काठमाडौं । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनी एमालेको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
आइतबार बिहान भक्तपुरको बालकोटस्थित निवासमै पुगेर उनले ओलीसित भेट गरे । भेटमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी थिए ।
त्यसक्रममा कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद दिए । राम्रो काम गर्न ओलीले कार्कीलाई आग्रह गरेको आचार्यले जानकारी दिए ।
“हामी जाम परेका कारण ढिला पुग्यौँ । ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन । केदारजीले सहयोगका लागि धन्यवाद दिनुभयो,” उनले बाह्रखरीसित भने, “ओलीजीले राम्रो काम गर्नू भन्नुभयो ।”
सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसका नेता शेखर कोइरालापक्षीय आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री कार्कीले शनिबार नेता कोइरालासित भेटवार्ता गरेका थिए ।