site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा मुख्यमन्त्रीको ‘म्युजिकल चेयर’ : कार्कीसँग कांग्रेसले सहकार्य नगर्ने, राप्रपाले नपुग्ने

विराटनगर । अदालतको परमादेशबाट अबको ४८ घण्टाभित्र नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्दै छन् । प्रदेश सभामा ठूलो दलको हैसियतमा कार्की मुख्यमन्त्रीमा नियुक्त हुने छन् । 

तर, मुख्यमन्त्री बने पनि सरकार विस्तारदेखि विश्वासको मतसम्मको प्रक्रिया कार्कीका लागि सहज छैन । कार्कीले विश्वासको मत लिन नसक्दा कोसी प्रदेशमा मुख्यमन्त्री बन्ने र हट्ने क्रमको ‘म्युजिकल चेयर’ जारी नै रहने छ ।

सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते सभाबाट लिएको विश्वासको मत बदर गर्दै कार्कीलाई मुख्यमन्त्री बनाउन बिहीबार परमादेश दिएको हो । कार्की पहिलोपटक नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुल ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । गत पुस २४ गते ‘बलियो मुख्यमन्त्रीको’ नियुक्त भएका उनी १७५ दिनमै कुर्सीबाट ओर्लन पर्‍यो । असार १५ गते विश्वासको मत लिँदा एमाले र राप्रपाका ४६ सांसदको मात्र समर्थन पाए । 

कार्की नेतृत्वको पहिलो सरकार ढलेयता कोसी प्रदेशमा मुख्यमन्त्री बन्ने, बदर हुने र फेरि नियुक्त हुने ‘म्युजिकल चेयर’को खेल जारी छ । एक मुख्यमन्त्री बन्ने, फेरि कुर्सीबाट उत्रनुपर्ने, फेरि नियुक्ति हुने क्रम जारी छ । अब कार्की मुख्यमन्त्री नियुक्त हुँदा असार तेस्रो सातायता कोसीमा चारपटक मुख्यमन्त्री फेरबदलको क्रम चलिसकेको हुने छ । 

सभामुख बाबुराम गौतमले राजीनामा दिएर गठबन्धन नेतृत्वको सरकार गठनमा हस्ताक्षर गरेपछि ४७ सांसद संख्या पुगेको छ । तर, एमालेका ४० र राप्रपाका ६ सांसदसमेत जोड्दा ४६ पुग्छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको एक संसदीय समिति गठबन्धनबाट प्राप्त गरिसकाले उसले कोसी प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने नगर्ने भन्नेमा द्विविधा देखिएको छ । सरकार बन्न नसकेको अवस्थामा प्रदेशलाई ‘डेडलक’को अवस्थाबाट निकास दिने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केहीअघि विराटनगरमा पत्रकारहरूसँग बताएका थिए ।

“ठूला दलहरूले नसकेको र सरकार दिगो जान नसक्ने भए हामीले निर्णायकरूपमा समर्थन गर्छौं,” उनले भनेका थिए । 

राप्रपाका एक प्रदेश सांसदले मध्यावधिमै जानुपर्ने अवस्था आए राप्रपाले निर्णायक निर्णय गर्ने बताए । “प्रदेशलाई अनिर्णयको बन्दी हुन नदिने पार्टीको योजना छ,” ती सांसदले भने । 

सर्वोच्चको परमादेशपछि एमाले नेतृत्वको सरकारमा राप्रपा सामेल नभए एकलरूपमा कार्कीलाई उपसभामुखबाहेक ३९ सांसदको समर्थन हुने छ । त्यस्तो अवस्थामा कार्कीले विश्वासको मत लिन प्रयास नै नगर्ने वा राजीनामा दिने भन्ने विकल्प बाँकी हुने छ । 

यस्तो अवस्थापछि कोसी प्रदेशमा संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । उपधारा ५ बमोजिम विश्वासको मत लिन सक्ने प्रदेश सभाको कुनै सदस्यले सभामा विश्वासको मत लिन सक्ने भए मुख्यमन्त्री बन्न सक्ने छन् । यसबाट समेत निकास ननिस्के मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ ।

अहिले एमालेबाटै सिर्जना दनुवार उपसभामुख छिन् । सभामुख नियुक्त नभएको अवस्थामा दनुवारले नै सभा सञ्चालन गर्नुपर्ने भएकाले कार्कीको पक्षमा राप्रपा उभिए पनि ४५ जना सांसदमात्र हुने छन् । 
बहुमत सिद्ध गर्न ४७ संख्या चाहिन्छ । 

कांग्रेसले सहकार्य नगर्ने

नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले ‘परमादेश अनुसार मुख्यमन्त्री नियुक्त हुन लागेका’ एमाले संसदीय दलका नेता कार्कीले भनेजस्तो तत्कालै कांग्रेससँग सहकार्य हुने अवस्था नरहेको बताए ।

“कुनै छलफल, तयारी र योजनाबिनै कांग्रेससँग सहकार्य हुँदैन । अहिलेलाई त्यो सम्भावना बिल्कुलै देखिँदैन,” राईले भने । 

कांग्रेस सांसद तथा पूर्वमन्त्री केदार कार्कीले पनि एमालेसँग कुनै किसिमको सहकार्य नहुने बरु गठबन्धन आफ्नो ‘स्पिरिट’अनुरूप नै अघि बढ्ने बताए ।   
 
“पछिल्ला राजनीतिक परिवेश, कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन उपसभामुखलाई बिरामी बनाएको प्रकरण, सभाध्यक्ष सदस्यहरूलाई बिदामा बसाएको र दुईपटक सरकार नै ढाल्न मुख्य भूमिका निर्वाह गरेकाजस्ता धेरै कारणले एमालेसँग सहकार्य हुने सम्भावना देखिँदैन ।”

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro