
काठमाडौं । दसैँको टीका भोलि (सोमबार) छ । तर त्यसको अघिल्लो दिन आज पनि घर छोडेर विदेश जाने नेपालीको संख्या उत्तिकै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा नेपाली विद्यार्थी उच्च शिक्षा र रोजगारीका लागि विदेश गइरहेको देखिन्छ ।
देशमा उचित अवसर नपाउँदा विदेश जाने युवाको संख्या दैनिक बढिरहेको छ । डोल्पा घर भएकी शोभा रोकाया दसैँको सम्मुखमा उच्च शिक्षाका लागि जापान जान विमानस्थल पुगेकी थिइन् । “देशमा धेरै किसिमका समस्या छन् । अवसर छैन । रोजगार छैन । त्यसैले परिवारको आर्थिक अवस्थालाई सुधार्न र उच्च शिक्षाका लागि म विदेश जान लागेकी हुँ,” उनी भन्छिन्, “दसैँको मुखैमा विदेश जाँदै गर्दा मन निकै भारी भइरहेको छ । जे भए पनि जानै पर्छ ।”
नेपालीको सबैभन्दा ठूलो पर्व दसैँमा आमाबुवा र आफन्तलाई बिदा गर्ने रहर कसैलाई पनि नहुने उनको भनाइ छ ।
झापाकी मुना रिमाल पनि उच्च शिक्षाका लागि दसैँमै विदेश जानु पर्दा मन निकै दुखेको बताउँछिन् । घरपरिवारसँग हर्षउल्लासले पर्व मनाउन छोडेर भारी मन र उच्च शिक्षाका लागि विदेश जान लागेको उनी बताउँछिन् ।