काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणमा नाका खोल्न पहल गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद हितबहादुर तामाङले नाका खोल्न पहल गर्न ध्यानाकर्षण गराए ।
“प्रधानमन्त्रीको भ्रमणका क्रममा रसुवागढी, तातोपानी, किमाथांका, ओलाङचुङगोला लगायतका नाकाका सम्बन्धमा थप व्यवस्थित गर्न, चालु गर्न सरकारको तर्फबाट विशेष पहल र ध्यानाकर्षण गराउन आग्रह गर्छु,” उनले भने ।
त्यस्तै, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गोरखाको चुमनुव्री गाउँपालिकाको नाका खोल्न आग्रह गरे ।
“गोरखाको चुमनुव्री गाउँपालिका तर्फबाट चीनतर्फको नाका खोल्ने विषयमा सरकारको ध्यान जाओस्,” उनले भने, “खासगरी हाम्रोमा नाका खोल्नका लागि आग्रह गर्छु । उनले मुस्ताङको नाका खोल्न पनि ठोस पहल गर्न माग गरे ।
त्यस्तै, पाण्डेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेका व्यक्तिलाई कारबाही गर्न माग गरे ।