न चाहेँ, अहिले बालसुधार गृहमा अहिले जति पनि घटना घटे यसमा सरकारले कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । बालबालिकालाई दोष दिन मिल्दैन । बालअधिकारको पूर्ण ग्यारेन्टी सरकारले गर्नुपर्छ । 

(उपसभामुख इन्दिरा राना मगरले मंगलबार संसद्को कानून, न्याय तथा मानव अधिकार समितिमा राखेको धारणाको सम्पादित अंश ।)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro