काठमाडौं । सरकार–विद्रोही द्वन्द्व समाप्त भएको समाजमा केही दशकपछिसम्म युद्धका विषयले कला–साहित्यमा ठूलो प्रभाव पार्छ । युद्धको समाप्तिपछि ती देशका कला–साहित्यले ठूलो छलाङ मार्ने गरेको छ । आख्यानदेखि नाटक र सिनेमासम्म द्वन्द्वका विषयले उल्लेख्य स्थान पाउने गरेको छ ।
नेपालमा पनि तत्कालीन सरकार–माओवादी द्वन्द्वको प्रभाव कला–साहित्यमा परिरहेको छ । यसको उदाहरणका रूपमा मदन पुरस्कार गुठीद्वारा प्रदान गरिने मदन पुरस्कार प्राप्त पुस्तकको सूची हेर्न सकिन्छ । १८ वर्षअघि मदन पुरस्कार प्राप्त गरेको पुस्तक ‘पल्पसा क्याफे’ सरकार–माओवादी द्वन्द्वको विषयमा केन्द्रित भएर लेखिएको थियो । द्वन्द्वका विषयमा लेखेर मदन पुरस्कार पाउने यो नै पहिलो पुस्तक थियो ।
त्यसयता द्वन्द्वसम्बन्धी विषयका तीन पुस्तकले मदन पुरस्कार पाइसकेका छन् । ‘छापामारको छोरो’, ‘खलंगामा हमला’ र ‘ऐँठन’ले मदन पुरस्कार पाए । यी पुस्तकमा तत्कालीन द्वन्द्वको विषय उठान गरिएको छ ।
द्वन्द्वका समयमा मनभित्र दबिएर रहेका कुरा साहित्यमार्फत बाहिर ल्याइने गरेको छ । आमनागरिक तथा द्वन्द्वरत पक्षले भोगेका विषय साहित्यमा उल्लेख हुने गरेको छ ।
साहित्यकार, पत्रकार एवं ‘पल्पसा क्याफे’का लेखक नारायण वाग्ले द्वन्द्वसँगै समाजका विविध पक्ष साहित्यमा समेटिनै बाँकी रहेको बताउँछन् । “सरकार–माओवादी द्वन्द्व त कुनै एक कालखण्डको विषय मात्रै हो, समाजमा यस्ता राजनीतिक, सामाजिक तथा सांस्कृतिक द्वन्द्व थुप्रै छन्,” उनी भन्छन्, “यी सबै विषयमा लेखिनुपर्छ भन्ने मेरो धारणा छ ।” लेखन र पठन व्यक्तिगत पक्ष भएकाले जुनसुकै विषय पढिने र लेखिने गरेको उनको भनाइ छ ।
कति लेखिनुपर्थ्यो र कति लेखिनुपर्छ भन्ने कुनै निश्चित संख्या नहुने उनी बताउँछन् । “जनसंख्याका आधारमा समाजमा यति शिक्षक, डाक्टर हुनुपर्छ भन्ने हुन्छ, तर यति जनसंख्याका लागि यति साहित्यकार र यति नै साहित्य लेखिनुपर्छ भन्ने हुँदैन,” उनी भन्छन्, “त्यसैले लेखकलाई जे लेख्न मन लाग्छ, उसले त्यही लेख्छ । जुन विषय लेख्न मन लाग्छ, लेख्छ । यो विषय यसरी र यति लेखिन्छ र लेखिनुपर्छ भन्ने हुँदैन ।”
साहित्य समाजको ऐना हो । तत्कालीन समाजको मुहार हो । त्यसैले समाजका विषय मुखरित हुुनुपर्ने र हुने ‘छापामारको छोरो’का लेखक महेशविक्रम शाह बताउँछन् ।
सशस्त्र द्वन्द्वका सकारात्मक र नकारात्मक दुवै पाटा रहेका र ती सबै पक्ष साहित्यमार्फत बाहिर ल्याइनुपर्नेमा उनको जोड छ । “सशस्त्र द्वन्द्वका विभिन्न पाटा हुन्छन् । राजनीतिक परिवर्तन भयो, नागरिकमा राजनीतिक चेतना आयो, त्यो सकारात्मक पाटो हो,” उनी भन्छन्, “सशस्त्र द्वन्द्व युद्ध हो, यसका नकारात्मक पाटा पनि हुन्छन् । यसबाट विशेष गरी निमुखा नागरिक नै पीडित भएको देखिन्छ । यसका पीडा कसले लेखिदिने ?”
विद्रोही र सरकारी दुवै पक्षले आफू नै सही रहेको बताउँछन् । उनीहरूका आ–आाफ्नै दाबी हुन्छन् । भनाइ नै छ– इतिहास जित्नेहरूको हो, हार्नेहरूको होइन । त्यसैले तटस्थ भएर दुवैका पाटो साहित्यमा लेखिनुपर्ने महेशविक्रमको धारणा छ ।
“हामीले अहिले उठाउनुपर्ने विषय नै यही हो । द्वन्द्वबाट पीडितको आवाज नै हामीले साहित्यमार्फत मुखरित गर्नुपर्छ,” उनी भन्छन्, “द्वन्द्वको परिणतिबारे साहित्यमा लेख्दा अर्को पक्ष अर्थात् हामीले उठान गरेको पक्षबाहेकको आवाजलाई थप पीडित बनाउनु हुँदैन ।”
द्वन्द्वका समयमा विभिन्न उद्देश्यले माओवादीमा आबद्ध हुने कतिपय लडाकु, नेपाली सेना र पुलिसका जवानले ज्यान गुमाएको भन्दै उनी तिनका पीडाको पनि कथा लेखिनुपर्ने बताउँछन् । “द्वन्द्वमा कतिले आफ्नो ऊर्जाशील समय खर्चिए । कतिले आफ्ना छोराछोरी गुमाए । कतिले बाबुआमा गुमाए । तर, के तिनीहरूले न्याय पाए ?,” महेशविक्रम प्रश्न गर्छन्, “राज्यपक्षबाट लड्ने सिपाहीले न्याय पाए ? कतिले परिवार गुमाए । कतिले प्राणको आहुति दिए । कति विस्थापित भए । उनीहरूको पीडा उनीहरूसँगै छ । त्यो पनि साहित्यमा आउनुपर्छ ।”
सशस्त्र द्वन्द्वका थुप्रै पाटा साहित्यमा अझै समेट्न नसकिएको महेशविक्रमको निष्कर्ष छ । द्वन्द्वका समयको पीडा, व्यवहार, नागरिकको मानसिकताका पाटा नेपाली साहित्यमा अझै उठान गर्न नसकिएको उनी स्वीकार गर्छन् । कसैको पक्षपोषण भने गर्न नहुनेमा साहित्यकार सधैँ सजग रहनुपर्नेमा उनको जोड छ ।
पुस्तकका नाममा कसैले एउटा पक्षलाई पक्षपोषण गरे त्यो साहित्य नभएर नारा बन्छ । साहित्यकार एकातिर ढल्किए त्यो साहित्य नभएर वकालत हुन्छ । साहित्यकारले मध्यरेखामा बसेर कलम चलाउनुपर्ने उनी बताउँछन् ।
“द्वन्द्वका सबै पक्ष साहित्यमा आउनुपर्छ, किनभने एक किसिमले त्यो समकालीन समाजको दस्तावेज पनि हो । त्यसको असर र प्रभावबारे आउँदो पुस्ताले पनि थाहा पाउनुपर्छ,” उनी भन्छन्, “बाँकी विषय पनि आउँछन् भन्ने लाग्छ । द्वन्द्वका विषयमा लेखिएका पुस्तक पाठकले मन पराउनु पनि भएको छ । बिक्री भएका छन् र पुरस्कार पनि पाएका छन् । त्यसैले लेखिन्छ भन्ने आशा पनि गरौँ ।”
द्वन्द्वका विषयमा किताब लेखिनु, पढिनु र त्यसको उच्च मूल्यांकन हुनु यो विषयका साहित्य मन पराइएको भन्ने उनको बुझाइ छ । समाज र राज्यले त्यसलाई महत्त्व दिएको उनको तर्क छ ।
“द्वन्द्वको समग्र सांगोपांगो चित्रण हुने गरी अझै धेरै कृति आएका छैनन् भन्ने लाग्छ,” उनी भन्छन्, “अझै गहन र गहकिला पुस्तक आउनुपर्छ । यसरी लेख्दा लेखक पनि पूर्वाग्रही हुनु हुँदैन र साहित्यमा जोडिन आइपुग्ने पक्षले पनि पूर्वाग्रही भएर सोच्नु हुँदैन । निश्चित कालखण्डलाई साहित्यले बाहिर ल्याइदिने हो । कसैलाई राम्रो लाग्ला त कसैलाई चित्त नबुझ्ला, त्यो लेखकको सरोकारको विषय होइन ।”
साहित्यकार अविनाश श्रेष्ठ पछिल्लो पुस्ता तथ्यमा टेकेर साहित्य लेख्न माहिर रहेको बताउँछन् । भावनामा बहकिएर लेख्नेभन्दा पनि अहिलेको पुस्ताले यथार्थभित्र रहेर कलम चलाइरहेको उनको भनाइ छ ।
“अहिलेका लेखक हाम्रो समयका जस्ता छैनन्, लामो रिसर्च गरेर मात्रै लेख्ने गरेको मैले पाएको छु,” अविनाश भन्छन्, “यही वर्षको ‘ऐँठन’को कुरा गर्ने हो भने पनि यसमा विषयवस्तुमा लेखकले मिहिनेत गरेको देखिन्छ ।”
कतिपय सन्दर्भमा विदेशीका भन्दा सरल र तथ्यमा बलियो पुस्तक र लेखक नेपालमा रहेको उनको भनाइ छ । “शिल्प लामो समयको अभ्यासपछि मात्रै आर्जन हुने कुरा भयो । नेपालमा ६०/७० प्रतिशत साहित्य तथ्यभित्र बसेर लेख्ने गरेको देखिन्छ,” उनी भन्छन्, “यो भनेको सकारात्मक पक्ष हो । साहित्य शतप्रतिशत तथ्य नै हुनुपर्छ भन्ने हुँदैन । भाषा र लेखन शैलीले पनि कतिपय कुरामा असर गर्छ ।”
कतिपय विदेशी पुस्तक अध्ययन गर्दा त्यसमा रहेका विभिन्न लेयर बुझ्न कठिन हुने गरेको तथ्य प्रस्तुत गर्दै अविनाश भन्छन्, “हाम्रा सन्दर्भमा यो अवस्था छैन । हाम्रा लेखकका पुस्तक सजिलै बुझिने छन् । यो पनि लेखनको शिल्प हो ।”
आफ्नो अनुसन्धान, बुझाइ र क्षमताका आधारमा लेखकले लेख्ने भएकाले तथ्यमा कुनैकुनै समय तलमाथि पर्ने भन्दै त्यसलाई सामान्य रूपमा लिनुपर्ने उनको जिरिह छ । “पूर्वाग्रही हुनु हुँदैन भन्ने हो, तर अनुसन्धानमा कमी वा बुझाइमा कमजोरी भएर थोरै तलमाथि हुनु साहित्यमा सामान्य मानिन्छ,” उनी भन्छन्, “अहिले जसरी नेपाली साहित्य अगाडि बढिरहेको छ, यही गतिमा जाने हो भने नेपाली साहित्यले चाँडै खुड्किलो चढ्दै जानेछ ।”
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित ‘ऐँठन’ उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले पस्किएको पुस्तक भएको बताउँछन् ।
“ऐँठन पुस्तकलाई विगतमा नेपाल एवं नेपाली समाजले व्यहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले हामीलाई ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको छ,” कुन्द भन्छन् । कुन्दको यो भनाइले साहित्यमा अहिलेको पुस्ता सशक्त रहेको अविनाशको तर्कलाई पुष्टि गर्छ ।