
दैनिकीको थकानले सूर्यदेव पनि पाताल देशमा विश्राम गर्न गइसकेको छ । साँझ गहिरिँदै छ । अगेनावरिपरिको न्यानो वातावरणमा म आफूलाई गिलासमा ढाल्दै थिएँ ।
साँझलाई यसरी जिउनु मेरो बाध्यता होइन । गिलासले वास्तविक धरातलबाट उम्रिएका नमिठा भावको कुरूपतालाई विस्मृतिको अवस्थामा पुर्याउन मद्दत गर्छ । र, त्यसकारण यो मेरो रोजाइ बन्छ ।
एकाकीपनको नीरसतालाई छिचोल्न शैलले जस्तै यसले मलाई साथ दिन्छ । एक्लोपनको घोचाइ मेरा निम्ति विवशता होइन, सम्बन्धमा पर्खाल ठड्याउनुको विकल्प आफैँले रोजेको अवस्था हो ।
मभित्र एउटा विद्रोह जन्मिरहेको हुन्छ, चेतन वा अवचेतन चिन्तनमा । स्पष्ट ठम्याउन सक्तिनँ । यसले मलाई सुस्तरी डोर्याउँदै लगिरहेको हुन्छ । म रोक्दिनँ आफूलाई । अन्यथा, यसले अर्को प्रति–विद्रोह जन्माउँछ ।
विद्रोहमा सम्झौता हुन्छ, तर विद्रोहबीच समझौता खोज्नु मेरो स्वभाव हुँदैन । गिलाससँगै पातलिँदै गएको चेतनालाई जमाएर हिउँको ढिक्का बनाउने प्रयासमा म गिलास अझै रित्याउन थाल्छु, बोतलसँग ‘चियर्स’ गर्दै !
ममा रहर पलाउन छाड्यो । उसको आउने क्रम पनि कम हुन थाल्यो । मलाई रहर चल्दैन हिजोआज । किन थाहा छैन !
ऊ कहिलेकाहीँ आइदिन्छे । मभित्र लहड जाग्दैन । बरु, ऊ नआउँदा उसले झर्केर सम्झाउने त्यो फिक्रीको बढी रहर लाग्छ । उसको आँखाको सागरमा देखिने फिक्रीले मभित्रको लहडलाई किनारा दिन खोज्छ ।
फेरि पनि मेरो निम्ति यो कुनै बाध्यता बन्दैन । मेरा आकांक्षा मेरा भाव–तरंगका साथ गुम्फिन थाल्छ । प्रेम आवेग वा आवेश होइन । प्रेम गर्नु बाध्यता नभएजस्तै घृणा पनि अनिवार्य होइन ।
म उसलाई प्रेम गर्छु बिनाकुनै आग्रह, घृणा पनि गर्छु बिनाकुनै दुराग्रह । उसले मेरो गिलासलाई घृणा गर्छे । म उसको घृणालाई धित मरुन्जेल माया गरिदिन्छु ।
मैले उसलाई सर्वांग आफूभित्र समेटेर राखेको हुन्छु । यो मेरो बाध्यता होइन, बरु मानिस हुनुको नैसर्गिक प्रकृति हुनसक्छ सायद । यो प्राकृतिक सापेक्षतालाई अस्वाभाविक बनाउन कोसिस गर्दिनँ म ।
उसले मेरो गिलासलाई घृणा गर्दा गर्दै मसँग उदासीन भएजस्तो हुन्छे । मलाई रमाइलो लाग्छ उसको विरक्तिपन देखेर । तर, बिथोलिन्छु उसको निरपेक्षतामा । म अव्यक्त उपेक्षाभन्दा व्यक्त घृणा मन पराइदिन्छु ।
म अस्पष्ट तृष्णाभन्दा खुला वितृष्णा रुचाइदिन्छु । बाध्यताको मायाले मभित्र विचलन ल्याउँछ । यसको सट्टा बरु म एकलोपनको निर्वासन सहज स्वीकार गर्छु ।
ऊ आउँछे । आउँदा आउँदै उसले मेरो गिलासलाई पन्छ्याइदिन्छे । उसलाई रक्सी मन पर्दैन र रक्सिनेहरू पनि । म भने रक्सी मन पराइदिन्छु, बरु उसलाई यदाकदा कम मन पराइदिन्छु ।
म यो निकै सजिलोसित भन्दै छु । तर, यो भन्न मैले आफूभित्र निकै संघर्ष गर्नुपर्छ । आफूलाई रक्सीसँग बगाउन सजिलो हुँदैन, तापनि म बग्छु न रल्लेर । स्मृतिका पहिरो खस्न दिँदिनँ ऊबाट विमुख समयको चोइटामाथि ।
म सहजै त्यस क्षणलाई बाँचिदिन्छु गिलासको साथमा बिनाकुनै विकृति जन्माई । म गिलास रित्याउँछु, नभनिएको कुनै साँचो अनुभूतिमा । सायद यसैलाई मात लाग्ने भन्छन् !
मानिसलाई मात वैभवको लाग्छ, सत्ताको लाग्छ, कसैलाई आफ्नो रूपको लाग्छ क्लियोपेट्रालाई जस्तै ।
मलाई शैलको सबै कुराको मात लाग्छ । यो मात मेरो बानी बनेर जिजीविषा बन्छ ।
झ्यालबाहिर अँध्यारो गहिरिएर पस्रिन थाल्छ कुनै नियमबद्ध व्यवस्थामा थिग्रिएर । मेरो गिलासभित्र पनि केही थिग्रिन खोजेको म अनुभव गर्छु । सायद...।
तर, उसलाई यो मन पर्दैन । म आफ्ना हातखुट्टामा नंग्रा उमार्न सक्तिनँ । मेरो मुखमा दाह्रा पनि उमार्न सक्तिनँ । सेक्सलाई अतिक्रमणको सीमासम्म पुर्याउन विवेकले कहिले समर्थन गर्दैन ।
सामान्य मानिसको चेतनाले बलात्कारलाई कदापि ‘जस्टिफाई’ गर्न स्वीकार्दैन । बलात्कृतले आफू बलात्कृत भएको साबित गर्नुपर्ने हाम्रो पुरातन मानसिकता भएको समाजमा बलात्कारीलाई हामी ‘हिरो’ बनाउँछौँ अनि नारी अस्मिताको दुहाइ पनि दिन्छौँ ।
यो दोगला मापदण्डलाई मेरो चेतनाले स्वीकार्दैन । आइमाईको जिउको लट्ठिने बास्नाको आग्रहमा मात्तिनु सट्टा गिलासको घाँटी पोल्ने झोलले ‘चियर्स’ गर्दै मात्तिनु मन पराइदिन्छु । अनि, जीवन पनि यस्तै धितलाग्दो आग्रहले जिउन मन लाग्छ ।
आइमाईको जिउभरि काँडैकाँडा उम्रेको हेर्न चाहन्छु । ढुंगामा उम्रन सक्ने सिउँडीजस्तै जब्बर भएको देख्न चाहन्छु । प्रत्येक काँडामा लोग्नेमानिसको अतिक्रमणको लासले शृंगारेको उसको दर्शनीय रूपशिखालाई म कुनै पनि दुर्गाभवानीलाई भन्दा बढी अनुरागले हेरिदिन्छु ।
नारीको यही शक्तिरूप जसले महिषासुरको आसुरी घमण्डको अन्त्य गर्छ । तर, यसको सर्वव्याप्तताको कुरा गर्न हाम्रो समाज आनाकानी गर्छ, किन ? हामी सधैँ नारीको मातृत्वको कोमल अभिधालाई बढी उजागर गरी नारीलाई अबला, कोमल मात्र देखाउँछौँ !
यो स्वीकार्य छैन आजको मानिसलाई । त्यसैले शैलको अस्तित्व बोधलाई स्वीकार्न र आफूभित्र पनि त्यो शक्तिको ऊर्जा समेट्न मन लाग्छ । म गिलासभित्र देख्छु नारीको त्यो अनुपम रूपरेखा जसको पर्खाइमा छु ।
गहिरिएको साँझमा उसलाई फेरिफेरि गिलासमा भरेर पिइरहन्छु, उसको अस्तित्वलाई आत्मसात् गरेर । केही भन्न खोज्ने दुई आँखा मेराअगाडि उभिन आउँछ ।
त्यसमा उसको अतीत समावेश छ । भविष्यको लागि बुनेको रहरलाग्दो आख्यान पनि झलकिन्छ त्यसभित्र । तर, म कुनै इतिहास नभएको मानिस वर्तमानलाई सिंगो जिउन खोज्छु, भविष्यसँग अस्पृह भएर ।
भविष्यको गर्भ बोकी यसको पीडालाई भोग्न मेरो वर्तमान कदापि तयार छैन । मेरो वर्तमानलाई विद्रोहले शृंगारेको हुन्छ । यसले बुढो युगसँग र यसको प्रत्येक सम्झौतासँग विद्रोह गर्छ ।
शैलमा युगसन्धि जन्मेको देख्छु । उसले मेरो वर्तमानलाई त्यतिकै माया गर्छे, जतिको मलाई । तर, पछि फर्केर हेर्ने मोह पनि छाड्न सक्दिन । ऊ मेरो विद्रोह निरंकुुश हुँदै छ भनी गुनासो गर्छे । मलाई मन पराइरहेकी पनि हुन्छे ।
मानसिकस्तरको हस्तक्षेप रूचाउँदिनँ म । वैयक्तिक अभिव्यक्तिमा कसैको हस्तक्षेप सहज ग्राह्य हुँदैन मलाई । त्यसकारण म शैललाई विरोध गर्दिनँ । म उसलाई बढी सुनिदिन्छु ।
आफू बढी व्यक्त हुने आग्रह म राख्दिनँ । उसलाई बढी सुन्ने स्थितिमा कहिलेकाहीँ म मौनको अवस्थामा पुग्छु । मेरो यो अवस्था देखेर शैल बिथोलिन्छे । म असमर्थ छु उसलाई बताउन, आफ्ना चाहनाहरू । बारम्बारको आग्रहले हमेसा सन्तुष्ट भएको मलाइ स्वीकार्य छैन । आग्रहमा सन्तुष्ट हुने चाहनाहरूलाई मैले डढाइसकेको छु ।
म यायावर भौँतारिरहेको छु, एउटा छटपटी आफूभित्र बोकी, केही जोड्ने प्रयासमा । म घुमन्ते प्रवासी हुन गएको छु साइबेरियाको चरोजस्तै कहिले हिमालको शिखरमा, कहिले तराईको फाँटमा । यही जोड्ने क्रममा मभित्र केही विशृंखल हुँदै गएको पीडा अनुभव हुन्छ ।
पीडाको यो विषलाई म नीलकण्ठ भई आफूभित्रै राख्छु । कावा खाँदै उडिरहेका मेरा इच्छाका परेवाहरू भुईंमा बजारिन आउँछन् । छ्यालब्याल भएर भुईंमा छरिन्छन् । हावामा भुत्लैभुत्ला उड्को देख्छु । मेरो जिउमा भुत्ला उम्रन थालेको लाग्छ मलाई ।
आफ्नै जिउ सुमसुम्याउन मलाई रहर लागेर आउँछ । म सुमसुम्याउन थाल्छु, सन्चो लाग्छ आफैँलाई । म लट्ठिन थाल्छु । बिर्सन थाल्छु आफैँलाई । मभित्रको यायावर ममाथि एक्कासि कोर्रा बर्साउन थाल्छ । मेरा आँखा तिरमिराउन थाल्छन् ।
म फेरि भौँतारिन थाल्छु पहाड, तराई, जंगलको चकमन्नतामा एउटा नमेटिने तिर्खा बोकेर । राराको अपरिमेय जल भण्डारले पनि मेट्न नसकिने एउटा प्यासलाई आफूभित्र समेटेको हुन्छु ।
एउटा अनुत्तरित अनन्त प्रश्न जो कृष्णको भगवत््गीतादेखि बुद्धको बुद्धम् शरणम् गच्छामीसम्मको यात्रा तय गरेर आउँदा पनि अनुत्तरित नै रहन्छ । जीवन भोगका लागि वा मोक्षको लागि प्रयासरत रहने ।
ज्ञानी विद्वान्हरूले आआफ्ना व्याख्याहरू गरेका छन् । ती व्याख्याहरू मसँग मेरो कुनै किसिमको विमति वा आग्रह, दुराग्रह छैन । तर, मभित्रको यायावर चेतना भने भोग र मोक्षलाई सँगसँगै सापेक्षतामा बाँच्नका लागि भौँतारिरहेको छ आजसम्म ।
म जीवन जिइरहको हुन्छु, कुनै ग्रह, नक्षत्र अथवा प्रभावमा, यो मलाई थाहा छैन । र, यो थाहा गर्ने कुनै आग्रह पनि छैन । विज्ञानले यसलाई तथ्यको कसिमा राखेर हेर्छ । आज मानिस अन्तरिक्षको ग्रहहरूमा विचरण गरिरहेको छ, तर पनि जीवन भोग र मोक्षको पहेलीमा अल्झिएरै बसेको छ ।
म बाँच्छु फरकफरक स्थितिमा । प्रत्येक स्थिति एकार्कासित अमिल्दो हुँदा पनि कताकता मिलेको जस्तो लाग्छ । म बाँच्नुमा एउटा विद्रोह पहिल्याउन खोज्छु । बुद्धले पनि जीवनको सन्दर्भमा एउटा विद्रोह पहिल्याएका थिए ।
म बुद्ध होइन, त्यसैले मेरो आँखा स्वम्यभू हुन सक्तैन । बुद्ध आज बाँचेको भए उसले डाँडामाथि बसेर सम्बन्धहीनताको स्थिति भोग्नुपर्थ्योे होला । त्यसैले स्वम्यभूको ती आँखाहरू डाँडामाथि टोलाएर बसेका छन् दिनरात अनादिकालदेखि अनन्तकालसम्म, यही प्रश्नको उत्तरको खोजीमा ।