
धेरै पुरानो कुरा हो । अफ्रिकामा अनानसी नाम गरेको एक मानिस थियो । ऊ संसारमै सबैभन्दा धेरै बुद्धिमान् मानिस मानिन्थ्यो । सबै मानिस ऊसँग सरसल्लाह लिन जान्थे । मद्दत माग्थे ।
एक दिन अनानसीलाई कुनै कारणले गर्दा मानिससँग रिस उठ्यो । उसले ती मानिसलाई दण्ड दिने सोच्यो । उसले निधो गर्यो कि आफ्नो सारा ज्ञान हमेसाका निम्ति लुकाउनेछ, जसले गर्दा अरू कोही मनुष्य ज्ञानी बन्न नसकून् ।
त्यसै दिनदेखि उसले आफ्नो सारा ज्ञान जम्मा गर्न थाल्यो । उसलाई जब लाग्यो कि आफ्नो सारा ज्ञान आफूसमक्ष आइसकेको छ, त्यसपछि त्यसलाई माटोको घैँटोमा बन्द गरिदियो । र, राम्ररी सिलबन्द गर्यो ।
अनि, उसले निश्चय गर्यो कि ज्ञानको घैँटो यस्तो ठाउँमा राख्नेछु, जहाँबाट कसैले पनि यसलाई प्राप्त गर्न नसकून् ।
अनानसीको एउटा छोरो पनि थियो, जसको नाम कवेकू थियो । कवेकूलाई सुस्तरीसुस्तरी अनुभव हुँदै गएको थियो कि उसका पिताले कुनै सन्दिग्ध काम गरिरहेका छन् । त्यसैले उसले आफ्नो बाबु अनानसीको चियो गर्न थाल्यो ।
एक दिन आफ्नो बाबुलाई एउटा घैँटो लिएर घरबाहिर निस्केको उसले देख्यो । उसले बाबु अनानसीको पिछा गर्न थाल्यो ।
अनानसी गाउँभन्दा टाढा एउटा जंगलमा पुग्यो । र, घैँटोलाई सुरक्षित रूपमा राख्न अग्लो रुख खोज्यो ।
ज्ञान अरूमा पनि बाँडिएला भन्ने आशंकाले त्रसित उसले घैँटो आफ्नै आँखाअगाडि राख्न चाह्यो । त्यसैले ऊ घैँटोलाई छातीमा झुन्ड्याएर रुख चढ्न थाल्यो ।
उसले अनेकपटक रुखमा चढ्न खोज्यो । तर, हरेक प्रयत्न खेर गयो । ऊ रुख चढ्नै सकिरहेको थिएन । खासमा छातीमा घैँटो भएकाले ऊ रुख चढ्न सकिरहेको थिएन ।
केही बेरसम्म कवेकूले आफ्नो बाबुको यो हरकत हेरिरह्यो । अनि, केही बेरपछि कराएर भन्यो, “बुवा, तपाईं घैँटोलाई पिठिउँमा बोकेर किन चढ्नु हुन्न ? त्यसो गर्ने हो भने तपाईं सजिलैसँग रुख चढ्न सक्नुहुन्छ ।”
यो सुनेर अनानसी पछाडि फर्कियो र छोरोलाई भन्यो, “मलाई त लागिरहेको थियो मैले संसारका सारा ज्ञान यो घैँटोमा बन्द गरिदिएको छु ! तर, तिमी त मभन्दा पनि ज्ञानी निस्कियौ । मेरो सारा बुद्धिले यो बुझ्न सकिरहेको थिएन, तर तिमीले टाढैबाट पनि बुझ्यौ ।”
उसलाई छोरो कवेकूप्रति एकदमै रिस उठ्यो र आफूसँग रहेको घैँटो जमिनमा फ्याँक्यो ।
घैँटो जमिनमा झर्नासाथ फुट्यो र त्यसमा बन्द सारा ज्ञान संसारभर फैलियो । र, सबै मानिस बुद्धिमान् भए ।
(हिन्दीसमय डटकमबाट)