
काठमाडौं । साफ यू–१६ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको छ ।
सोमबार भुटानका थिम्पुस्थित चङ्लीमिथान रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन असिकुर रहमानले निर्णायक गोल गरे । रहमानले ४७औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेका थिए ।
जितसँगै दुई खेलबाट तीन अंक जोडेको बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश पहिलो खेलमा भारतसँग १–० ले नै पराजित भएको थियो । एक खेलबाट तीन अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा पहिलो खेल खेलेको नेपाल तालिकाको पुछारमा छ ।
नेपालले अब बुधबार भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगितामा सहभागि ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘बी’ मा भुटान, माल्दिभ्स र पाकिस्तान छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।