
विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक मञ्चन गरिएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा हरेक दिन तीनपटक नाटक मञ्चन भइरहेको छ ।
यसको नाट्य रूपान्तरण तथा निर्देशन युवा साहित्यकार कटवाल दीपकले गरेका हुन् । विद्यार्थीलाई लक्षित गरी नाटक रूपान्तरण गरिएको कटवालले बताए ।
मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् । नाटकमा तिनै विद्यार्थीले अभिनय गरेका छन् । यस अगाडि पनि यो नाटक विराटनगर, काठमाडौं, पोखरा र विराटचोकमा मञ्चन भइसकेको कटवालले बताए । “उतिबेला युवाहरू रोजगारीको खोजीमा ल्हासा जान्थे, अहिले खाडी जान्छन्, पीडा उस्तै छ,” कटवालले भने ।
मुनामदन देवकोटाको सबैभन्दा चर्चित र लोकप्रिय कृति हो । नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राई, रस्मी थापा, सुजता थापा, अतित निरौला, प्रदीप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृती थापा, सचिन लिम्बु, लिला लिम्बु र मलिना तामाङले अभिनय गरेका छन् ।
नाटक आसोज १६ गतेसम्म मञ्चन हुने छ ।