
काठमाडौं । पाकिस्तान सुपर लिगका म्याचहरू युनाइटेड अरब इमिरेट्स (यूएई) सारिएको छ । पाकिस्तान सुपर लिग यूएई सारिएसँगै धेरैले भारतीय प्रिमियर लिग (आईपीएल) के होला भन्ने चासो व्यक्त गरिरहेका छन् ।
बिहीबार राति हिमाञ्चलको धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमा रोकिएको थियो । खेल रोकिएपछि दर्शकलाई स्टेडियम खाली गर्न आग्रह गरिएको थियो ।
अधिकारीहरूले खेल बीचमा रोकिनुको कारण फ्लडलाइट खराब भएको बताएका थिए । तर, यो निर्णय उत्तरी र पश्चिमी भारतका केही सहरहरूमा साइरनको आवाज सुनिएको र ब्ल्याकआउट गरिएको जानकारी आएपछि आएको थियो ।
आइतबार धर्मशालामा खेलिने पंजाब किंग्स र मुम्बई इन्डियन्सबीचको म्याच पहिले नै गुजरातको अहमदाबाद सारिएको थियो ।
केही समाचार स्रोतहरूले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले समग्र टुर्नामेन्ट स्थगित गर्ने तयारी गरिरहेको बताइए पनि यसको पुष्टि भएको छैन । आईपीएल मे २५ मा अन्त्य गरिने बताइएको थियो ।
उता, भारत–पाकिस्तान तनावका कारण पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेलहरू यूएईमा गर्ने निर्णय गरेको थियो ।
बिहीबार रावलपिन्डीमा खेलिने पेशावर जाल्मी र कराची किंग्सबीचको म्याच स्थगित गरिएको थियो ।
भारतीय ड्रोनहरू पाकिस्तानका विभिन्न सहरहरूमा प्रहार भएपछि सुरक्षा अवस्था बिग्रिएका कारण पाकिस्तानले यो निर्णय गरेको बीबीसीले जनाएको छ ।