site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतीय क्रिकेट टिमका पूर्वकप्तान बेदीको निधन

नयाँ दिल्ली । भारतीय क्रिकेटका नायक तथा महान् स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको बताए ।

“भारतीय क्रिकेट टिमका पूर्वकप्तान, बलर विशनसिंह बेदी रहनु भएन, जसलाई भारतले सधैँ सम्झिनेछ,” भारतीय क्रिक्रेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्वअध्यक्ष ठाकुरले पत्रकारसँग भने, “यो अत्यन्त दुःखद खबर हो र क्रिकेटका लागि अत्यन्त ठूलो क्षति हो । यो दुःखद घडीमा सम्पूर्ण क्रिकेटजगत् उहाँको परिवारको साथमा छ ।”

इरापल्ली प्रसन्ना, श्रीनिवास वेंकटराघवन र भागवत चन्द्रशेखरसहितको प्रसिद्ध चार स्पिन बलरमा समावेश विशनले सन् १९६७ देखि सन् १९७९ का बीच आफ्नो सानदार अन्तर्राष्ट्रिय करियरमा ६७ टेस्ट म्याचमा २६६ विकेट लिएका थिए ।

बायाँहाते स्पिन बलर बेदीले सन् १९७४ देखि १९७९ सम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । बेदी प्रायः साथीहरू, क्रिकेट खेलाडी र खेलका कमजोर प्रशासकको आलोचनामा स्पष्टवादी थिए ।

ठूलो पगरी र हँसिलो अनुहारका साथ उनी दिल्लीमा क्रिकेट कार्यक्रमहरूमा नियमित सरिक हुन्थे । तर, पछिल्ला केही वर्षमा खराब स्वास्थ्यका कारण उनी सक्रिय सामाजिक जीवनबाट टाढा थिए ।

दुई विवाह गरेका बेदीका दुवै श्रीमतीबाट दुई छोरा र दुई छोरी छन् । उनका कान्छा छोराले सन् २००२ को मिस इन्डिया जितेकी अभिनेत्री तथा मोडल नेहा धुपियासँग विवाह गरेका छन् ।

पाकिस्तानका पूर्वकप्तान इन्तिखाब आलमले उनको निधनमा दुःख प्रकट गरेका छन् । उनले भनेका छन्, “उहाँसँग मेरो धेरै सौहार्दपूर्ण र मित्रतापूर्ण सम्बन्ध थियो । उहाँ एक महान् स्पिनर हुनुहुन्थ्यो । यो क्रिकेट र विशेष गरी भारत–पाकिस्तान क्रिकेटका लागि ठूलो क्षति हो ।” रासस/एएफपी

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro