लामो अवधिमा पृथ्वीको पृथ्वीको तापक्रम, वायुको वेग, वर्षाको मात्रा आदि बदलिने प्राकृतिक प्रक्रियालाई जलवायु परिवर्तन भनिन्छ । जलवायुमा सधैँ प्राकृतिक फेरबदल भइरहने नै हुन्छ तर अहिलेको तीव्र जलवायु परिवर्तनमा भने मानव क्रियाकलापको ठूलो हात छ । पृथ्वीमा मानवीय तथा प्राकृतिक क्रियाकलापका कारण हरित गृह ग्यासको उत्सर्जन बढ्दै गएपछि वायुमण्डलको हरित गृह ग्यासको तहले सूर्यका विकिरण पृथ्वीमा सजिलो छिर्न दिने तर फिर्ता भएर नजाने मात्रा बढेसँगै पृथ्वीको तापक्रम बढ्छ । जलवायु परिवर्तन गम्भीर विश्वव्यापी समस्या हो ।
सन् १९७९ मा स्विजरल्यान्डको जेनेभामा आयोजित पहिलो विश्व जलवायु सम्मेलनले दोस्रो विश्वयुद्धपछि विश्वमा तीव्ररूपमा बढेको हरित गृह ग्यासको उत्सर्जनसँगै विश्वभर उष्णता बढ्दै गएको देखिन्छ । परिणाम जलवायु परिवर्तनका रूपमा देखा पर्यो । बढ्दो औधोगीकरण, अनवीकरणीय ऊर्जाको रूपमा रहेको खनिज इन्धनको ब्यापक प्रयोग, आणविक विस्फोट, परम्परागत ऊर्जाको बढ्दो प्रयोगका कारण कार्बनडाइ अक्साइड ग्यासको उत्सर्जन बढ्नु, रासायनिक मल तथा कीटनाशक विषादीको व्यापक प्रयोगका साथै तीव्र सहरीकरणसँगै जलवायु परिवर्तनका असरहरू पनि बढ्दै गएको पाइन्छ ।
सन् १९९२ मा ब्राजिलमा भएको रियो सम्मेलनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिले विश्वव्यापीरूपमा जलवायु परिवर्तनको विषयलाई विश्वव्यापी बनाइदियो । जलवायु परिवर्तन, जलवायु न्याय आज अति महत्त्वपूर्ण विषय भएको छ । तर, के हाम्रो जीवन शैली, कार्यस्थल, जीविकोपार्जन, घर वातावरणमैत्री छन् ? बिल्कुलै छैनन् ।
जलवायु परिवर्तनले हाम्रो दैनिक क्रियाकलापका साथै देशको समाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुऱ्याएको हुन्छ । विश्वव्यापी असरहरूजस्तै विश्वव्यापी उष्णता बढ्दै गएको, वर्षा चक्र तथा ऋतुकालमा असामयिक परिवर्तन, समुद्री सतह तातेको, तीव्र गतिमा हिउँ पग्लँदा हिम नदी सुक्दै जानु, सय मिलिमिटरभन्दा बढी वर्षा हुने दिनको संख्या बढ्दै जानुका साथै हिमतालको विस्फोटको खतरा बढ्दै गएको, हिमालहरू पग्लदै जॅादा पृथ्वीको सौन्दर्यमा ह्र्स आएको छ । दिनहरू अत्यन्त ताता र रातहरू अत्यन्तै चिसा हॅुदैगएका छन् । नयाँ नयाँ तथा महामारी रोगहरू देखापर्नु जस्ता समस्या छन् । यसको प्रभाव विशेषतः गरिब, विकासोन्मुख, भूपरिवेष्ठित, हिमाली तथा तटीय मुलुकमा बढी देखापर्छ ।
नेपाल विकासको बाटोमा अघि बढिरहेको विकासोन्मुख राष्ट्र हो । हिमाल, पहाड र तराई मिलेर बनेको यस राष्ट्रमा हिमाली भेगमा हिमताल विस्फोट हुने, पहाडी भेगमा बाढीपहिरोको जोखिम तथा तराई क्षेत्र डुबानको खतरा देख्न सकिन्छ । यहाँ ८० प्रतिशत भन्दा धेरै मानिसहरू कृषिमा निर्भर छन् भने नेपालको कृषि मनसुनमा निर्भर छ । हामीले देख्न सकिन्छ मनसुन सुरु हुनुभन्दा पहिले र पछि अत्यधिक पानी पर्ने र मनसुनको समयमा पानी निकै कम पर्ने गर्दा किसानहरूलाई समस्या परेको छ । उदाहरण हामीले देख्न सकिन्छ । तराईमा गएको वर्ष धान बाली भित्र्याउने बेला असोजमा ठूलो वर्षाको कारण भित्र्याउन तयार भएको धान बाली सबै डुबानमा परेको थियो । त्यसले किसानले ज्यादै ठूलो क्षति भोग्नुपरेको थियो । मानिसको जीवनयापनमा अत्यधिक समस्या त निम्त्याएको छ नै कृषि तथा खाद्यान्न उत्पादनमा कमी हुदा खाद्य संकट बढिरहेको छ । तापक्रममा उतारचढाव आउँदा जाडोको मौसममा अत्याधिक चिसो हुने र गर्मी हुने समयमा अत्यधिक गर्मीले स्वास्थ्यलगायत शिक्षा प्रणालीमा पनि असर परेको देख्न सकिन्छ । केही वर्षअघिको र अहिलेको काठमाडौंलाई हेर्न सकिन्छ। पहिले अहिलेको गर्मी समयमा हुने अत्यधिक गर्मी हुँदैन थियो तर अहिले एक छिनबाहिर पनि बस्न सकिँदैन । यो अवस्था हाम्रो क्रियाकलापको फल हो ।
बढ्दो तापक्रमले हिमाली क्षेत्रमा मलेरिया, डेंगुलगायतका रोगको जोखिम बढेको छ । जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपहरूमा तीव्रता आएको छ । हालै कागबेनीमा गएको बाढीको कारण बहुमूल्य मानवजीवनको क्षति साथै ठूलो धनजन र भौतिक निर्माणको पनि क्षति मानिसहरूले भोग्नु परेको छ । जैविक विविधतामा ह्रास आएको छ । जलस्रोत, वनजंगल, पूर्वाधार, पर्यटन आदि क्षेत्रमा पनि निकै असर परेको छ ।
जलवायु परिवर्तले प्रायः सबै मानिसहरूलाई असर पारिरहेको हुन्छ । त्यसमा पनि लैङ्गिकरूपमा पनि जलवायु परिवर्तनको प्रभाव फरक परिरहेको छ । महिला सीमान्तकृत, आदिवासी तथा अपाङ्गता भएकाहरूलाई अझ बढी प्रभाव परिरहेको छ ।
नेपालले विश्वको हरितगृह ग्यासको करिब ०.०२५ प्रतिशतमात्र उत्सर्जन गरेको छ । नेपालले कार्बन उत्पादन घटाउने र सन् २०५० सम्ममा शून्य कार्बन न्यूनीकरण गर्ने संकल्प गरेको छ । साथै नेपालले ४० प्रतिशत वनजङ्गल जोगाउन प्रतिबद्धतासमेत जनाएको छ । तर, दुई ठूला प्रदूषक राष्ट्रहरू भारत र चीनको बीचमा रहेको हुनाले हरित गृह ग्यासको बढ्दो उत्सर्जनको असरबाट व्यापक प्रभाव पर्दा जलवायु परिवर्तनका कारण असुरक्षित मुलुकमध्ये नेपाल चौथो स्थानमा रहेको छ ।
जलवायु परिवर्तनको असर अझ भयानक हुनसक्छ । त्यसैले बेलैमा यसको न्यूनीकरण गर्न अति आवश्यक छ । अब स्वच्छ ऊर्जा तथा वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने समय आएको छ । संकटापन्न र जोखिमपूर्ण व्यक्ति, परिवार, समूह र समूदायको जलवायु परिवर्तनअनुकूलन लक्ष्यमा अभिवृद्धि गर्नुपर्छ ।
साथै जलवायु परिवर्तनको प्रतिकूल प्रभावको जोखिममा रहेको पारिस्थितिकी प्रणालीहरूको उत्थानशीलतामा सुधार गर्दै हरित अर्थतन्त्रको प्रवर्धन गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोतहरूको न्यायोचित परिचालन गर्नुपर्छ । सामाजिक तथा आर्थिक विकासका लागि प्राकृतिक स्रोतको व्यवस्थापनलाई जलवायुमैत्री बनाउनुपर्छ । कार्बन व्यापारका आधारहरू वनजंगल, गोबर ग्यास, सुधारिएको चुलो, पानी घट्ट, जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा आदिको विकासमा जोड दिनुपर्छ ।
अझै न्यूनीकरण तथा कार्बन संचितीलाई अगाडि बढाउनुपर्छ । विकास र वातावरणबीच सन्तुलन कायम राख्दै जलवायु परिवर्तनका विषयहरू राष्ट्रिय प्राथमिकताको सूचीमा राख्नुपर्छ । जलवायु परिवर्तनको समस्या एउटा राष्ट्रको मात्र नभई विश्वकै हो । त्यसैले राष्ट्रिय अनुकूलन कार्यक्रमलाई विकासको एजेण्डाको रूपमा कार्यान्वयनमा ल्याउनपर्छ । सर्वपक्षीय सहभागितामार्फत् जनचेतना अभिवृद्धि तथा क्षमता विकास, वार्ता क्षमता अभिवृद्धि गर्नुपर्छ । हरित गृह ग्यासको मापनलगायत तथ्याङ्क तथा सूचना अध्यावधिक गर्दै पक्ष राष्ट्रहरूलाई जानकारी दिनुपर्छ । विश्वका साझा समस्याविरूद्ध लड्न स्थापना गरिएको विश्वव्यापी मञ्चहरूमा गरिएका प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।