
काठमाडौं । प्राध्यापक डाक्टर सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ एक समारोहका बीच सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. सरोजा पाण्डे, प्रा.डा. सानुमैयाँ दली, प्रा.डा. प्रमिला प्रधान, प्रा.डा. आश्मा राना, प्रा.डा. लता बज्राचार्य, प्राज्ञ अमर न्यौपाने, चण्डेश्वरी श्रेष्ठ ताम्राकारसहित लेखक ताम्राकारले ‘स्वस्थ महिला’ पुस्तक विमोचन गरेका हुन् ।
बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता र जिज्ञासा, महिनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्तिलगायत महत्वपूर्ण विषयहरू यस पुस्तकमा समेटिएको छ ।
पाठेघरको मुखको संक्रमणका साथै विभिन्न अंगमा हुने क्यान्सर, तिनको रोकथाम र शल्यक्रिया अघि÷पछिको हेरचाहका बारेमा पनि पुस्तकले जानकारी दिएको छ । साधारण जानकारीको अभावमा महिलाहरूले व्यहोर्नुपरेको अनुभवका आधारमा तिनका समस्यामा केन्द्रित रही पुस्तक तयार गरिएको लेखक ताम्राकारले बताए । यो पुस्तक सन् २०१५ देखि नै लेख्न सुरु गरिएको उनको भनाइ छ ।
पुस्तकमाथि चर्चा गर्दै डा. सपना अमात्यले किशोरअवस्थामा देखिने शारीरिक परिवर्तनदेखि रजोनिवृत्तिसम्मका विषयमा सरल किसिमले लेखिएको मेडिकल बुक जस्तै भएको रहेको बताइन् । उनले यो पुस्तक हरेक महिलाले पढ्नुपर्नेमा जोड दिइन् ।
प्रा.डा. आभा श्रेष्ठले सरल भाषामा लेखिएको यो पुस्तक पढ्न मेडिकल व्यक्ति नभए पनि हुने बताइन् । पुस्तकको ५९ वटा च्याप्टर हरेक महिलाको शरीरमा आउने परिवर्तन र विभिन्न रोगबारे लेखिएको उनको भनाइ रह्यो ।
प्राज्ञ तथा आख्यानकार अमर न्यौपानेले सहरदेखि दूरदराजका हरेक महिलाका लागि आवश्यकीय पुस्तक भएकोले स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहहरूले स्वास्थ्य चौकीमा आउने महिलाको उपचार गरेपछि ‘स्वस्थ महिला’ पुस्तक वितरण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “एक पुरुषले पढ्नु भयो भने उहाँले आफ्नो श्रीमती, आमा, छोरीलगायतलाई भन्न वा सुझाउन सक्नुहुन्छ । यस्तै, आमाले पढ्नुभयो भने छोरी बुहारीलाई सिकाउन र भन्न सक्नुहुन्छ ।” आफ्नै घरमा समेत अत्यधिक रगत बग्दा आमाले आफ्नै श्रीमानलाई समेत भन्न नसक्ने अवस्था विद्यमान रहेको तितो सत्य उनले बताए ।
पाठेघरमा हुने पानीको फोका, सिस्टदेखि परिवार नियोजनसम्बन्धी लेखिएकाले यो पुस्तक पढ्दा यस्ता रोगबाट जोगिन सक्ने प्रा.डा. पदमराज पन्तको भनाइ थियो ।