विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश कार्यसम्पादन समिति बैठकले पार्टीको अनुशासनभित्र रहेर केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको कांग्रेस कोसी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।
थापाका अनुसार बैठकले कार्कीलाई मुख्यमन्त्री बनाउने गरी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने प्रदेश सांसदहरूलाई पनि हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ ।
“पार्टी निर्णय विपरीत भएको र अनुशासनभित्र रहेर दाबी र हस्ताक्षर फिर्ता लिन अनुरोध गरेका छौं,” थापाले बाह्रखरीसँग भने ।
बैठकले प्रदेश मुख्यमन्त्रीमा केन्द्रीय गठबन्धनको निर्णय बमोजिम माओवादी केन्द्रका इन्द्र आङ्बोलाई साथ दिने निर्णय गरेको उनले जानकारी दिए ।
बिहीबार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए । गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्वोले पनि दाबी पेस गरेका छन् ।
यी हुन् बैठकका निर्णयहरू :
१) संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई अनुरोध गरियो ।
२) केदार कार्की र केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरियो ।
३) पार्टीलाई एकतावद्ध बनाउन कोसी संसदीय दललाई अनुरोध गरियो ।
४) केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरियो ।