site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपाली निर्देशकको क्षमता कति ?
तस्बिर : निश्चल बस्नेतको फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

अहिलेको रोजाइका निर्देशक को हुन् भनेर खोजिए सम्भवतः रामबाबु गुरुङ, दीपेन्द्र के खनाल, प्रदीप भट्टराईलगायत व्यक्तिको नाम आउला । अहिले काम पाइरहने र धेरै निर्माताको ‘हिटलिस्ट’मा रहेका निर्देशक हुन् यी । त्यसो त यीमध्ये पनि सिनेमाको लगानी शतप्रतिशत सुरक्षित गर्ने निर्देशक प्रदीप भट्टराई मात्र हुन् । उनले अहिलेसम्म निर्देशन गरेका चारै चलचित्रले लगानी सुरक्षित गरेका छन् । यो सफलता गुरुङ र खनालले पाएका छैनन् । तर पनि उनीहरू नेपाली सिने नगरीमा निर्माताले खोज्ने निर्देशक हुन् । उनीहरूप्रति निर्माताको भरोसा छँदै छ ।

चाहे क्रिएटिभ भनौँ वा कमर्सियल सबै सिनेमाको उद्देश्य कमाउने हुन्छ । होइन भने ‘क्रिएटिभ’ छवि बनाएका नवीन सुब्बा हुन् वा छिरिङ रितार शेर्पा उनीहरूले अहिलेसम्म कतै पनि आफ्ना सिनेमाको उद्देश्य पैसा कमाउने होइन भनेका छैनन् । उनीहरूले प्रस्ट भन्दै आएका छन्, ‘सिनेमा बिजनेस नै हो, तर आर्टको ।’ अर्थात्, कलाभित्र बिजनेस खोज्नुपर्छ भन्ने उनीहरूको मान्यता छ । कलाभित्र जसले बिजनेस खोज्न सक्छ, उही नै थप सफल निर्देशक दरिन्छ । तर, सबै राम्रा चलचित्र बक्सअफिसमा हिट हुन्छन् भन्ने हुँदैन ।

बर्सेनि बनाइने चलचित्रमध्ये करिब ९५ प्रतिशतले लगानी सुरक्षित गर्दैनन् । यसले चलचित्रमा गरिएको लगानी उच्च जोखिममा रहेको प्रस्ट संकेत गर्छ । त्यसो भए यसको जिम्मेवार को ? क्याप्टेनसिपका हिसाबले निर्देशक, जसले समग्र चलचित्रको नेतृत्व गर्छ । विषय छनोट, कथा र स्क्रिप्ट, कलाकार, सिनेमेटोग्राफर, ब्याकग्राउन्ड स्कोरर, कलरिस्ट, गीतसंगीत सबैको छनोट तथा लोकेसनको हन्ट निर्देशकले गर्छ । त्यसैले नैतिक रूपमा यसको जिम्मेवार निर्देशक नै हो । आंशिक रूपमा नैतिक जिम्मेवारी कलाकार, लेखकसहित अरूले पनि लिनु भिन्नै कुरा हो । निश्चय नै उनीहरू समेत सिनेमाको सफलता र असफलता दुवैको भागीदार हुन् । तर, मुख्य जिम्मेवार निर्देशक नै हो, चाहे उसले स्वीकार वा अस्वीकार गरोस् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली सिनेमा क्षेत्रलाई नजिकबाट बुझ्ने धेरैलाई थाहा छ, नेपालमा अधिकांश नयाँ निर्माता दोहोरिँदैनन् । दोहोरिएका सीमित निर्माताले निर्देशक दोहोर्‍याउँदैनन् । यसले नेपाली निर्देशक बजारले पत्याउने सिनेमा बनाउन सक्दैनन् भनेर निर्माताले मूल्यांकन गरिरहेको प्रस्ट्याउँछ । सिनेमा निर्देशकीय माध्यम हो । निर्देशकले जे चाहन्छ त्यो भन्न ऊ स्वतन्त्र छ । त्यसैले उसमा निर्माता मात्र होइन, जो कसैले पनि प्रश्न उठाउँन सक्छ । र, पाउँछ पनि । 

तर, यो सत्यलाई पनि भुल्न हुँदैन, चलचित्र निर्देशकीय माध्यम हो । उसको हातमा ‘चेन अफ कमान्ड’ हुन्छ । ऊ चलचित्र बनाउन स्वतन्त्र हुन्छ । यो त भयो चलचित्र निर्माणको विश्वव्यापी मान्यता, चुरो कुरा नेपालमा निर्देशक निर्देशनमा कति स्वतन्त्र हुन्छ भन्ने हो । नेपाली चलचित्रमा सोलो प्रोडुसर कमै हुन्छन् । पाँच एनआरएनए मिलेर २५/२५ लाख रुपैयाँ जम्मा गरेर सिनेमा बनाउने चलन छ । पाँचजनाको पाँच इन्ट्रेस्ट हुन्छ । कथादेखि कलाकारसम्ममा उनीहरूको रोजाइ हुन्छ । उनीहरू विदेशमा, निर्देशक नेपालमा । एउटाको एउटा धारणा, अर्कोको अर्कै जिकिर । एउटालाई बुझाए अर्कोलाई नसकिने, अर्कोले बुझे तेस्रोले प्रश्न उठाउने । केही समययता धेरै निर्देशकले भोगेको समस्या यही नै हो । काम नगरौँ, सोलो निर्माता पाउनै गाह्रो । गरौँ, चलचित्रको कथा के हुने, कलाकार को राख्नेसम्मको निर्णयमा निर्माताको हस्तक्षेप । कति त आफैँ निर्माता, आफैँ हिरो/हिरोइन ।

Global Ime bank

चलचित्र आफैँमा कमर्सियल र नन्कमर्सियल हुँदैन । कमाउने चलचित्र नै कमर्सियल हो । तर, नेपालमा बलिउड फर्मुलामा बनाइएका चलचित्रलाई कमर्सियल, गीत र फाइट नराखी बनाइएका सिनेमालाई नन्कमर्सियल भन्ने गरिएको पाइन्छ । यो सम्भवतः सामान्य बुझाइका लागि मात्र हो, कुनै सूत्र होइन ।

निर्देशक सुरुदेखि नै दबाबमा हुन्छ । चलचित्र कसरी कमर्सियल बनाउने भन्ने निर्माताको दबाबमा ऊ कथादेखि कलाकार छनोटसम्म हुन्छ । पूर्वमा यो रुचाइन्छ भनेर पूर्वको टेस्ट, पश्चिममा रुचाइन्छ भनेर पश्चिमको टेस्ट चलचित्रमा हालिन्छ । यो कलाकार एडल्टमा र यो युवापुस्तामा लोकप्रिय छ भनेर कलाकार छनोट गरिन्छ । कथाले कस्तो कलाकार माग्छ त्यो परको कुरा भयो । बजारमा को चलेको छ भनेर कलाकार छनोट गरिन्छ । अन्ततः चलचित्र ‘उँट’जस्तो बन्छ ।

सामान्य बुझाइको हिसाबमा नेपालमा आर्ट मुभीको समूहमा पर्ने ‘कबड्डी’ सिरिजले बक्सअफिसमा अनपेक्षित कमाइ गर्‍यो । कमर्सियल भनेर बनाइएका सिनेमाले भन्दा धेरै कमाउने ‘कबड्डी’लाई कसरी नन्कमर्सियल भन्ने ? त्यसैले कमर्सियल/नन्कमर्सियलभन्दा पनि अब्बल र इमानदार निर्देशक छनोट गरेर उसलाई भरोसा गर्दै स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुपर्छ । यो स्वतन्त्रतामा क्षमतावान् निर्देशकले राम्रो काम देखाउन सक्छन् । यसको उदाहरणका रूपमा ‘लुट’, ‘पशुपतिप्रसाद’लाई लिन सकिन्छ । यी सिनेमा निर्देशक र केही मन मिल्ने साथीले आफ्नै खल्तीबाट पैसा निकालेर बनाएका थिए । ती सिनेमा समीक्षा र बक्सअफिस दुवैमा सफल भए । तर, तिनै निर्देशकले जब अर्काको पैसामा सिनेमा बनाए, उनीहरू अपेक्षित सफल हुन सकेनन् । त्यसैले स्वतन्त्र वातावरणमा काम गर्न नपाइरहेको अहिलेको अवस्थाबाट नेपाली चलचित्रलाई बाहिर ल्याउनुपर्छ, ताकि निर्देशकले विनारोकटोक आफ्नो ब्रह्मले जे देख्छ त्यस्तै चलचित्र बनाउन सकोस् । त्यसैले त भनिएको हो– कलाको कुनै आकार हुँदैन, निराकार हुन्छ । जब यसलाई आकारमा सीमित गर्न खोजिन्छ । त्यसको सिर्जनशीलता पनि खुम्चिन्छ ।

तुलनात्मक रूपमा नेपाली चलचित्रको इतिहास अरू देशको भन्दा छोटो होला । तर, ६० वर्ष आफैँमा छोटो समय होइन । भलै, बीच (पञ्चायतकाल)को राजनीतिक उतारचढावले यसको विकासमा केही अवरोध सिर्जना गर्‍यो होला । यही भनेर हामीले अपेक्षित काम गर्न सकेनौँ भन्दै उम्कन खोज्दैमा कमजोरी ढाकिँदैन । हामी अब्बल कोटीका मेकर हौँ, तर समयले साथ दिएन भनेर इज्जत जोगिँदैन । कसैले विश्वास गरिदिँदैन । कमलको फूल हिलोमै फूल्ने हो । पत्थरको कापबाटै विशाल वरवृक्ष पलाएर आफ्नो बडेमाको पहिचान बनाउने हो । त्यसैले अब नेपाली सिनेमा क्षेत्र हिलोभित्रै फुल्नुपर्छ । अप्ठ्याराहरूबीच नै अब्बल काम गरेर आफूलाई प्रमाणित गर्नुपर्छ ।

कथा लेख्न लेखकलाई कमै प्रोडुसरले पर्याप्त पैसा दिन्छन् । लेखकलाई दुई महिना पनि समय उपलब्ध हुँदैन । विषयको रिसर्चका लागि समय हुँदैन । समय र बजेट दुवैको अभावमा अक्सर निर्देशकले नै सिनेमाको स्क्रिप्ट लेख्छन् । यी थुप्रै समस्याबीच नेपालमा सिनेमा बनाइँदै छ । स्रोतसाधनको अभाव, सानो बजार, घाटाको उच्च सम्भावनाबीच पनि निरन्तर यही क्षेत्रमा रहिरहनु नेपाली निर्देशकको एक अर्थमा क्षमता हो । लगातारको घाटाबीच समेत सम्भावना देखेर यही क्षेत्रमा रहिरहनु यहाँका निर्देशकको अब्बल मनोबल प्रशंसाको विषय हो ।

सिनेमामा भएको विका
अभाव र सीमितताबीच धिमा गतिमा अगाडि बढिरहेको क्षेत्र हो, नेपाली चलचित्र । क्षितिजमा देखिएको आशाको किरण पछ्याइरहेको क्षेत्र हो यो । ६ दशकदेखि नेपालमा चलचित्र बनाइँदै छ । नेपाली भूमिमा नेपाली भाषामा ‘आमा’यता थुप्रै चलचित्र तयार भइसकेका छन् । योबीचमा थुप्रै जानराका सिनेमा बनाइएको छ । मेलो ड्रामादेखि हरर जनरासम्मका चलचित्र बनिसकेका छन् । धार्मिक, ऐतिहासिक, राजनीतिकदेखि सामाजिक विषयसम्मका चलचित्र निर्माण गरिएको छ । एकाध बायोपिक पनि निर्माण भइसकेका छन् । भलै, तिनले प्रशंसा बटुल्न नसकेको तितो सत्य हामीसामु छर्लंग छ ।

उपलब्ध सीमित साधनस्रोतबीच पनि सिनेमा निर्माणले निरन्तरता पाउँदा चलचित्रमा विविधता देखिन थालेको छ । यौनमनोविज्ञानदेखि सशस्त्र जनयुद्धसम्मका कथा नेपाली चलचित्रले उठान गरिसकेका छन् । नालापानीको कथादेखि भीमदत्तका बारेमा सिनेमा बनाइएको छ । ऐतिहासिक विषयमा ‘वसन्ती’देखि तेस्रोलिंगीका विषयमा ‘सकुन्तला’ बनिसकेका छन् । सफल साहित्यिक कृति ‘मुनामदन’, ‘मसान’, ‘समरलभ’, ‘तीनघुम्ती’मा सोही नाममा चलचित्र प्रदर्शन भइसकेको छ । यी चलचित्र कति सफल भए/भएनन्, त्यो समीक्षाको विषय हो । सफल साहित्यिक कृतिमा बनाइएका अधिकांश सिनेमा असफल यथार्थ हो । कृतिमा चलचित्र बनाउने निर्देशकका रूपमा दरिएका नीर शाह स्वंय कमजोरी स्वीकार्न हिचकिचाउँदैनन् । कृतिमाथि सिनेमा बनाउँदा आफूबाट यथेष्ट कमजोरी भएको उनी सार्वजनिक मञ्चहरूमै स्वीकार गर्छन् ।

तर पनि निर्देशक थाकेनन्/थाकेका छैनन् । सुरुमा नेपालमा फिल्म कलेज नै थिएन । अहिले पनि फिल्म कलेजको संख्या उल्लेख्य छैन ।

यस्तो अवस्थामा समेत विचलित नभएको नेपाली सिनेमा उद्योगले केही यस्ता चलचित्र दियो, जसले नेपालमा ठूलै बजार रहेको प्रमाणित गरिदिए । केहीले विदेशी बजारमा पनि प्रतिस्पर्धा गर्ने हैसियत राख्न सक्छन् भन्ने सन्देश दिन सफल भए । ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिजले मास अपिलिङ सिनेमा बनाउन सके २० करोड रुपैयाँ नेपाली भूमिबाटै उठाउन सकिने उदाहरण प्रस्तुत गरे ।

‘कालो पोथी’, ‘ह्वाइट सन्’ले गिनेचुनेकै इन्टरनेसनल फिल्म फेस्टिभलमा मेन क्याटोरीमै आफूलाई प्रतिस्पर्धामा उभ्याए । केही हदसम्म सफल पनि भए । ‘मुकुण्डो’, ‘नुमाफुङ’, ‘बुलबुल’, ‘डाइङ क्यान्डल’, ‘ऐना झ्यालको पुतली’लगायत केही चलचित्रले केही विदेशी अवार्डमा आफूलाई पुर्‍याए । नेपाली चलचित्र उद्योगको प्रतिनिधित्व गरे ।

अस्कार अवार्डमा भने नेपालले त्यति ठूलो सफलता पाउन सकेको छैन । ‘हिमालय–क्याराभान’ अन्तर्राष्ट्रिय विधातर्फ मनोनयनमा समेटिएको थियो । यो सिनेमा पनि फ्रान्सेली निर्देशक एरिक भ्यालीले बनाएका हुन् । यसलाई हाम्रो आफ्नै चलचित्र मान्ने कि नमान्ने त्यो बहसको विषय हो । योबाहेक नेपालबाट ‘मुकुण्डो’, ‘मुनामदन’, ‘बसाइँ’, ‘सुनगाभा’, ‘झोला’, ‘टलकजंग भर्सेस टुल्के’, ‘कालो पोथी’, ‘ह्वाइट सन्’, ‘पञ्चायत’, ‘बुलबुल’ र ‘ऐना झ्यालको पुतली’लाई अस्कार अवार्डमा सिफारिस गरिएको थियो । यी कुनै सिनेमा मनोनयनमै परेनन् । यद्यपि, नेपाली चलचित्रले नयाँ विषय पस्कन थालेका छन् । आफ्नै माटोका मौलिक कथा निर्देशकले भन्न थालेका छन् ।

अबको बाटो
जसरी आमनेपाली समुदाय गरिबीको रेखामुनि अभावैअभावमा बाँचिरहेको छ, त्यही अवस्थाबाट नेपाली चलचित्र उद्योग गुज्रिरहेको छ । यही समाजको एक हिस्सा भएकाले समाजभन्दा बाहिर बसेर चलचित्र न बनाइयो न अब बनाइन्छ । अभावबीच जसरी दैनिक गुजारा चलाइँदै छ, त्यस्तै अवस्थाबाट नेपाली सिनेमा पनि अछुतो छैन ।

नेपाल कथाको उपलब्धताको हिसाबले भर्जिन ल्यान्ड हो । भलै, ती कथा उठान गरियो/गरिएन त्यो छलफलको विषय हो । तर, गरिएन भन्दा नेपाली चलचित्रका लेखकले चित्त दुखाउनु पर्दैन । कथा मात्र होइन, नेपाली चलचित्रले मार खाने साउन्डमा पनि हो । नेपाली सिनेमाको साउन्ड नराम्रो रहेको निर्विवाद सत्य हो । यदि, नेपाली सिनेमालाई राम्रो बनाउने हो भने साउन्डलाई नजरअन्दाज गर्न सकिँदैन । अक्सर अब्बल चलचित्र उद्योग भएका देशमा कथाजत्तिकै साउन्डलाई पनि महत्त्व दिइन्छ । नेपालमा साउन्डलाई खासै प्राथमिकतामा राखिँदैन । एक करोड बजेटको चलचित्रमा दुई प्रतिशत बजेट पनि साउन्डमा मुस्किलले छुट्ट्याइन्छ, जबकि विकसित देशमा साउन्डको स्क्रिप्ट तयार पारिन्छ । साउन्ड इन्जिनियर लेखकसँगै बस्छन् । हाम्रोमा आजसम्म यो परिकल्पनाकै विषय हो । निर्देशकले यसमा खासै ध्यान दिएको पाइँदैन ।

साउन्ड सिनेमाको ६० प्रतिशत अंश हो । साउन्डबिनाको चलचित्र परिकल्पना गर्न सकिँदैन । त्यसो भए निर्देशकले किन साउन्डमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छैनन् ? चलचित्र राम्रो बनाउने हो भने साउन्डलाई उपेक्षा होइन, प्राथमिकतामा राख्नुपर्छ । अन्यथा, सिनेमा उद्योगले फड्को मार्दैन । अहिले पनि नेपाली चलचित्र डबिङमै रमाइरहेका छन् । ९५ प्रतिशत सिनेमा छायांकन सकेको महिनौँपछि स्टुडियोमा डबिङ गरिन्छ । छायांकनस्थलको सिचुएसन र इमोसन कलाकारले भुलिसकेका हुन्छन् । नभुले पनि सयौँजनाको बीचमा को–एक्टरको साथमा रहेर गरेको अभिनयको इमोसन कसरी कलाकारले बन्द स्टुडियोभित्र फिल गर्न सक्छन् ? सक्तैनन् । त्यसैले त नेपाली सिनेमा धेरै आर्टिफिसियल देखिन्छ ।

कथा चलचित्रको मेरुदण्ड हो । यसमा मिहिनेत गर्नु अहिलेको आवश्यकता हो । निर्देशकले एक हप्तामा कथा लेखेर अर्को साता खिच्न सुरु गर्ने परिपाटीको अन्त्य हुनुपर्छ । जसरी मान्छेको शरीरमा मेरुदण्ड सबल नभए उभिन सकिँदैन, त्यस्तै कथा नै बलियो नभएसम्म सिनेमा राम्रो हुँदैन । कथाको गहिराइमा पुग्न त्यसको सोधमा ध्यान दिनुपर्छ । चार पर्खालभित्र बसेर काल्पनिक कथा लेख्दैमा सधैँ सबै चलचित्र रुचाइन्छ भन्ने छैन । कथा जति सशक्त हुन्छ, चलचित्र पनि त्यति नै बलियो हुन्छ ।

विश्वका ठूला सिनेमा उद्योगको कथा भन्ने आफ्नै शैली छ । चाहे हलिउड, बलिउड होस् वा चिनियाँ, कोरियाली वा इरानी, सबैको कथा भन्ने आफ्नै तौरतरिका छ । ती सिनेमा भाषा म्युट गरेर भिडियो हेरे पनि कुन देशको भनेर छुट्टयाउन सकिन्छ । तर, नेपाली चलचित्रले अझै आफ्नो पहिचान बनाउन सकेको छैन । नेपाली सिनेम कस्तो हुन्छ भनेर विदेशीले हेर्न खोजे कुन चलचित्र देखाउने ? सायद कसैसँग यसको जवाफ छैन । किनकि, आजसम्म हामी कहिले बलिउडको त कहिले अलि परका देशको सिनेमा निर्माणको शैली अवलम्बन गरिरहेका छौँ । सिनेमाको आफ्नै भाषा हुन्छ भनिन्छ । तर, नेपाली चलचित्रको भाषा कुन हो ? जवाफ कसैसँग छैन । नेपाली भाषामा डबिङ गर्दैमा मौलिक सिनेमा हुँदैन । आफ्नो सिनेमा विदेशमा चिनाउन मास्टर पिस चलचित्र बनाउनुपर्छ ।

अहिले केही सिनेमा स्कुल सञ्चालनमा छन् । त्योभन्दा पनि महत्त्वपूर्ण त हातहातमा विश्व सिनेमा छन् । सहजै उपलब्ध एन्ड्रोइड फोन, सुलभ मूल्यको इन्टरनेट र विश्वभरका सिनेमा उपलब्ध हुने डिजिटल प्लेटफर्म नै वास्तवमा सबैभन्दा ठूला सिनेमाका कलेज हुन् । अहिले सिनेमा पढ्नु हुँदैन भन्ने अभिभावकको संख्या घटिसकेको छ । सिनेमा निर्देशन होस् वा अभिनय दुवैमा नयाँ पुस्ताको आकर्षण उल्लेख्य छ । वर्ल्ड सिनेमा हेरेर हुर्किरहेको यो पुस्ताले सिनेमामा ठूलो फड्को मार्नुपर्नेछ । घिसिपिटी सिनेमा निर्माण भइरहेको उद्योगलाई डोर्‍याउने अबको पुस्ताले गुणात्मकतामा ध्यान दिनुपर्नेछ । विश्व बजारका चलचित्र हेरेर त्यही क्वालिटीको सिनेमा बनाउनुपर्नेछ । भारतका सिनेमा हेरेर अघिल्लो पुस्ताले त्यसैलाई पछ्याएजस्तो अहिले पश्चिमाका चलचित्र हेरेर कपी गर्ने छुट छैन । एउटा/एउटा सट हेरेर कुन सिनेमाको कसले कपी गर्‍यो खुट्ट्याउन सक्ने नेपाली दर्शकलाई अब पनि ढाँट्छु भनेर निर्देशकले सोचे ऊ स्वयं मूर्ख बन्नेछ । लगानी डुबाउनेछ । त्यस्ता मेकरलाई अबको पुस्ताले सम्मान होइन, बहिष्कार गर्नेछ । र, पश्चिमा सिनेमा हेरेरै चलचित्रको भोक मेटाउनेछ ।

चलचित्र साहित्यको एउटा विधा हो । साहित्यको न कुनै निश्चित भूगोल हुन्छ न भाषा र अवरोध । त्यसैले विश्व बजारमा पुग्ने र खरो प्रतिस्पर्धामा उत्रन सक्ने आफ्नै चलचित्र बनाउन सक्नु अबको पुस्ताको चुनौती हो । सिनेमाको विश्व मानचित्रमा नेपाली सिनेमाको आजसम्म अस्तित्व छैन । यो रिक्त मानचित्रमा आफू उभिन सक्ने अवसर पनि त्यति नै धेरै छ । जहाँ कुनै कुराको शून्य उपस्थिति छ, त्यहाँ अपार सम्भावनाको अवसर पनि हुन्छ । त्यसैले अब आउने मेकरका लागि जति चुनौतीको चाङ छ, त्यति नै अपार अवसरको पनि । मात्र अवसरको ढोका उघार्न पर्याप्त अध्ययन र कडा मिहिनेतको खाँचो छ । बजारले आफैँ खोज्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement