
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आयोजना सम्बन्धमा आगामी वर्षको मार्च–अप्रिलपछि निर्णय गर्ने भएको छ ।
गएको शनिबार सम्पन्न निर्वाचनबाट चतुरबहादुर चन्द नेतृत्वमा नयाँ कार्यसमिति आएपछि बसेको पहिलो बैठकले ईपीएल प्रालिले आयोजना गर्ने फ्रेन्चाइज प्रतियोगिताबारे क्यान आफैले गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) सम्पन्न भएपछि निर्णय गर्ने भएको हो ।
सन् २०२१ मा ईपीएल आयोजना भएको थियो । तर, त्यसपछि क्यानले आफूले गरेको नेपाल टी–२० बाहेक अन्य प्रतियोगितालाई राष्ट्रिय लिगको मान्यता नदिने भएपछि प्रतियोगिताको आयोजकले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । पछि क्यानसँग सहमति बनेपछि आयोजकका प्रमुख आमिर अख्तरले मुद्दा फिर्ता लिएका थिए ।
यस्तै, मंगलबारको बैठकले नेपालमा हुने अन्य फ्रेन्चाइज क्रिकेटलाई विदेशी खेलाडीबिना घरेलु लिगको रुपमा सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ । नेपालमा ईपीएलबाहेक धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) गरी अन्य दुई फ्रेन्चाइज क्रिकेट लिग भएका थिए । तर, विविध कारणले यी दुवै लिगले निरन्तरता पाउन भने सकेका छैनन् ।
बैठकले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा पाँच सदस्यीय कार्य सम्पादन समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का र सदस्य दिवाकर घले रहेका छन् ।
यस्तै, बैठकले सातवटै प्रदेशमा समान एक पिच निमार्ण गर्ने, त्यसलाई आवश्यक प्राविधिकसँगै अन्य सामग्री प्रदान गर्ने र १० जनालाई क्युरेटरको तालिम दिने निर्णयसमेत गरेको छ ।
यसै वर्षदेखि कार्यविधि बनाएर राष्ट्रिय क्रिकेट अवार्ड दिने र झापा जिल्लामा देखिएको प्रतिनिधि विवादका सम्बन्धमा कोसी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।