site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मस्तिष्कमा अनगिन्ती कथा जन्माउने ‘सयौँ पुतली’
Tiktok banner adTiktok banner ad

जति कडा वस्तु भए पनि एकै ठाउँमा बारम्बार प्रहार गरिरहे खिएर पातलिन्छ । निरन्तरको चोटले बज्र पनि टुक्राटुक्रा भएर माटोमा विलीन हुन्छ । फलामलाई पनि निरन्तर घोटिरहे खिइन्छ ।

मेरो मनमा प्रश्न उठ्यो– नारी हृदयमाथि पनि बारम्बार अन्याय, अत्याचार र हिंसाको कठोर प्रहार भए के हुन्छ ? नारी पनि टुक्राटुक्रा भएर माटोमा विलीन हुन्छे ?

कि नारी पिलपिलाउँदै रुन्छे मात्रै ? कि आत्महत्या गर्छे वा लगातार खेप्दै आएको हिंसा चुपचाप सहन्छे ?

यी तमाम प्रश्नहरू मथिंगलमा उब्जिरहँदा मेरो हातमा भरखरै पढेर सकिएको उमा सुवेदीको ‘सयौँ पुतली’ छ । कथाहरू बडो मार्मिक र सन्देशमूलक लाग्यो मलाई ।

यसका कथाहरूले समाजको वास्तविक चित्र कोरेको छ । सरल भाषामा उनिएका कथाहरूमा महिला पात्र शक्तिशाली भएर उभिएका छन् । नारीको सहनशीलतालाई कमजोर ठान्ने पात्रहरूलाई कथाले रन्थन्याउनेछ ।

पुस्तक हात पर्नेबित्तिकै शीर्षकथामा मेरा आँखा दगुरे । किताबबाट कथा त समाप्त भयो, तर मेरो मस्तिष्कमा अनगिन्ती कथाहरूले जन्म लिन पुगे । विषयवस्तुको गाम्भीर्यले मलाई हायलकायल पार्यो । अहो, सहनु ! सहनु, सहनु !!

कति घातक रहेछ अन्याय र अत्याचारलाई सहेर कसैलाई क्षमा गर्नु । के लोग्नेका तमाम यातना सहेर कर्किनी आमाले ठिक गरेकी थिइन् ? कथाको समाप्तिसँगै मेरो मथिंगलमा भूकम्प आएको छ ।

कर्किनी आमाको परिवार त थियो, तर कस्तो परिवार, कस्तो नाता र सम्बन्ध ? सम्बन्धमा बाँधिएर एकै घरमा सँगै बस्दैमा परिवार हुन्छ र ? कर्किनी आमाको मस्तिष्कमा कति गहिरो चोट परेको रहेछ ।

पुतली खेल्ने उमेरमा कार्की माइलासँग वैवाहिक जीवनको अध्याय आरम्भ गरेकी कर्किनी आमाले लोग्नेको लास आँगनमा ढल्दा मात्र चारैतिर उज्यालो देख्छिन् । आखिर किन ?

लोग्नेको मृत्युपछि कर्किनी आमा खुलेर हाँस्छिन् । मृत्युको धुनमा एकोहोरो शंख बज्दा किन कोठामा गीत घन्काएर नाच्छिन् कर्किनी आमा ? हृदयमा ज्वालामुखी बोकेर नारी कति शीतल हुन सकेकी !

एक्लै कोठाभित्र रमाएर लोग्नेका तमाम लुगाहरूलाई धुजाधुजा पारेर च्यात्दै सयौँ पुतली बनाएर कर्किनी आमाले कुन स्तरको विद्रोह गरेकी छन् ! कथाकारले यो कथा केवल कथा लेख्नका लागि मात्र लेखेकी हुन् त ? कथाले यो युगलाई नै प्रश्न तेर्स्याएको छ ।

घटना सुदूरको कुनै गाउँको हो या आजको सम्पन्न परिवारभित्रको आन्तरिक कथा र व्यथा ? अन्याय र अपमान सहनु कति घातक रहेछ । उमा सुवेदीका कथाहरू अद्भुत छन्, पृथक् छन् र नवीन छन् ।

उमाले नारी पात्रलाई निकै निर्भीक र चेतनशील बनाएकी छन् । स्वास्नी वा आफ्नी केटी साथीलाई माया र प्रेम गर्ने नाममा कतै पुरुष साथीले कैदी त बनाउँदै छैनन् ? बडो गम्भीर प्रश्न उठाएकी छन् । विभिन्न कथामार्फत प्रेमको नाममा नारीले आफ्नो अस्तित्व गुमाउनु हुँदैन भन्ने सन्देश दिन कथाकार सफल भएकी छन् ।

कसैलाई नियन्त्रण र निगरानीमा राख्नु प्रेम हुँदै होइन । उर्दी र प्रेममा आकाश जमिनको फरक हुन्छ । पति वा प्रेमीले भनेका जायज कुरा मान्नु पत्नी वा प्रेमिकाको कर्तव्य हो । तर, जब नाजायज उर्दी लगाउन थाल्छ, तब नारीले छैटौँ इन्द्रिय खोल्नैपर्छ । आफूलाई जिउँदै मारे मान्छे कहिले पनि सन्तुष्ट हुन सक्दैनन् ।

कथाकारले आफ्ना कथाहरूमार्फत अस्तित्व चेतना, स्वपहिचान र स्वाभिमानको बोध गराउन खोजेकी छन् । प्रेम दिएर सन्तुष्ट हुन्छ । प्रेमले अरूको खुसी खोस्दैन । अरूको रहर र चाहनामा बन्देज लगाउँदैन प्रेमले ।

प्रेम त स्वतन्त्रताको छायामा मौलाउँछ । श्रीमती र प्रेमिकालाई पतिले वा प्रेमीले आफ्नो इच्छाअनुसार परिवर्तन गर्नु कदापि माया होइन । शंका र अविश्वासको जगमा प्रेम फस्टाउँदैन । एउटी नारीले वैवाहिक जीवनभित्र देखेको सुन्दर सपना कसरी एक सन्की, जिद्दी र मानासिक रूपमा अस्वस्थ पुरुषको मनोविज्ञान हावी हुँदा चकनाचुर हुन्छ ।

तर, नारीको खुसी पुरुषसँग मात्र जोडिएर  प्राप्त हुन्छ भन्ने पक्षमा छैनन् कथाकार । जस्तोसुकै अवस्थामा नारी लाचार र निरीह छैनन् है भन्ने सन्देश कथाले भरपुर दिएको छ ।

सुवेदीका पात्रहरू यथार्थको धरातलबाट जुरुक्क उठेर आएका छन् । मानसिक परिवर्तन निकै जटिल कार्य हो । आफूलाई पढ्नु र आफूमा भएका कमीकमजोरी पत्ता लगाएर सही बाटोमा हिँड्नु चानचुने कार्य होइन । यहाँ यस्तो पात्र आएको छ, जो ध्यानको माध्यमबाट परिवर्तन भएँ भन्दै पाँच वर्षअगाडि छुट्टिएकी श्रीमतीलाई विश्वस्त पार्ने निकै प्रयास गर्छ ।

धैर्यता, स्थिरता र संयम त मानवको अन्तरहृदयबाट उत्पन हुने गुण हो । धीरता त मान्छेको स्वभाव हो । ध्यान गरेर अब शान्त भएँ भनेको पुरुष नारीको इच्छालाई दबाउन नपाएर यसरी गर्जिन्छ—
“आइमाई भन्ने जन्तु नै यस्तै हो । घृणा गर्दा रुन्छन् र माया गर्न खोज्दा भाउ खोज्छन् ।”

नारीको अस्तित्वलाई माटोबराबर ठान्ने पुरुष नकारात्मक सोचले ग्रस्त छ । वैवाहिक जीवनलाई सात वर्षसम्म मौन सहमति दिँदा पनि कुनै प्रतिफल प्राप्त हुन नसकेपछि नारी चेतना जागृत भएको छ । अबका नारीले वैकल्पिक बाटो मज्जाले रोज्न सक्छन् ।

नकारात्मकताको बारीमा आनन्दको बाली कहिल्यै उब्जिदैन । संकीर्ण मान्छे कुनै पनि हालतमा खुसीको मार्गमा हिँड्न सक्दैन । मस्तिष्क खराब भएपछि मान्छेले हरेक ठाउँमा खोट देख्छ, नराम्रो भेट्छ ।

आफूलाई प्रेम नगर्ने मान्छेले कसैलाई प्रेम गर्न सक्दैन । आफ्नो मनोविज्ञान नबुझ्ने मान्छेले अरूको मनोविज्ञान कसरी बुझ्न सकोस् ? समाजमा महिला हिंसा जेजति कारणले सिर्जना भएका छन्, त्यसमा कतै न कतै विक्षिप्त मानसिक अवस्थाले असर गरेको छ ।

पुरुषले पुरुष भएकै कारणले मात्र नारीमाथि दमन, शोषण, अन्याय, अत्याचार र विभेद गरेको हुन्छ र ? महिलामाथि हुने तमाम अमानवीय  घटनाहरूको कारण के पितृसत्ताबाट निर्माण भएको पुरुष मनस्थिति मात्र हो त ?

सामाजिक कारणभन्दा बढी त मानसिक कारणले पुरुषहरूले आफ्नो सत्तालाई कलंकित पारेका छन् । यौनको मामिलामा कति कमजोर छ पुरुष । कामले आतुर हुँदा आफ्नी छोरीलाई पनि नछोड्ने पापीले सालीलाई के बाँकी राख्थ्यो !

तर, छोरी अब रोएर बस्नेवाला छैनन्, परिआए आफ्नै कामुक बाउलाई खीरमा विष हालेर खुवाउँदा छोरीका हात काम्दैनन् ।

समाजलाई ‘प्रश्न’ कथामार्फत गहिरो प्रश्न छोड्न सफल भएकी छन् कथाकार, मन पराएर, आफूले असाध्यै माया गरेर बिहे गरेको लोग्नेसँग जातका कारण जालझेल गरेर अर्कै केटासँग जबर्जस्ती बिहे गरिदिने बाआमा, मामा, दाजुभाइ र समाजलाई ।

कालान्तरमा आमाले नै अन्तरजातीय विवाहका लागि छोरालाई साथ दिएको कथाले जातीय विभेदविरुद्ध भेदभाव गर्ने समूहलाई दह्रो झापड हानेको छ । समाजमा गोपेजस्ता पात्रलाई सदैव हेलाको नजरले हेर्ने आँखाहरू यत्रतत्र भेटिन्छन् । सोझो, इमानदार गोपालको कथा निकै मार्मिक छ ।

माया दिदी पात्रका माध्यमबाट यौनमनोविज्ञानलाई कथाकारले सुन्दर रूपमा उठाएकी छन् । राजनीतिक स्वार्थबाट उत्पन्न यथार्थपरक कथाहरू पनि सुवेदीका यसभित्रका कथामा आएका छन् ।

अन्याय र अत्याचारविरुद्ध आन्दोलन गरेर सत्तामा पुगेका नेताले कसरी आफ्नो नैतिकता र चरित्र बदल्न सक्छन्, देश निर्माण गर्ने सपना बाँडेको समूहले छोडेको पैसालाई धुजाधुजा पारेर मुसाले काटेझैँ !

साउदी कथाले वैदेशिक रोजगारीले निम्त्याएको विकराल समाज र मनोविज्ञानलाई प्रतिनिधित्व गरेको छ । कलिलै उमेरमा मायाप्रेम बसेर गरेको बिहे शारीरिक आवश्यकता पूरा हुन नपाउँदा भौँतारिएको प्रसंग गम्भीर छ ।

‘रोग’ कथामा नौलो विषय उठान गरिएको छ, त्यो नेपाली समाजमा अपत्यारिलो लाग्न सक्छ । बिहेभन्दा अगाडि हुनेवाला श्रीमान्को यौन क्षमता जाँच गर्नु, विवाहअगाडि यौन प्रस्ताव राख्नु, हुनेवाली बेहुलीले । अहो, युवतीले यस्तो प्रस्ताव राख्दा कतिसम्म घातक हुनेरहेछ सम्बन्ध !

कथाकारले एकातिर यौनमनोविज्ञानलाई कलात्मक तरिकाले पस्किएकी छन् भने अर्कोतिर जति आधुनिक भए पनि, जति प्रगतिशील भए पनि एउटी नारीलाई हेर्ने नजर सदैव पुरातन हुने सत्य यस कथामार्फत उजागर भएको छ ।

वास्तवमा, यौनको विषयमा महिलाले केही प्रश्न गरे वा केही इच्छा गरे कसरी पितृसत्ताले महिलालाई चरित्रहीनको पगरी लगाइदिन्छ, सबैभन्दा नजिकको साथीलाई आफ्नो मनको कुरा व्यक्त गर्दा कसरी बारम्बार अपमानित भएर मानसिक सन्तुलनसम्म गुमाउन पुगिन्छ भन्ने कुरा कथामा आएको छ ।

पितृसत्ताले गाँजेको मनमा नारीको रहरले कहिले पनि न्याय पाउन सक्दैन भन्ने कुरालाई सुवेदीको कलमले उजागर गरेको छ । त्यसैले नारी आफैँमा बलियो हुनुपर्छ । सम्भावना र सफलता आफैँमा समाहित छ । खुसी आफैँमा विराजमान छ । आफूलाई प्राथमिकतामा राख । अपमान, अन्याय र अत्याचारका विरुद्धमा बोल । तिमी आफैँमा पूर्ण छौ ।

साँचो माया गर्नेलाई सम्पूर्ण दिएर मालामाल बनाउन सक्ने नारीले छल, कपट र तिरस्कार पाउँदा स्वतन्त्र भएर अगाडि बढ्न पनि सक्छे । नारीमा असीमित शक्ति छ । बुझिराख, तिमीलाई कसैले इज्जत गर्दैन भने त्यसको पछि मरिमेटेर नलाग । जीवन तिम्रो हो । सयौँ पुतली छन् तिम्रा वरिपरि, आफ्ना रहर र इच्छालाई मर्न नदेऊ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro