“ए ! तँ पनि आइसकिछस् ?”
“मूला ! म आएको आधा घन्टा भैसक्यो ।” वीरेले रामेलाई जवाफ दियो ।
“झिक्न त एउटा बिँडी !” रामेले भन्यो ।
“साथ छैन किनुँ है त !” वीरे खल्ती छाम्दै पसलतिर गयो ।
“ला बिँडी ! आइज सँगै बसौँ । दूध ल्याउने अलि बेला भा’छैन ।” वीरेले रामेतिर बिँडी बढाउँदै भन्यो ।
“के छ त तेरो मालिकको हालचाल ? हामी नोकर मोराको हालखबर राम्रो, नराम्रो पनि मालिककै हातमा भर पर्ने भइसक्यो हगि ? अस्ति नै हङकङबाट मेरा बाउसाबले सुन ल्याथे हगि । झन्डै पक्डेको रे ! उनी ठूला मान्छे भएरमात्रै रे, नत्र चिलिम् हुने रे !” वीरे बिँडीको सर्को तान्दै चुप भयो ।
“भुत्रो हुन्छ यो ठाममा चिलिम् ! मेरा साउले नाडीदेखि पाखुरासम्म पचास ओटा घडी ल्याथे बुझिस् ! भन्सार कि केमा हो, पिलेनबाट ओर्लने–बित्तिकै समात्न खोजेको थियो रे ! तर, उनले त्यहाँका हाकिमलाई आफ्नो नाम र फोन नम्बर दिएछन् । बेलुकी हाकिम साउकाँ आए, दुई घडी लगे, कुरो चुप ! यस्तै हुन्छ बुझिस् ! साउ त चुरोट पनि अम्रिकाको खान्छ । हामी भने आशा चुरोट खान नपाएर बिँडी सुइँक्याउनुपर्छ । मलाई त बस्नै मन लागेको छैन नोकरी गरेर । बरु विदेशिएर जान पाए नयाँ ठाम त देखिन्थ्यो ।” रामेले भन्यो ।
“के गर्नु ! बुझिस् ! पैंतीस पुगिसकियो, तैपनि घरबार छैन । बिहेसम्म गरिदिएनन् मालिकहरूले । महिनाको दस रुप्पें पाइन्छ, बिँडी, चियामा नै त्यसै सकिन्छ । के गरेर धन जम्मा गर्ने ? के गरेर घरबार जोड्ने ? यस्तै चालले त हामी सधैँ नोकरको नोकर नै हुन्छौँ ।” वीरेले न्याउरो मुख लाएर भन्यो ।
“अझै दूध ल्याएको छैन ?” कुनै नचिनेको अनुहारकाले उनीहरूसँग प्रश्न गर्यो । वीरे बोल्ने मनस्थितिमा थिएन । अर्थात्, अमिलो जिन्दगीको स्वादले ऊ दिक्क थियो ।
“ल्याउला नि केही बेरमा !” रामेले प्रश्नकर्तालाई पन्छाउन खोज्यो ।
“बुझिस् रामे । म त अब कुनै अम्रिकन काँ जागिर पाइन्छ कि, सोधखोज गर्छु । हेर । बिहान पाँच बजेदेखि बेलुकी एघार बजेसम्म घोटिनुपर्छ । खस्रो खानुपर्छ, दुब्लो पैसा पाइन्छ । मसिनुको भात र मासु त नाकले सुँध्नेमात्रै हो । सागको तरकारी, उसिनेको चामलको भात ! अनि के मोटाउनु ? बरु कतै कुइरे मोराहरूको जागिर पाए, उनीहरूले खानेजस्तै खान पाइन्थ्यो कि ! फेरि उनीहरूको एकरुप्पे बराबर हाम्रो त कति पो हुन्छ रे ! निकै हुन्छ रे निकै ! त्यसै भएर त हो नि ! एक रुप्पे पर्ने फर्सीलाई पाँच रुप्पे तिर्छन् । उनीहरूलाई पैसाको केही फिकर हुँदैन रे ! त्यसैले उनीहरू पैसा पनि धेरै दिन्छन् । लुगा हेर ल ! वर्षको दुई जोर हालिदिन्छन् । टिकाउन नै मुस्किल । कहिले दसैँ आउला भनी लुगा टाल्न थाल्नुपर्छ । अम्रिकनले भए त टालेको लाउनै दिँदैनन् रे ! अनि त केही पैसा पनि जम्मा हुन थालिहाल्छ !” वीरेले सन्तुष्टिको सास फेर्दै बोल्यो ।
वीरेका कुराहरूमा रामे पटक्कै सहमत नभएको उसको अनुहारले नै बताउँथ्यो । सायद उसको सोचाइ बेग्लै थियो । अझ भनौँ उसले अर्कै रेखा कोर्न चाहेको भान हुन्थ्यो । सायद ऊ आफ्नै तरिकाले बाँच्न चाहन्छ । हुन सक्छ उसमा आत्मगौरवताले चिमोटेको होस् । त्यसैले ऊ स्वतन्त्र भएर बाँच्न अर्थात् दासत्व जीवनको नै अन्त्य गर्न चाहन्छ । तर, वीरेको बाँच्ने मोड दासत्वको दिशामा नै छ र रामे भने यो दिशाको परिवर्तन चाहन्छ ।
“... ...!” रामेले वीरेको कानमा भन्यो ।
“हुन त सकिएला भाइ तर गारो छ । यी धनी गोराहरूको पहुँच जहाँसुकै छ । केही गरी फेला पारे भने... ..!” वीरे जेलको कल्पनामा डुबेर होला बोल्दाबोल्दै अड्यो ।
“मरी लानु के छ र ! दुई छाक भात, वर्षको दुई जोर कट्टु र कमिज, एक जोर चप्पल र मैनाको दस रूप्पे न हो । कि त गर्यो छोराले हस्तिनापुरको रजाईं, कि त भयो चपरीमुनिको बास ! जेलाँ परे पनि खान पाई नै हालिन्छ । ऑट हो बुझिस् !” रामेले ऑटिलो स्वरमा दृढ भएर भन्यो ।
“ल ! वीरे मोरो त गफ गरेर पो बसिरा’ रै’छ ।” छोटो तर सफा घाँगर लाएकी सानी केटी अगाडिका दाँत फुक्लेका गिजा देखाएर रिसाएको पारामा हाँसी ।
“मैयाँ कता स्वारी हुन ला त ?” वीरेले त्यो सानी केटीलाई परम्परागत श्रद्धाका साथ सोध्यो ।
“कहीँ पनि हैन । ऊ त्याँ साथी काँ !” भन्दै ऊ अगाडि बढी ।
“सायद यो तेरो मालिककी छोरी होली हैन ?” रामेले सोध्यो ।
“हो ।” वीरेले सहमति जनायो ।
“हरे ! तिनीहरूका अनुहाराँ कस्तो कान्ति छ !”
“के गर्छस् त रामे ! रिस गरेर हुँदैन । ऊ बेला बाउबाजेले कमाइदिएनन् । यिनीहरू त राणा पालाँदेखिन् नै उग्र धनी छन् । राणा पालाँ यो केटीको हजुरबाउको बाउ मालका सुब्बा थिए रे ! ऊ बेलाँ सुब्बा पाउनु त अहोभाग्य थियो रे बुझिस् ।” वीरेले भन्यो ।
“आफूले त बाउआमा नै देखिएन ।” रामेले दिक्कलाग्दो शब्दमा भन्यो ।
“धनी हुनु पनि कर्मकै कुरो हो ।” वीरेले बिस्तारै थप्यो तर रामे बोलेन ।
सायद रामेलाई कर्मको कुरा चित्त बुझेको थिएन क्यारे । उसको अनुहारमा समस्यै समस्या झल्कन्थ्यो र कता–कता सूरा जोस र आँटहरू पनि बेलाबेलामा अनुहारमा झल्कन्थे । यति बेला दुवै मौन थिए । सायद आ–आफ्नो जीवनको मोडले यिनीहरूलाई सोच्न लगाएको होला ।
रामेको चरित्रमा एउटा अनौठो गुण थियो । ऊ आफूले आँटेको काम गरिकन छाड्थ्यो । काम गर्न र समय पर्खन पनि ऊ खप्पिस थियो र आएको मौकालाई राम्ररी उपयोग गर्थ्यो ।
वीरे अलि कम ऑटिलो र कम जोसिलो मान्छे हो । रामेले उसलाई बेलाबेलामा सुर्याइरहन्छ । अघि रामेले कानमा खुसुक्क भनेको मालिकको एक–दुई हजार दुवैले लिएर भाग्ने र अर्कै सहराँ रिक्सा किनेर चलाउने कुरालाई ऊ आफ्नै विचारले छाम्दै छ । सायद सोच्दै छ । पैसा लिएर अर्कै सहराँ जाने, रिक्सा किन्ने, बिहे गर्ने र घरबार गरेर जिन्दगी स्वतन्त्रता साथ बिताउने ।
वीरेले रामेलाई बिस्तारै कोट्यायो र भन्यो, “हुन त तैँले भनेको पनि ठिकै हो । तर, यस्तो दागी काम हामीले गर्नुहुँदैन । अहिलेसम्म यत्रो दुःख गरेर जिन्दगी बिताइयो, अब चोरी गर्ने ? यो त तेरो क्षणिक जोस हो । यस्ता जोसले धोखा खाइन्छ । बरु थोरै पैसा दिने यी मालिकहरूसँग पैसा बढाइदेऊ भनेर झगडा गरौँ । नोकरी गर्ने कामै छाड्नेभए अरू कुनै काम गरौँ । जसबाट कठिन परिश्रमले धन जम्मा गर्न सकियोस् । हाम्रो जीवन नै परिश्रमविना चलेको छैन भने राम्रो परिश्रम गरेर पनि त पैसा कमाउन सकिन्छ नि !”
रामे बिस्तारै हाँस्यो र भन्यो, “कुन काम गर्ने त ?”
“पख ! त्यसका लागि अझै सोचौँ !” वीरेले जवाफ दियो ।
“दूध आयो ! दूध आयो !!” साना केटाकेटीहरू र अरू दूध लिन आएकाले हल्ला गरे ।
वीरे र रामे पनि जर्याकजुरुक उठेर आ–आफ्नो सिसीको लाइन बढाउन थाले ।
(कथाकार तिमिल्सिनाको ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ बाट ।)