site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोको बुनेरै ४५ वर्ष बिताएका साइँला चेपाङ
SkywellSkywell

मलेखु (धादिङ) । धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइँला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उनको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।

आँगनको डिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदै छ । डोको बेचेरै जीविकोपार्जन गरिरहेका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।

“पहिला डोको, भकारी जति पनि बिक्थ्यो । बोकेरै बजार लगेर रू १० मा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो,” चेपाङले भने, “अहिले बजारमा डोको बिक्न छोड्यो ।” चौकीभञ्ज्याङ र आसपासका सबैको पुर्ख्यौली पेसा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेका उनले बताए ।

KFC Island Ad
NIC Asia

चेपाङ कतिले पुर्ख्यौली पेसा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुर्ख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताँछन् । उनका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ ।

डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ ।

Royal Enfield Island Ad

“हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो । अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेसा गर्न उमेरले दिँदैन,” उनले भने, “अहिले डोको नै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्‍याउन पनि सक्दिनँ । किन्न व्यापारी गाउँ आउदैनन् । पुर्ख्यौली पेसा भनेर मात्रै गरिरहेका हौँं । डोको बुनेर दुई छाकको जोहो गर्नै मुस्किल छ ।”

विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा रू १० सम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाए । “त्यस समयमा रू दुईमा एक पाथी नून, रू ६ मा एक लिटर खाने तेल पाइन्थ्यो । दैनिक १०/१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो”, उनले भने, “अहिले बजारमा डोको बिक्री हुँदैन । डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ ।” उनका अनुसार पहिला बजारको पनि कुनै समस्या थिएन ।

उनकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाइन् । “त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ दुई सयमा बिक्न थाल्यो । त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो,” तिलकुमारीले भनिन्, “अचेल त किन्ने मान्छे नै आउँदैनन् । भोलिपर्सि कतै माग भइहाल्यो भने बेचौँला भन्ने झिनो आशा छ ।”

डोकोको आकार हेरेर रू ३०० देखि रू ५०० सम्म र खाङ्ग्रेको रू एक हजारसम्म बिक्री हुनुपर्ने नेवारबासका ४० वर्षीय रामबहादुर प्रजाले बताए । निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उनको भनाइ थियो । “गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । ६ देखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ,” उनले भने ।

प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै सङ्कटमा परेको जितबहादुर चेपाङले बताए । पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उनको भनाइ थियो ।

“गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन्,” उनले भने, “अहिले गाउँमा सडक आइपुगेका छन् । मानिसले बोक्ने भारी सवारीले बोक्छन् । डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन् । यसले हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको हो ।”

चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मूख्य पुर्ख्यौली पेसा डोको बुनाइ हो । तर, पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro