सहरमा घरहरूलाई समेत सास फेर्न सकस हुँदै छ, तर अझैसम्म कतै टाढा भाले बासेको सुनिन छोडेको छैन । चन्द्रागिरिको टुप्पामा झुल्के घामले लाली घस्न धेरै नै पला बाँकी हुन्छ होला, कुखुराको यही बिहानी आरतीसँगै मेरो निद्रा खुलिसक्छ । एका–दुई घरमा भुकभुकै नहुँदै शंख घण्ट बज्छन् ।
मेरो बिहानी समय प्रायः लेखन/अध्ययनमै बित्छ । अपवादबाहेक ९ बजेपछि मात्रै वाइफाइको टुप्पो जोडेर एकसरो सामाजिक सञ्जालतिर आँखा दौडाउने गर्छु ।
भदौ २६ गते पनि मैले यही समय–तालिका पछ्याएँ । फेसबुकको भित्तातिर टहलिइरहँदा पहिलो सूचना पढ्नुपर्यो– संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङको निधन । हृदयाघातका कारण उनको निधन भएको सूचना थियो । त्यसमा अपसोस मान्दै मोबाइलको पर्दा तलतल झार्दै गएँ । एक्कासि ‘साहित्यकार राजेन्द्र पराजुली बिरामी भएर बीएन्डबी अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको’ भन्ने सन्देशमा आँखा पुगे ।
त्यो देख्नेबित्तिकै आश्चर्यसँगै मनमा पीडा बोध भयो । भेट नभएको महिनादिन जति भएको थियो । सोचेँ– आजै भेट्न जान्छु ।
आफ्ना सुसेधन्दा, छोरीलाई बस बिसौनीसम्म छोड्नुपर्नेजस्ता कामले बिहानी कर्म भ्याइ नभ्याइ हुन्छ । नियमितता छिमलेर छोरी पुर्याउन गएँ । उनलाई स्कुल–बस चढाएर कोठामा फर्केपछि पुनः मोबाइलको ढोका खोलेर भित्र पसेँ । सूचना लेख्ने मान्छेको नाममा आँखा गएनन् । आँखा त्यहीँ टाँसिए, जहाँ हँसिलो, फरासिलो अनुहारको उही राजेन्द्र दाइको जानकारी थियो– चर्चित साहित्यकार तथा कथाकार राजेन्द्र पराजुलीको उपचारका क्रममा निधन ।
अवाक् भएँ । सूचनाप्रति विश्वास हुने कुरै भएन । मोबाइलको पर्दा अझ तलमाथि सार्दै गएँ । त्यस्तै सन्देश थपिँदै गएको देखियो । करिब दर्जनजति प्रतिक्रिया देखेपछि सपनाजस्तै लाग्यो । साँच्चै राजेन्द्र दाइ नफर्कने बाटो गएछन् । मुखबाट एउटा शब्द निस्क्यो, ‘धत्तेरि के भयो यस्तो !’ अचानक मेरो शरीर लल्याकलुलुक भयो, टाउको भननन रिँगायो । एकछिनअघिको शरीरको स्फूर्ति सेलाएर शून्यमा झर्यो ।
दिनहुँको लुतेधन्दा, यता र उता दौडिनुपर्दा समय उबारेर दाइलाई भेट्न सकेको थिइनँ । करिब डेढ महिनाअगाडि हामीले बबरमहलस्थित क्याफे कोडमा भेटेर कफीको चुस्की लिएका थियौँ । त्यही बेला पूर्वसमाचारपत्रकर्मीहरू जनक नेपाल, टिएस ठकुरी, टीका बन्धन मिलेर गफका पसल फिँजायौँ । अनि, निकै बेर उन्मुक्त बनेका थियौँ । अरू छुटेर गएपछि दाइ मलाई भनिरहेका थिए, ‘तिमीलाई पनि मलाईजस्तै पत्रकारिताले थिच्यो, भाइ । तिमीभित्रको साहित्य–सिर्जना मर्न नदेऊ । अब त किताब निकाल्न ढिलो भयो ।’
मैले ‘प्रयास गर्छु, दाइ’ मात्र भनेँ । निकै बेरको गफगाफपछि हामी छुट्टियौँ । हाम्रो अन्तिम भेटवार्ता त्यही हुन पुगेछ ।
आजको अप्रत्यासित घटनाले दिएको पीडा खप्न गाह्रो भयो । मुटु दुखेजस्तो भयो, छाती चस्केजस्तो । शरीरभरि नीलकाँडाले घोचेजसरी म घाइते भएँ । खप्नै नसकेपछि उभिइरहेको म थ्याच्च कुर्सीमा बसेँ । लामो सास फेरेँ । मनमा अनेक तर्कना आउन थाले । फेरि पनि विश्वास लागेन, राजेन्द्र दाइ गएकै हुन् त ! एकपटक पुनः मोबाइलको पर्दा उघारेँ । त्यहाँ बग्रेल्ती दाइका तस्बिर राखेर संवेदनाका सूचना आइरहेका थिए ।
मृत्युमा संवेदना दिन मान्छेलाई कति हतार ? पेट पाल्ने उद्यममा दश दिशा भौँतारिनुपर्दा परिवारका सबै सदस्य सँगै नहुन सक्छन् । छोराछोरी, आफन्त वा दागबत्ती दिने व्यक्ति नआइपुग्दासम्म यस्ता सूचना बाहिर नल्याउन मनलाई कसी लाए हुँदैन ? मलाई लाग्छ, कतिपय सामाजिक पक्षमा प्रविधिले मनपरीतन्त्र लादेको छ । कसलाई के भन्ने ? के भनेर कसी लाउने ? प्रविधिको यो बेलगाम उडानले कुनै दिन मानव अस्तित्व नै धराशायी बनाउला !
त्यो हँसिलो मुहार, जहिले पनि सकारात्मक सोच्ने । कसरी विश्वास गरूँ राजेन्द्र दाइ अब यस लोकमा छैनन् भनेर । एक महिनासम्म हाम्रो भेट भएन वा मैले फोन गर्न ढिलो गरेँ भने दाइ आफैँ फोन गर्थे, ‘कता बिजी भयौ लक्ष्मण ? तिमीलाई पत्रकारिताले थिच्यो, भाइ ।’ फेसबुकका भित्ताभरि टाँसिएका उनका तस्बिरहरू देख्दा अहिले भरखरै फोन गरेर उही कुरा भन्छन्झैँ लाग्यो, ‘कता हराइस् भाइ ? तँलाई पनि पत्रकारिताले थिच्यो । कथा लेख्न नछोड् यार !’
अब कसलाई फोन गरेर थप पुष्टि गरूँ ? मैले त्यो आँट उमार्नै सकिनँ । फेसबुक म्यासेन्जरमा वर्तमान तथा नेपाल समाचारपत्रका पूर्वपत्रकारहरूको एउटा समूह छ, एनएसपी अलुमुनी । म पनि त्यसको सदस्य छु । त्यहाँभित्र पनि उही संवेदना र श्रद्धाञ्जलीका शब्दहरूले आँसु झारिरहेका थिए । यी घटनाक्रमले ममा थप पीडा बढ्यो । भुईंमा पछारिऊँजस्तो भयो । रुन सकिनँ न चिच्याउन नै सकेँ ।
कताकता मनमा भयंकर डर उत्पन्न भयो, आफैँलाई पो हृदयाघात हुन्छ कि जस्तो ! तब एकछिन आँखा चिम्लेर लामोलामो सास तान्ने र छोड्ने गरेँ । तातिएर टन्किएका रक्तनलीहरू केही खुकुलिएजस्तो भयो । उभिएर एकपटक लामो सास तानेर छोडेँ । पुनः कुर्सीमा बसेँ ।
यस्तो घडीमा दिमागले कसको नाम पहिला लिन्छ, त्यो दिमागले जानोस् । चेतन र अचेतन मस्तिष्कको खेल कसरी बुझ्नु ! यसबारे कुरा गर्ने सजिलो व्यक्ति सुशील भट्टराई अगाडि उभिए । मैले मोबाइलमा उनको नम्बर डायल गरेँ । दुई रिङ बजेपछि पल्लो पाखोबाट ‘हँ वियोगी ?’ को आवाज आयो । उनको ‘हँ’ कति टर्रो छ वा गुलियो उनीसँग संगत गर्नेलाई थाहा छ । पहिलोचोटि सुशील दाइको बोली सुन्नेलाई त्यस्तै लाग्छ, डेढ दशकअगाडिको पहिलो भेटमा मलाईझैँ । उनी बोलीमा खाक्सी घोटेर बोल्न जान्दैनन्, तर मन सुन्दरीजलको भीरबाट ओरालिने सङ्लो पानीजस्तो छ ।
उनको ‘हँ’ सुनेपछि यताबाट मैले हतासको सुस्केरा फ्याँकेँ, ‘के सुन्नुपर्यो दाइ, बिहानै !’
‘ह्यात्तेरी, राजेन्द्र दाइको के भयो यार !’
त्यति बोलेपछि उनले १५–२० दिनअघि भेटेर कफी पिएको सम्झिए । अजय फुयाँल, सुरेन्द्र पौडेललगायत ८–१० जना एनएसपी अलुमुनीका सदस्यहरूले राजेन्द्र दाइलाई भेटेका रहेछन् । म कसरी छुटेँछु ? सुनेर खल्लो लाग्यो ।
केही दिनअघि मात्र दाइ साहित्यकारहरूको एउटा डफ्फासँगै नगरकोट पुगेको तस्बिर फेसबुकभरि छापिएको थियो । उनको भर्खरै प्रकाशित कथासंग्रह ‘जन्तरमन्तर’को विमर्शका लागि त्यो टोली त्यता गएको सूचना थियो ।
म आफूलाई पनि दाइको नजिकको शुभचिन्तक ठान्थेँ । अलिअलि साहित्यरस बुझ्ने भए पनि नगरकोट टोलीमा मेरो नाम छुटेछ । दाइले सम्झेर छुटाएका पक्कै होइनन् । फेसबुकका भित्ताभरि टाँगिएका हँसिला अनुहारहरू हेरेर म दाइप्रति ठुस्किएको थिएँ । म थोरै पत्रकारिता बुझ्ने, थोरै साहित्यको फूलबारीमा डुल्न रुचाउने भएर होला, मलाई पत्रकारहरूले पत्रकार भन्दैनन् । साहित्यकारले साहित्य सिक्दै गरेकोमा गन्दैनन् । म न पत्रकार न त साहित्यकार । यस्तो ठिमाहा जिन्दगी घिसारेर कहाँसम्म पुग्न सकिएला ? कतिपयले मलाई हलमा नमिल्ने गोरु पनि भन्छन्, त्यही भएर म छुटेँ कि !
राजेन्द्र पराजुली एउटा स्थापित लेखक, पत्रकार, धेरैका अभिभावक, मार्गदर्शक, प्रेरक, हितैसी, प्रियसीको प्रिय । म मात्र हो र, ती सबैसबै पनि त छुटे होलान् । छुट्नेहरूको लामै सूची होला । जो–जतिले उनलाई ताजै भेटे, भेट्न पाए, उनीहरू भाग्यमानी हुन् । मैले साँघुरो सोच्नु मेरो लघुताभास होला !
०००
सुशील दाइसँग कुरा भएअनुसार राजेन्द्र दाइलाई आर्यघाट लगिँदै थियो । हामी ‘११ बजेसम्म पशुपति पुग्ने’ सल्लाहपछि मैले कुराकानी विच्छेद गरेँ । मोबाइल–वार्ता टुंग्याएपछि मनमा धेरै कुरा खेल्न थाले । दाइसँगको भेटघाट, कुराकानी र उनका प्रेरणाका शब्दहरू कानमा गुन्जिइरहे ।
मनमा प्रश्नैप्रश्न उम्रिए– दाइ, किन यति हतार गर्यौ ? तिमी गयौ, साहित्यमा रस बस्दै गरेको बेला मेरो भरपर्दो प्रेरणाको स्रोत सुक्यो । ‘भाइ कथा लेख्न नछोड है’ भनेर झक्झक्याइरहने बोली बस्यो । बाह्रखरी कथा प्रतियोगितामा म पुरस्कृत भएपछि उनले मलाई पुस्तक प्रकाशन गर्न घच्घच्याइरहेका थिए, ‘भाइ, अब किताब निकाल्न ढिलो भयो । तिमेरु सँगैका हौ, विना (विना थिङ)ले उहिल्यै निकालेर अर्को आउने बेला भइसक्यो । चाँडो तयारी गर, पर्यो भने म पनि सहयोग गरूँला ।’
मनमनै सोधेँ, ‘दाइ, मेरो पुस्तक निस्केको हेर्न नपाई गयौ त ?’ फेरि, आँखाभरि आँसु भरिए । मेरो भावुकता देखेर मेरी सहयात्रीले सोधिन्, ‘के भयो ? किन मलिन अनुहार ?’ उनलाई धेरै कुरा भन्न सकिनँ । यत्ति भनेँ, ‘हेर न, राजेन्द्र दाइ गएछन् ।’
दाइसँगको डेढ दशक लामो संगतमा उनलाई कुनै दीर्घरोग लागेको थाहा थिएन । उनको अनुहार सधैँ ताजा स्फटिक टल्किएजस्तो देखिन्थ्यो । सायद त्यो उहिल्यैको वाग्मतीको सङ्लो पानीले धोएको चमक थियो कि ! कोटेश्वरका स्थायीवासी उनले वाग्मतीको सङ्लो बहाव र झर्रो कोटेश्वरको नालीबेली लेखेका छन्, आफ्नो संस्मरण सँगालो ‘कोटेश्वरको केटो’मा । कहिलेकाहीँ भन्थे, ‘मलाई ढाडको समस्या छ, लक्ष्मण । ‘ब्याक पेन’ले साह्रै दुःख दिन्छ ।’ योबाहेक उनलाई असाध्य रोगले थला पारेको सम्झना छैन ।
दाइ, हजारौँ शुभेच्छुक र शुभचिन्तकलाई यति चाँडै छोडेर जानु रै’छ र पो कहिल्यै कसैसँग तितो मुख गरेनौ । हृदय–कुनाबाट पीडाको बाढी बढ्दै आयो– गइदेओस् भनेर पशुपति, गुह्वेश्वरीलाई भाकल गर्दा पनि जानुपर्नेहरू जाँदैनन् । ती त हजारौँ, लाखौँलाई मृत्यु चेम्बरमा हुलेर बाँचिरहेछन् । नजानुपर्नेहरू कु–समयमै जानुपर्ने बाटो गइदिएपछि दुखेको मुटु नदुखाउन कठिन हुँदो रहेछ ।
०००
मोटरसाइकल स्टार्ट गरेँ । आज म सधैँ कार्यालय जाने बाटो हिँडिनँ, उत्तरतिर हाँकिएँ । अचेतन मस्तिष्कको वर्चस्व थियो, मनमा सुद्धी थिएन । तर, मोटरसाइकल चलाउन गर्नुपर्ने सबै कर्म भइरहेकै थिए । घरीघरी त लाग्थ्यो– कुहिरोभित्र रुमल्लिएर म कहाँ जाँदै छु, केका लागि गुडिरहेछु ? कालको छाया आफैँ वरिपरि घुमिरहेझैँ लाग्यो । के थाहा, म पनि यही मोटरसाइकलबाट ढलेर ठाउँको ठाउँ पिर्लिक्क हुन्छु कि !
त्रिपुरेश्वरको जाममा रोकिएपछि होस खुलेजस्तो भयो । त्यसपछि चेतनशील दिमाग सक्रिय भयो– म सुन्धारा, वीर–अस्पताल, दरबारमार्ग, ज्ञानेश्वर, रातो पुल हुँदै गौशाला पुगेँ । बिसौनीमा मोटरसाइकल रोकेर आर्यघाटतिर तेर्र्सिएँ । घाट पनि कहाँनिर जाने, कसलाई भेट्ने ? म यसबारे पूरै अनभिज्ञ थिएँ । जतिजति घाट नजिक हुँदै जान्छु, उतिउति मनमा डरको प्रताप भुमरी बनेर आउँछ । चेतनशील दिमागले अजय दाइलाई सम्झ्यो । उनैलाई फोन गरेँ ।
फोनको घण्टी बज्नासाथ उताबाट टर्रोटर्रो आवाज आइहाल्यो, ‘तँ आइपुग्या हो ?’ मैले आफू घाटनजिकै पुगेको जनाउ दिएँ । उनले ब्रह्मनालतिर आउन अर्थ्याए । मेरा पाइला उतै घिसारिए । अजय दाइले आफ्ना समकालीन वा अनुजहरूलाई तपाईं वा तिमी सम्बोधन गरेको मैले सुनेको छैन । तर, यी पनि हिउँखोलाको निर्मल पानीजस्तै लाग्छन्, मलाई । सधैँ हाँसिरहने खुलेको आकाशजस्तो । कहिलेकाहीँ यिनको बिछट्टको उन्मुक्त हाँसो सुन्दा लाग्छ, उनीसँग भित्र केही छैन । सानो आन्द्राको पिँधदेखि सोहोरिएर आएका खजना हावामा बार हालेर सुकाइएका छन् ।
सोच्दासोच्दै म ब्रह्मनालनिर पुगेँ । त्यहाँ मैले चिन्ने सुरेन्द्र र अजय दाइ मात्र थिए, अरू दुई–चारजना राजेन्द्र दाइका आफन्त । दाइलाई घाटछेउकै पाटीमा भित्रपट्टि भुईंमा सुताइएको देखेँ । उनलाई बच्चालाई जस्तै सेतो कपडामा लुट्पुट्याइएको थियो । छेवैको बेन्चीमा दुई भद्र महिला मलिन अनुहार लाएर टुसुक्किएका थिए । ती खुलेको हिमालजस्ता राजेन्द्र दाइ, यी चिरनिद्रामा सुतेका राजेन्द्र दाइ ! यो भेद देखेर मलाई खपिनसक्नुभयो । मुटु बटारिएर आयो । आँखा आँसुले भरिए । आँसु आँखाका नानीभित्रै निकै बेर छचल्किइरहे । मैले आँखा चिम्लेर दाइको वैकुण्ठ आरोहणको कामना गरेँ ।
आर्यघाटको वातावरण अनौठो छ, त्यहाँ निरन्तर निर्जीव देहहरू ल्याइन्छन्, ओसारिन्छन् । मलामीहरूको घुइँचो त्यस्तै । देहहरू अग्निदेवको सेवामा पुग्न पालो कुरिरहन्छन् । आत्मासँग छुटेकाहरूका कति आफन्तहरू डाँको छोडेर रोइरहेका छन्, कति क्वाँक्वाँ । कति त वाग्मतीले समेत सुन्छिन् भनेर घुँक्कघुँक्क गरेका छन् । देहहरू जलिरहेछन् । त्यहाँ धुवाँ उडिरहेको हुन्छ ।
प्राचीनकालदेखि वाग्मती बगिरहेकै छिन् । केही गौरांगहरू रमिता हेर्दै फोटो खिचिरहेका छन् । ब्रह्मनाल पारिपट्टि पण्डितहरू पितृकार्य पनि गरिरहेकै छन् । मगन्त–नारायणहरू वरिपरि स्याउँस्याउँ टाँसिइहेछन् । परेवाहरू देहबाट अग्निले उडाएको धुवाँ सुँघ्दै कावा खाइरहेका छन् । हैट्, यो विचित्र संसार ! सयौँचोटि आर्यघाट टेकियो, ब्रह्मनाल स्पर्श गरियो, तर मैले यो संसारलाई यसअघि यसरी नियालेकै रहेनछु ।
मलाई लाग्यो– मलामी तथा आफन्तहरू आत्मरहित शरीर बोक्ने ‘नाइट’ वा ‘डे’ बसहरू हुन् । तिनले कहाँबाट तिनलाई चढाएर यो घाटसम्म ल्याइपुर्याउँछन् । यहाँसम्म आइपुग्न देहहरू कहाँबाट ‘लोड’ भए र यहाँ पुगेर ‘अनलोड’ गरिए । तिनै श्रीमती, छोराछोरी, बाबुआमा, दाजुभाइ, दिदीबहिनी अनि साथै लागेर घाटसम्म पुग्ने मलामीहरूले देह अग्निदेवलाई जिम्मा लाउँछन् । अग्निदेवले पारि तारेर यमराजका दूतलाई सुम्पिन्छन् ।
यति बेला हावामा पात हल्लिएझैँ दिमागमा नाट्यसम्राट बालकृष्ण समको इच्छा कविताको मध्यतिरका केही पंक्तिहरू चल्मलाए–
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।
२३ वर्षअघि मेरी आमा पनि यही ब्रह्मनाल तरेर पारि जानुभएको थियो । कहाँ पुग्नुभयो, त्यसको खबर देवाधिदेवले दिएका छैनन् । न ती साक्षी रहेको भनिएका शंकरले नै आवा पठाए । मेरी आमाले किरालाई पनि कष्ट दिएको स्मृति छैन । त्यसैले उहाँलाई यमराजले पक्कै स्वर्ग पठाए । राजेन्द्र दाइलाई अलबिदा भन्न आइपुग्दा तत्क्षणै आमा सम्झेर म भक्कानिएँ ।
उभ्भिदाउभ्भिदा करकर खुट्टा दुखे । अजय दाइ, सुरेन्द्र र मैले एकैछिन ब्रह्मनालमाथिको पेटीमा नितम्ब टेकायौँ । जननेन्द्रिय मात्र छोपेका केही कौपीनधारी रूपजीवाहरू श्लेषमान्तक वनको ओरालो झरिरहेका थिए । पारिपट्टि दुई–तीनजना गौरांगहरूले टीभीजस्ता क्यामेरा उचालेर केके खिचिरहेका थिए । यो आँसु, पीडा, रोदन, विरह, मृत–मानवबाट निस्केको धुवाँको व्यथा खिचेर यिनले के गर्ने हुन् ? कहाँ लगेर बेच्ने हुन् ? यिनलाई हाम्रो विरहको गाथा बेच्ने अनुमति कसले दियो ? जहाँ पायो त्यहीँ छिरेर, जे मन लाग्यो त्यही गर्न यिनलाई अनुमति दिने सरकार र प्रशासन सम्झेर एकछिन त भाउन्निएँ ।
०००
यता, अजय दाइले चिया पिउने प्रस्ताव राखे । चिरनिद्रामा सुतिरहेका राजेन्द्र दाइलाई आफन्तहरूको साथमा छोडेर हामी ब्रह्मनालको चौघेरोबाट बाहिरियौँ । मूलबाटोतिर सोझिँदै गर्दा पनि उनकै कुरा चले । हँसिलो मुहार, सपाट आवरण र समान गतिमा चलिरहने गतिशीलताको बयान भयो । कु–समयमै गएका आफन्त र प्रियजनहरूको पीडा खप्न सक्ने गरी भगवान्ले छातीमा अर्को मुटु पनि सँगै राखिदिए हुने नि ! आमाको गर्भबाट यसको सिर्जना भएर आइदिए यस्ता कष्टसाध्य क्षणहरू सरल बन्थे कि !
यस्तै विछोडको पीडाबाट सिर्जिएको होला, ‘हिमालभन्दा अग्लो छ यो माया, सागरभन्दा गहिरो छ पिरती, भन्देऊ मायालाई’ भन्ने विरही प्रणयगीत । अन्तिम दिनमा नभेटिए पनि राजेन्द्र दाइ, तिमीले हामीलाई यस्तै सम्झना छोडेर गयौ । भावनाको उडानमा विचरण गर्दागर्दै हामी चिया अड्डा पुग्यौँ । सुशील दाइ त्यहीँ मिसिन आइपुगे । उपस्थित हुनेहरूसँग बोल्नका लागि पर्याप्त शब्द थिएनन्, धेरै कुरा अनुहारको भावभंगी र सजल आँखाहरूले बोलिरहेथे ।
म सोचिरहेथेँ– एउटा पत्रकारभन्दा पनि घरसमाज, छिमेक र देशको बेथितिलाई राजनीतिक दृष्टिबाट झटारो हान्ने साहित्यकारको आज अवसान भयो । राजेन्द्र दाइ पत्रकारभन्दा माथि लेखक/साहित्यकार हुन् । उनको यो विशाल पहिचानलाई पत्रकारको साँघुरो आयतनमा खुम्च्याउन मनले मान्दै मानेन । म अघि मोटरसाइकलमा गुडिरहँदा समेत सोचिरहेथेँ– दाइ पत्रकार होइनन्, साहित्यकार हुन् । राजनीतक विकृति र विसंगतिलाई पेचिलो ढंगले प्रहार गर्न सक्ने खुबी लिएर आएका हाम्रो युगकै अब्बल कथाकार !
दाइलाई अन्तिम अवस्थामा भेट्न त पाइएन, कम्तीमा एक–दुई घण्टा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा राख्न सकिन्थ्यो । यतातिर साहित्यका मूर्धन्य व्यक्तिहरूको ध्यान किन गएन ? कि त्यसको खाँचो महसुस गरिएन ? यस्तो सुद्धी पलाएन कि ! यी प्रश्नहरूले मनभित्र उखरमाउलो मच्चाउन थाले । रोक्न खोज्दाखोज्दै पनि सकिनँ र अजय दाइसमक्ष प्रश्नहरूको डोको खन्याएँ । मेरो कुरामा दाइ गम्भीर बने, ‘मलाई हस्पिटलमा त्यसको होसै भएन । अलिकति पनि त्यतातिर ध्यान गएको भए मैले प्रयास गर्थेँ । अब यहाँ ल्याइसकियो, त्यो पाटो टुंगियो । यसमा त साहित्यकारहरू बढी संवेदनशील हुनुपर्ने हो नि ! हेर, यस्तो कुरामा पत्रकार बढी संवेदनशील हुन्छन् । साहित्यकारलाई मतलबै छैन ।’
साहित्यकारलाई मतलबै छैन – अजय दाइको यो वाक्यले मलाई च्वास्स घोच्यो । साँच्चै राजेन्द्र दाइप्रति साहित्यकारहरू बेखबर बनेकै हुन् त ? पत्रकारिताको मधुरो उज्यालो टल्केका कारण दाइको साहित्यको प्रदीप्ति सेपमा पर्ने त होइन ? कस्तो विडम्बना ! पत्रकारितातिर नभौँतारिई पेटको भोक मर्दैन । साहित्यको हाँगामा उभिएर नबासी सिर्जनाको प्यास मेटिँदैन । यी दुई एकले अर्कोलाई छोड्नै सक्दैनन् । दुइटा डुंगामा खुट्टा हाल्नुको पिरलो यही हुने रहेछ कि !
हुन त राजेन्द्र दाइले नटेकेको सञ्चारमाध्यम छैन होला । समयान्तरमा उनी कहीँ स्थिर भएनन् । ठूला घरानाका मिडिया हुन् वा सामान्य, अनुजहरूले खनीखोस्री गरेका अनलाइनहरू सबैप्रति उनको उत्तिकै लगाव थियो । उनी कहिल्यै ठूलालाई ‘क्या बात’ र सानालाई ‘झ्याँस’ ठान्दैनथे । अझ अनुजहरूसँग घोलिएर काम गर्दा उनी उत्फुल्ल हुन्थे । त्यस्तैमा मनको मैन पगालेर रित्तिन्थे । उनको हृदयको अदालत सधैँ भुईंवर्ग, कमजोर र तिरस्कृतहरूको पक्षमा हुन्थ्यो ।
दाइलाई मैले अभियान आर्थिक दैनिकको सम्पादक हुँदादेखि नै चिनेको हुँ, तर नागरिक दैनिकमा आइपुगेपछि निकट रहेर काम गर्न पाएँ । कतिपय ब्रोइलर मिडिया घरहरूले श्रमजीवी पत्रकारलाई हेप्ने, चेप्ने, समयमा वेतन नदिने प्रवृत्तिका विरुद्ध उनी सधैँ प्रतिपक्षमा बसे । यस मानेमा उनी निर्बलियाहरूको पक्षमा उभिने विद्रोही पत्रकार पनि हुन् । सानासाना कुटी मिडिया हुँदै पछिल्लो समय दाइ करिबकरिब पत्रकारिताबाट विश्राम लिँदै थिए ।
यद्यपि, एक दिन मसँग शिरमाथि थपिँदै गएको आर्थिक बोझको व्यथा सुनाएका थिए, ‘लक्ष्मण, हेर न, पत्रकारिताबाट विश्राम लिएर बाँकी जीवन साहित्यमै खन्याउँछु भनेको अझै ८–१० वर्ष मलाई घोटिनुपर्ने बाध्यता आइपर्यो । छोरी पढाउँदाको ऋण घटाउँदै थिएँ, यो मोरो थोत्रो घरमा कति बसिरहने भनेर ऋणै थपेर घर बनाइयो, यसले अलि तनाव दिएको छ ।’
दाइ, यो निरस पत्रकारिताको झ्याउलो एकातिर मिल्काएर पूर्णतः रसिलो साहित्यमा डुबुल्किने रहर पनि अधुरै छोडेर गयौ !
तीनकुनेस्थित उनको पुरानो घरमा म अनेकपटक पुगेको छु । कुनै समय घरभित्रको भित्री कथा अलग्गै लेखूँला । म घरको घेरोभित्र छिरेपछि उनको गुनासो हुन्थ्यो, ‘हेर न, यो घर पनि ४०–४५ वर्ष भइसक्यो, अझ भनौँ, मजत्तिकै बुढो । जति रङरोगन गरे पनि नहुने । बुढो छालामा कति मात्रै पोतिरहनु ! धेरै ठाउँमा चर्केको छ, भत्केको छ, नयाँ बनाऊँ भने नसकिने ।’
काठमाडौंका आदिवासी वा रैथाने, त्यो पनि कोटेश्वरवासीले यसो भन्दा कताकता पत्यार लाग्थेन, तर नपत्याउनु कसरी ? उनको धेरै जग्गा त एयरपोर्टले निलेको थियो । आधा शताब्दीनजिक पुग्दासम्म मुआब्जा नपाएको दुखेसो गरिरहन्थे । यस्तो सुन्दा लाग्थ्यो– काठमाडौंवासी भनेर के गर्ने ? निर्धामाथि त जहाँ पनि बज्रठिंगाहरू जाइलागिरहन्छन् ।
राजेन्द्र दाइ झ्यालढोका, चोटाकोठा नभएका उदांग थिए । उनको जे थियो, त्यो ह्वांगै थियो । भित्र केही छँदै थिएन । पौराणिककालमा हनुमानले छाती चिरेर रामसीताको तस्बिर देखाएजस्तै ‘लौ राजेन्द्र, छाती चिर् त’ भन्यो र चिर्न सकिन्थ्यो भने त्यहाँ मात्र निष्कपट र इमानदारिताको प्रमाणपत्र भेटिन्थ्यो होला । उनका भावना सुनेर म उपायविहीन काठको ठुटोजस्तै ठिङ्ङ उभिइरहन्थेँ ।
भेटिँदा दाइ यस्तैयस्तै बाध्यताले गुनासीरहन्थे– भाइ, मलाई पत्रकारिताले थिच्यो, सिर्जनशीलता भुत्ते हुँदै गयो । उनले आफूमाथि प्रयोग गरेको ‘भुत्ते सिर्जनशीलता’लाई निरन्तरता दिँदै पछिल्लो समय हामी दुई भाइ सहकर्मी हुने सहमति भएको थियो ।
गएको जेठमा म कार्यरत पत्रिका ऊर्जा खबरको छापा संस्करण अर्धवार्षिक म्यागजिनको भाषा सम्पादकमा जोडिन मैले अनुरोध गरेँ । दाइले सहर्ष स्वीकारी यसको चौथो अंकको जिम्मेवारी समेत पूरा गरिसकेका थिए ।
दाइका लागि पत्रकारिता एउटा नियमित पेसा थियो, कतिपय हकमा दुर्व्यसन पनि । यो भोकको आगो निभाउने पानी थियो, आर्थिक बोझ हलुका पार्ने भरिया पनि । यस क्षेत्रमा दाइले निष्ठा र इमानदारिताको अलग्गै विरासत खडा नगरेका होइनन् । यति हुँदाहुँदै पनि पत्रकारिताभन्दा साहित्यमा राजेन्द्र दाइको पहिचानको चुली कता हो कता उँचो छ । उनका लागि पत्रकारिता पहाडको टाकुरो मात्र हो, साहित्य सेतो हिमचुली !
मेरो मनमा सल्बलाइरहेका तरंगहरू मैले पशुपति क्षेत्रभित्रको चियालयमा अग्रज दाइ तथा समकालीनहरूसमक्ष एकोहोरो भट्ट्याइरहेको थिएँ ।
मेरो ट्याउँट्याउँ सुनिरहेका अजय दाइ बोले, ‘नयन दाइ (नयनराज पाण्डे) त हस्पिटल आएका थिए, उनी राजेन्द्र दाइका लँगौटिया यार हुन् । खै, उनले पनि एकेडेमी लैजानेबारे केही भनेनन् ।’ हो त, नयन दाइ उनका जिउँदा र पिउँदाका हियार हुन् । यस्तो हियारले अघि सरेर त्यसको अगुवाइ गर्नुपर्ने होइन र ? नयन–राजेन्द्रका अनेक किस्सा, बेहोसी, उमंग र निकटताको कहानी स्वयम् राजेन्द्र दाइ मसँग पनि अनेकपटक सुनाइरहन्थे । ‘कोटेश्वरको केटो’मा एउटा स्मृति त सिंगै नयन दाइकै छ– एक भुलक्कड यारको संस्मरण ।
ल भएन, मुटु चोइटिएर गएको रनाहामा नयन दाइको होस पुगेन । राजेन्द्र दाइका अर्का हियार नारायण दाइ (ढकाल)को चेत किन गएन ? उनका अन्य निकट सारथि अभय श्रेष्ठहरू वा ‘जन्तरमन्तर’का लागि उनले नगरकोट बोकेर गएका दुई दर्जन साहित्यकर्मीहरू यस्तो बेला कहाँ बिलाए ? कि यस्तो चेत पस्दा राजेन्द्र दाइ आर्यघाट पुगिसकेका थिए ? कि फेसबुकका भित्तामा संवेदना टाँस्ने मेलो छुट्छ भनेर धेरैलाई फुर्सद भएन ? कतै ‘ऊ नभएपछि रित्तो चौतारीको मालिक म हुन्छु’ भन्ने कुटिल मानवीय प्रवृत्तिले त स्थान पाएन ?
फेरि, राजेन्द्र दाइले कसैको भाग खोसेका भए वा ओगट्नुपर्ने ठाउँ ओगटेका भए पो त्यस्तो कुबुद्धि पलाउँथ्यो ! समयको दाम्लोमा घिसारिरहेको जोगी लेखकप्रति कसले, किन र केका लागि कु–भावना जन्माउँथ्यो होला र ! मैले नचिन्दै उहिल्यै एकपटक साझा प्रकाशनको कार्यकारी सदस्य भएका रहेछन्, त्यो पनि साहित्यकर्मीबाटै निर्वाचित भएर । त्योबाहेक कसैका लागि आँखी हुने सिँढी उनले चढ्दै चढेनन् । आर्थिक जग हल्लिइरहे पनि उनलाई त्यस्तो खुड्किलो उक्लिने बाध्यता कहिल्यै परेजस्तो लागेन । उनको ठाउँ नै थिएन त नभएको ठाउँ हत्याउन को किन दौडिनुपर्ने बाध्यता होला र ? अनि, म यस्ता कु–सोचाइको बन्द कोठाबाट हुर्रिएर बाहिरिएँ ।
यद्यपि, विगतमा पनि यस्ता कति चर्चित जिजुबा, हजुरबा, बा र दाइ साहित्यकारको गुमनाम मरण भयो होला । एउटा उदाहरण त मैले नै भोगेँ, कुनै समय मेरा अभिभावकतुल्य रहेका साहित्यकार कृष्णप्रसाद पराजुलीको निधन पनि त्यस्तै भयो । उनलाई प्रज्ञा–प्रतिष्ठानको बाटो तर्काएर आर्यघाट पुर्याइएको थियो । बुढा मलाई बिहानै, अझ अघिल्लो दिन नै कार्यक्रमको जनाउ दिन्थे । म बासँग लुखुरलुखुर डोरिएर केही साहित्यिक कार्यक्रममा जान्थेँ । बालबालिकाका अति प्रिय ‘पराजुली बा’ले धेरै ठाउँमा भनेको मलाई सम्झना छ– म मर्दा त्यो दूषित प्रज्ञा–प्रतिष्ठान नलैजानू । सिधै आर्यघाट लैजानू ।
साँच्चै यो प्रज्ञा प्रज्ञाजस्तो हुँदै आएको छैन र ? म अल्पज्ञानीले त यो ज्ञानसागरको के भेउ पाउनु, तर विद्वान्हरू भन्छन्, ‘प्रज्ञा–प्रतिष्ठानलाई राजनीतिले गाँज्यो । अपवादबाहेक त्यहाँ बौद्धिक प्राज्ञहरूलाई प्रवेश निषेध छ ।’ यिनै विसंगतिको उछितो काढ्दै नारायण दाइले धेरैपटक लेखेको पढेको छु । धेरै लेखक–पत्रकारले डामिने गरी हिर्काएका छन् । अहँ, त्यो सुध्रिँदैन । प्राज्ञको छाला ओढेका बज्रठिंगाबाट कुटिएर प्राज्ञहरू गलहत्याइएका छन् । प्रज्ञालाई त राजनीतिका तारे, माले, काले, चम्रे, खैरे, पुँवालेहरूले जोत्छन् अरे ! साहित्य–सिर्जनाको श्रीवृद्धिमा राज्यको भूमिका पिलन्धरे हुँदै गएको छ । मैले लख काटेँ– सायद नयन दाइहरूले सोचे कि– यस्तो ढलमतीमा निर्मल गंगालाई कसरी मिसाउनु ? त्यही भएर राजेन्द्र दाइ प्रज्ञा नगई सोझै ब्रह्मनाल सुइँकिए ।
तै, मनभित्र मच्चिएको उकुसमुकुसले छटपटिइरहेँ । अजय दाइसँग सोधेँ, ‘दाइ, नयन दाइलाई फोन गरूँ त, यतै सानो शोकसभा हुनसक्छ कि ? दाइले ‘गर् न त’ भने । मैले मोबाइलमा नयन दाइको नम्बर थिचेँ । दुई घण्टीमा आवाज आयो¬, ‘हेलो’ ! मैले मेरो हुलिया बताएँ । उताबाट दाइले भने, ‘चिनेँ, यहाँ नम्बर आइहाल्यो नि !’
अब मैले आफूभित्रको सकसक नयन दाइलाई सुनाएँ, ‘दाइ, उहाँलाई एकेडेमी लैजान सकिन्थ्यो होला है, यहाँ ल्याइसकियो !’ उनको जवाफ थियो, ‘अँ, उता भएन, अब त्यहीँ गर्नुपर्ला । मैले धेरैलाई भनेको छु, कतिजना आइपुग्छन् । म पनि आउँदै छु ।’ यत्ति बोलेपछि मैले ‘हस्’ भन्दै फोनवार्ता टुंग्याएँ ।
०००
म भावनाको विमान चढेर मनोलोकमा पुग्छु– समाचारपत्रमा काम गर्नेको लहरो लामै छ । आजसम्म त्यो देशका अनेक सञ्चारमाध्यमसम्म फैलिएको छ । देशको सिमाना काटेर अमेरिका तथा युरोपसम्म पुगेको छ । किशोर दाइ (सापकोटा), विष्णु दाइ (शीतल) र रामचन्द्र दाइ (भट्ट) अमेरिकामै रहेर उद्यम गरिरहेछन् । अरू धेरैजना धेरै ठाउँमा स्थापित भइसके । एनएसपी अलुमुनी ती सबैको भावात्मक अभिव्यक्तिको चौतारो हो । कसैलाई गाह्रोसाह्रो पर्दा, बिरामी हुँदा, आर्थिक अभावले पिरोलिँदा सबैको मतो मिल्छ । एकले अर्कोलाई सहयोग गर्ने वा मिलेर गर्जो टार्ने उचित थलो बनेको छ, त्यो ।
केही वर्षअगाडि अग्रज पत्रकार कमल दाइ (पौडेल) असाध्य रोगले थलिए, उनका लागि सहयोग जुटाउन अलुमुनी जुर्मुरायो । आर्थिक अभावले उपचार रोकिएन । केही महिनाको उपचारपछि उनी सामान्य जीवनमा फर्किए । त्यति बेला दीपक दाइ (रिजाल)ले भनेको सम्झिन्छु, ‘दैव लाग्यो भने त के गर्न सकिएला र, तर बिरामी भइयो भने उपचार नपाएर हामी मर्दैनौँ भन्ने पुष्टि भयो ।’
अपसोस, राजेन्द्र दाइका लागि न आनासुकी जोहो गर्नुपर्यो न त खाँचो नै पर्यो ! उनी हाँस्दाहाँस्दै गए, खाँदाखाँदै गए । हिँड्दाहिँड्दै गए । पिउँदापिउँदै गए । दिनभरिको थकानलाई एकैछिन ओछ्यानमा के सुताएका थिए, फेरि उठेनन् । सायद रातिका ताराले बोलाए, दाइ जून बनेर उतै मिल्न गए । बगैंचामा ढकमक्क फक्रेको फूल एक्कासि असिनाले झार्यो, भुईंमा झर्नासाथ फूलको प्राण गयो । हो, राजेन्द्र दाइ त्यही फूल भए । सायद यत्ति सजिलो मृत्युको सौभाग्य जुसुकैलाई जुर्दैन होला ।
०००
मध्याह्नको पौने १२ बजिसकेको थियो । भदौरे घामले पशुपति क्षेत्रमा भरखरभरखर छापेका चम्किला स्लेटहरू तताइरहेका थिए । मेरो मन पीडाले राँकिएकै थियो । राजेन्द्र दाइको दिउँसो २.३० बजेतिर अन्त्येष्टि गर्ने टुंगो भएको थियो । किनकि, भारतको गोवामा कार्यरत छोरा त्यति बेला मात्र आइपुग्ने कुरा रहेछ । यो सुनेर शरीरका रक्तनलीहरू पुनः तात्तिन थाले, अघि नै फेसबुकका भित्ताभित्तामा मृत्युको सूचना टाँसिइसक्यो । बाबुको मृत्युपत्र पढ्दै त्यो छोरो कसरी आइपुग्ला ? धन्य भगवान्, जे परे पनि सहन बाध्य पारेका छौ !
मलाई यो प्रविधि, यो चमत्कार र समयले रोप्दै आएको उत्तरआधुनिक चेतनाका बिरुवा देखेर उराठ लाग्यो । जुकरबर्गले किन आविष्कार गर्यो, फेसबुक ? एलन मस्कले किन जन्मायो, ट्विटर ? यी र यस्ता सामाजिक मिडिया मानिसका सहयोगी हुन् कि अभिसाप ? बाबुको सास भेट्ने आशाको त्यान्द्रोमा झुन्डिएर फर्कंदै गरेको छोरो प्रदेशबाट घरदेश नआउँदै ‘मृत्यु–खबर’ लेख्ने अधिकार कसले कसलाई दियो ? आज यो एउटा छोरो वा आफन्त होइन, हजारौँ छोराछोरी र आफन्तको साझा कथा हो ।
पाप र धर्मको निसाफ कहीँ हुन्छ भने यस्तो कृत्य पक्कै पाप हो । यो धर्तीका देह र आत्मा नछुट्टिएका अविवेकी मानवप्राणीहरू पापी, अपराधी हुन् । योभन्दा त बरु गृहपरेवा हुलाकी हुने प्राचीन युग नै फर्केर आए हुन्थ्यो । पुराण, इतिहास, प्राचीनकालका खोज, अनुसन्धान एवम् आख्यान र गैरआख्यानले भन्छन्– कम्तीमा उस बेला परदेशिएको व्यक्ति गृहप्रवेश नगर्दासम्म आफन्तको मृत्यु थाहा हुँदैनथ्यो । यो कृत्रिम बौद्धिकताले मानवीय चेतना र अस्तित्वलाई कहाँ कति बेला भष्मखरानी बनाउने हो, यसका आविष्कारकर्तालाई नै थाहा नहोला ।
भावनाको पण्डित प्रविधि पुराण बाँचिरहँदा अजय दाइले निर्णय सुनाए, ‘अझै डेढ–दुई घण्टा यहाँ यसरी नै बस्ने हो । त्यसैले हामी १ बजे यहाँ जम्मा हुने गरी छुट्टिऊँ ।’ आदेशपालकजस्तै मुन्टो हल्लाउँदै सुशील दाइ, सुरेन्द्र र म त्यहाँबाट अलग्यिौँ । ती हँसिला, रसिला राजेन्द्र दाइको विरही उवाच गाउँदै हिँड्यौँ, जुन कहिल्यै सकिँदैन । मोटरसाइकल बिसौनीमा पनि सुशील दाइ र म उभिएर निकै बेर शोकवार्ता गर्यौँ । अनि, आ–आफ्ना गन्तव्यतिर गुड्यौँ ।
०००
घडीले दुई बजाइसकेको थियो । पश्चिमी आकाशमा बादलले वियोगको चित्र उतार्दै थिए कि ! मैले सुशील दाइलाई फोन गरेँ, ‘दाइ, पशुपति जाने होइन ?’ उनलाई कार्यव्यस्तताले बार हालेछ । सोचेँ– राजेन्द्र दाइ गइसके, अग्निदेवलाई जिम्मा लाउनु मात्र न हो । आँखाका पारदर्शी ऐनाले त्यो दृश्य हेरिरहन सक्छझैँ लागेन । अनि, मैले आफैँलाई बार हालेँ र पाइला ब्रह्मनालतिर सारिनँ ।
टिलपिलाइरहेका आँखा बन्द गरेर राजेन्द्र दाइसँग भाववार्ता गरेँ– दाइ, स्वर्गको उच्चासनमा तिम्रो स्थान सुरक्षित होस् । यो जुनीको भेट यतिकै रै’छ । ‘लक्ष्मण, तिमीलाई पत्रकारिताले थिच्यो भाइ, कथा लेख्न नछोड है’ भन्दै तिम्रो निष्कपट मुस्कानले मलाई प्रेरणा दिइरहोस् । तिमीले जस्तै मैले पनि कुन बेला कु–समयमै सास फेर्न बिर्सिन्छु, त्यसको के ठेगान ! तर, छातीको बीचमा एक बित्ताको हड्डीको पातोसँगै झुन्डिएको मुटु चल्दासम्म तिम्रो याद मर्दैन । सायद नेपाली साहित्य र पत्रकारिताले पनि तिमीले लाएको गुन यो भारतवर्षको हिमवत्खण्ड रहेसम्म बिर्सिँदैन ।
प्रिय राजेन्द्र दाइ, सम्झनाको साँघुमा अक्षरहरूको पुल हाल्ने हिम्मत जुटाएछु भने फेरि भेटौँला ! अहिलेलाई यत्ति नै । एक अँजुली पुष्पाञ्जलीसहित हार्दिक श्रद्धासुमन !