काठमाडौं । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ ।
मंगलबार साँझ कृषि विद्यार्थी सन्जालले दीप प्रज्वलन गरेको हो । सोही क्रममा विद्यार्थीहरूले त्यहाँ भएका नेपालीहरूलाई छिटोभन्दा छिटो नेपाल फर्काउनुपर्ने माग गरेका थिए ।
हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए । इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरूको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको छ ।