
काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको सरुवा गरिएको छ । बैंक सुपरिवेक्षणका कार्यकारी निर्देशक रामु पौडेल र मुद्रा व्यवस्थापनका कार्यकारी निर्देशक प्रदीपराज पौड्यालको विभागीय जिम्मेवारी हेरफेर गरिएको हो ।
निर्देशकबाट हालै कार्यकारी निर्देशक बनेका दीर्घबहादुर रावललाई बैंक सुपरिवेक्षण विभागमा पदस्थापन गरिएको छ । उनी यसअघि मुद्रा व्यवस्थापन विभागका निर्देशक थिए ।
बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक पौडेललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ । मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक पौड्याललाई सूचना प्रविधि विभागमा पठाइएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए ।
यसअघि, आर्थिक अनुसन्धान विभाग, मानव संशाधन व्यवस्थापन विभाग, बैंकिङ विभाग र गभर्नर कार्यालयमा कार्यकारी निर्देशक परिवर्तन गरिएको थियो । अनुसन्धान विभागमा भएका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको थियो । मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाइएको थियो ।
यस्तै, बैंकिङ विभागको कार्याकारी निर्देशक रहेका विश्रुत थापालाई मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो । बैंकिङ विभागमा डा. डिल्लीराम पोखरेललाई पदस्थापन गरिएको छ । उनी पनि हालै कार्यकारी निर्देशक बनेका हुन् ।