
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधका कारण प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
शुक्रबार रास्वपाका सांसदहरू विरोधस्वरूप कालो पोसाकमा निलो रिबन लगाएर संसद् बैठकमा पुगेका थिए । रास्वपाले संसद् अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए ।
बैठक अरू कार्यसूचीमा प्रवेश गरेपछि रास्वपाले विरोधलाई निरन्तरता दिएको थियो । बैठककक्षबाट प्रधानमन्त्री बाहिरिएपछि रास्वपाका सांसदले पनि बैठक बहिष्कार गरे ।
रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूका कुरा सुन्न नचाहेपछि संसद् बैठक बहिष्कार गरिएको बताएको छ ।
रास्वपाले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध गर्दै आएको छ । रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।
हेर्नुहोस् तस्बिर
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी