काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि छलफल भइरहेको छ ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बन्द सत्रमा अहिले जिल्लागत रुपमा छुट्याइएको सदस्य कोटाको नाममा सहमति जुटाउने प्रयास भइरहेको छ । नाममा विरोध भए निर्वाचन हुने एमाले पोलिट्ब्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
“नेतृत्व चयनको छलफल भइरहेको छ । जिल्लागत रुपमा सदस्यहरुको जुन कोटा प्राप्त छ, त्यसका लागि जिल्लागत रुपमा प्रतिनिधिहरुबीच छलफल भइरहेको छ,” उनले बाह्रखरीसँग भने, “नाममा विरोध भए चुनाव हुन्छ । पदाधिकारीमा पनि त्यही हो ।”
अधिवेशनले २०५ सदस्यीय कमिटी चयन गर्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिमा कमिटी चयन गर्न निर्देशन दिएर काठमाडौं हिँडेका छन् ।
लुम्बिनी एमालेको अध्यक्ष बन्न राधाकृष्ण कँडेल र हरि रिजाल मुख्य दाबेदार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन् ।
लुम्बिनी अधिवेशनको उद्घाटन शनिबार अध्यक्ष ओलीले गरेका थिए ।