
काठमाडौ. । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताए ।
उनले सरकार ढाल्ने कोसिस गर्नेहरू विस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गरे । उनले कुनै ठूलो घटना नभए यो गठबन्धन पाँच वर्ष नै चल्ने बताए ।
अहिले अतिवादी विचार र प्रवृत्तिहरू कहीँ धार्मिक, कतै जातिय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको दाबी गरे ।
उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गरे । उनले माओवादीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गरे ।
उनले भने, "अहिले सरकारविरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन् । यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन् । तर कसैको केही लाग्ने मैले देखेको छैन । जति बल गरेका छन्, त्यति उनीहरू जनताको नजरमा गिर्दै गएका छन् र यही हुन्छ । हामीले अझै गठबन्धन पाँच वर्ष नै जानेछ, मैले त्यही देखेको छु, अहिलेसम्म । त्यस्तो ठूलो केही भएन भने हामी निरन्तर यो अभियानलाई सफलतातिर लानेछौँ ।"