सरकार र आन्दोलनरत चिकित्सकहरूबीच शनिवार सम्झौता भएको छ । सम्झौतापछि चिकित्सकहरूको आन्दोलन समाप्त हुने अपेक्षा राखिएको छ । सम्झौतामा उल्लेख भएका बुँदा हेर्दा भने सरकारले पहिलेका सम्झौतामा जस्तै मूलतः चिकित्सकको सुरक्षाको प्रत्याभूति दोहोर्याएको मात्र देखिन्छ ।
केही समय यता चिकित्सकलाई ‘ईश्वरको अर्को रूप’ मान्ने नेपाली समाजमा चिकित्साकर्मीहरूप्रति एक प्रकारको क्षोभ र आक्रोश बढ्दै गएको देखिएको छ । यदाकदा त्यो आक्रोश हिंसात्मकरूपमा प्रकट हुँदा चिकित्सकहरू अपेक्षाकृत कार्यस्थलमै असुरक्षित हुनपुगेका छन् ।
हालै देशका विभिन्न भागमा चिकित्सकहरूमाथि अस्पतालमै हातपात भएको छ भने केही घटनामा त साङ्घातिक आक्रमणसमेत भएको छ । दुर्भाग्य, बिरामीका आफन्तको कुटपिटबाट घाइते भएर चिकित्सक स्वयं अस्पतालमा भर्ना हुनुपर्ने विडम्बना देखिएको छ ।
चिकित्सकहरू संगठितरूपमा ठूलै र बलियै शक्ति भएकाले दुर्व्यवहार गर्नेहरूमाथि कारबाही गराउन प्रायः सफल पनि भएका देखिन्छन् । तर, अप्रिय घटना भइसकेपछि कारबाहीको माग गर्दै लगभग सबैपटक उनीहरूले सडक आन्दोलनै गर्नुपरेको छ ।
यसरी पटकपटक एउटै प्रकृतिका घटनामा पनि दबाबै दिनुपर्ने अवस्थाले राज्यप्रति चिकित्सक समुदायमै अविश्वास बढेको देखिएको छ भने जनमानसमा चिकित्साकर्मीप्रति वितृष्णा जगाएको छ । यस्तो अवस्थाको सही कारण र समाधान नखोज्दासम्म चिकित्सकहरू असुरक्षित भइरहनेछन् ।
बहुसङ्ख्यक चिकित्सकले बिरामी र तिनका आफन्तसँग गर्ने व्यवहार उनीहरूमाथि आक्रमण हुने एउटा प्रमुख कारण हो भन्ने चिकित्सा समुदायले पनि स्वीकार गर्नुपर्छ । उनीहरूको शिक्षादीक्षा वा अभ्यासमा के कमी छ कुन्नी बहुसङ्ख्यक चिकित्सकमा समानुभूति होइन उदासीनता देखिने गरेको छ ।
यस्तै पछिल्ला वर्षहरूमा चिकित्सकविरुद्ध आक्रोश प्रकट हुने एउटा कारण उपचारमा हुनेगरेको लापरबाही पनि हो । कतिपय अवस्था विशेषगरी निजी अस्पतालहरूमा बिरामीको उपचारभन्दा आर्थिक शोषण चिकित्सकको मुख्य ध्येय भएको गुनासो गर्ने भुक्तभोगीको सङ्ख्या पनि ठूलै छ ।
चिकित्सकमात्र होइन सबै नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको मुख्य र अपरिहार्य दायित्व हो । कुनै नागरिकले पनि असुरक्षा भोग्न त परैरहोस् शङ्का गर्नुपर्ने अवस्था हुनु राज्यको असफलता हो । परन्तु, नेपालमा शासकबोहक अरूको सुरक्षालाई गम्भीरतापूर्वक लिने गरिँदैन ।
यसैले सबैभन्दा पहिले राज्यले नागरिकले असुरक्षित अनुभव गर्नुनपर्ने वातावरण बनाउनु आवश्यक छ । त्यति भए चिकित्सकहरूले पनि आन्दोलन गरिरहनु पर्नेछैन । साथै, चिकित्सा विशेष संवेदनशील कर्म पनि भएकाले त्यसमा संलग्न सबैको सुरक्षा आवश्यकताप्रति पनि सरकार गम्भीर हुनुपर्छ ।
चिकित्सकहरूले पनि सडकमा बल देखाउनुभन्दा केही समय आत्मविवेचनामा लगाउनु उचित र आवश्यक छ । कुनै घटनामा चिकित्सकबाट कस्तो गल्ती भएको थियो र त्यस्तै त्रुटि दोहोरिन नदिन के गर्नुपर्छ भन्ने मन्थन पनि सम्बन्धित संस्थाहरूमा हुनु जरुरी देखिन्छ ।
जनमानसमा चिकित्सकले जस्तै गल्ती गरे पनि कारबाही हुँदैन भन्ने भ्रम छ । चिकित्सक संघलगायतका सम्बन्धित संस्थाहरूले चिकित्सकको व्यवहारमा चित्त नबुझे उजुरी गर्ने निकाय र प्रक्रियाका बारेमा जनसाधारणलाई जानकारी दिएमा यसमा पक्कै केही सुधार हुनेछ ।
चिकित्सकका समस्यामा सरकारले सडकमा जानै नपरी समाधान गर्नुपर्छ । यस्तै चिकित्सकले पनि सबै समस्याको समाधान उपचार रोकेर सडकमा खोज्न छाड्नुपर्छ । अविश्वास र द्वन्द्व बढाएर चिकित्सक समुदायको पनि हित हुँदैन । विवेक र संयम सबैले अपनाऊँ ।