काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा दुई पूर्वप्रधानमन्त्री छन् ।
नेपालको राजनीतिक दलमा दुई पूर्वप्रधानमन्त्री रहेको पार्टी हाल एकीकृत समाजवादी मात्रै हो ।
एकै पार्टीमा भए पनि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकै मत छैन । माधव–झलनाथ सम्बन्ध औपचारिकतामा मात्रै सीमित छ । पार्टी बैठक बाहेक छुुट्टै भेटघाट भने हुने गरेको छैन ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य अमृत तिमल्सिना दुई नेताहरुबीच तत्काल समस्या हल गरिहाल्नु पर्नेगरी समस्या पैदा नभएकाले पनि छुट्टै भेटघाट नहुने बताउँछन् ।
पार्टी कमिटीका बैठक राख्ने विषयमा पनि खासै छलफल हुँदैन । “पार्टी बैठक गर्ने वा एजेन्डाका विषयमा दुई नेताबीच छुट्टा छुट्टै छलफल हुँदैन,” खनाल निकट केन्द्रीय सदस्य भन्छन्, “सचिवालयबाट बैठक छ भन्ने खबर आउँछ । सोहीअनुसार बैठकमा जाने हो । बैठकमा त भेट भइहाल्छ नि !”
पार्टीका अधिकांश निर्णयमा झलनाथ खनालले भिन्न मत राख्दै आइरहेका छन् । छैठौं केन्द्रीय कमिटी बैठकमा पनि खनालले जनता बहुदलीय जनवाद (जबज), समाजवादी मोर्चा र गठबन्धनका विषयमा फरक मत राखे ।
दुई नेताबीच व्यक्तिगत द्वन्द्व भने नभएको उनी जिकिर गर्छन् । “हरेकका आ–आफ्ना व्यक्तिगत दृष्टिकोण त हुन्छन् नै । उहाँहरु बसेर छुट्टै छलफल गर्नुपर्ने भन्ने तहको समस्या पनि भइसकेको छैन । राजनीतिक दृष्टिकोणका कुरा त बैठक बस्दा बैठकमा नै राखिन्छ,” उनी भन्छन्, “बैठक नहुँदा पनि जेएन कमरेडले आफ्ना मत पनि राख्दै आउनुभएको छ ।”
खनालले पार्टीमा एमसीसी, सरकारमा सहभागिता, चुनावी गठबन्धनबारे असन्तुष्टि प्रकट गर्दै आएका छन् । अर्थात् पार्टीका निर्णयहरुमा उनी असन्तुष्टि राख्दै सँगै अघि बढिरहेका छन् ।
बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकमा खनालले जबज आवश्यकता नै नरहेको जिकिर गरेका थिए । एमसीसीको विपक्षमा रहेका खनालले एमसीसीको कामको अनुगमन गर्न टोली बनाउने विषयमा पनि विमति राखेका थिए ।
त्यस्तै समाजवादी मोर्चाको प्रधान–शत्रु तोकेर जानुपर्ने माग राखेका थिए । उनले राखेका मागहरु सम्बोधन नभएपछि खनालले केन्द्रीय कमिटी बैठकबाट केही नयाँ कुरा नभएको आफू निकटस्थहरुसँग बताएका छन् ।
केन्द्रीय सदस्य तिमल्सिना खनाललगायतका नेताहरुले राखेको फरक मतका सन्दर्भ लगायत राजनीतिक दृष्टिकोणका विषयमा राष्ट्रिय महाधिवेशनबाटै स्पष्ट गर्ने गरी जाने निर्णय भएको बताउँछन् ।
महाधिवेशनको मिति तय भइसकेको छ । बैठकले वैचारिक कुरामा महाधिवेशनका लागि मूल राजनीतिक र दस्तावेज एक महिनाभित्रै बनाउने निर्णय समेत गरेको छ । त्यो भन्दा फरक दृष्टिकोण भएअन्तर पार्टी बहस चलाउने कुरामा सहमति जुटेको नेताहरु बताउँछन् ।
“सबै राजनीतिक दृष्टिकोणका विषयमा केन्द्रीय समितिले अन्तिम टुंगो लगाउने कुरा भएन । प्रधान अन्तर विरोधको कुरा, हाम्रो मुख्य प्रतिद्वन्द्विता, हाम्रो ठोस दृष्टिकोणका विषयमा अन्यौल भए महाधिवेशनबाटै क्लियर गरौं भन्ने कुरा भएको छ,” उनले भने ।
ती उतारचढाव
नेपाल र खनालबीचको टकराबपूर्ण सम्बन्धले पाँच दशक पार गरिसकेको छ । ०३२ सालमा कोअर्डिनेशन केन्द्र (कोेके) को संस्थापक ८ नेतामध्ये नेपाल–खनाल पनि हुन् । २०३२ जेठ २५ गते गठित कोकेमा सिपी मैनाली, मुकुन्द न्यौपाने, मणिलाल राई, गोविन्द न्यौपाने, ईश्वर पोखरेल, अमृत बोहोरालगायत थिए ।
नेपाल–खनाल ०३२ बाट भूमिगत भए । ०३३ सालमा झलनाथ काकडभिट्टाबाट पक्राउ परे । नेपाल पनि केही समय जेलमा बसे । कोके बनेको ६ महिनामा नै पक्राउ परेका सीपी मैनाली भने नख्खु जेल बे्रक गरेर बाहिरिए । जनमतको घोषणा भएपछि ०३६ सालमा खनाल जेलबाट छुटे ।
०३७ सालको मंसिरमा फाखेलमा नेताहरु एक ठाउँ भए । उनीहरुबीच अन्तरद्वन्द्व चुलियो । सीपीले हरेक बैठकमा राजीनामा पत्र दिँदै घुर्की देखाउन थाले । “सँगै जुटेपछि अन्तरद्वन्द्व बढ्दै गयो । सिपीले हरेक बैठकमा राजनीमा फ्याँक्न थाल्नुभयो । ०३९ मा सिपीलाई हटाएर झलनाथ महासचिव बन्नुभयो,” हाल एमालेको केन्द्रीय सदस्य रहेका मुकुन्द न्यौपाने भन्छन् ।
सीपीलाई पदबाट हटाउन माधव नेपालले नै विकल्पको रुपमा झलनाथलाई अघि सारेका थिए । वामपन्थी नेता राधाकृष्ण मैनाली नेपाल भन्छन्, “माधव आफू बन्न नसक्ने अर्कोलाई बनाउनुपर्ने अवस्थामा थिए । त्यसैले सिपीको विकल्पमा माधवले खनाललाई अघि सारेका हुन् । माधवले सहयोग नगरेको भए झलनाथको महासचिव हुने सम्भावना थिएन ।”
०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म सिरहाको विष्णुराकट्टीमा तत्कालीन नेकपा मालेको पाँचौ महाधिवेशन भयो । महाधिवेशनबाट मदन भण्डारी महासचिव चुनिए । न्यौपाने सम्झिन्छन्, “झलनाथले छाड्दिनुभयो । महासचिवमा मदन भण्डारी चुनिनुभयो । त्यहीबाट जनताको बहुदलीय जनवादको आधार तय गरियो ।”
पाँचौ महाधिवेशन ०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौंमा भयो । पाँचौ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई पारित गर्यो । मैनाली र खनाल जबजको विपक्षमा उभिए । नेपालले भने भण्डारीको पक्षमा माहोल बनेपछि मात्रै पक्षमा उभिएका थिए ।
“झलनाथ र सीपी मैनाली जबजको विरुद्धमा थिए । माधव अलिक ढुलमुल हुनुहुन्थ्यो । कता जान्छ कता भन्नेमा हुनुहुन्थ्यो,” न्यौपाने स्मरण गर्छन्, “मदन भण्डारीको पक्षमा माहोल बन्ने देखिएपछि उहाँ (माधव) त्यतै उभिनुभयो । दुई तिहाईले पास भयो ।”
०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारी र जिवराज आश्रितको निधन भयो ।
अनि टसल
मदन भण्डारीको निधनपछि माधव नेपाल पार्टीको नेतृत्वमा आए । नेपालगञ्जमा भएको छैटौं महाधिवेशनबाट नेपाल महासचिव चुनिए । त्यतिबेलादेखि नै नेपाल–खनालबीच टसल सुरु भयो । सातौं महाधिवेशनबाट पनि महासचिवमा नेपाल चुनिए । र नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरे ।
०६४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले तेस्रो पार्टी बन्यो । हारको जिम्मेवारी लिँदै नेपालले महासचिव पदबाट राजीनामा दिए । रिक्त स्थानमा केन्द्रीय कमिटी बैठकले खनाललाई महासचिवको जिम्मेवारी दियो ।
नेपालले पार्टीको नेतृत्व गरिरहँदा खनालले आफू नेतृत्वमा आउने प्रत्यन गरे पनि असफल भएको मैनाली बताउँछन् । “झलनाथले बेला मौकामा माधवलाई हटाउने कसरत त गरेका हुन् । त्यतिबेला माधव बलिया थिए । खनालले खासै गुट बनाउन सकेका थिएनन्,” मैनाली भन्छन् ।
अनि फेरि खनाल नेतृत्वमा आइपुगे ।
आठौं महाधिवेशनमा भने नेपाल खनालको टसल राम्रैसँग देखियो । नेता केपी शर्मा ओलीले नेतृत्वमा दाबी गरे । नेपाल ओली र खनाल दुवै पट्टी खुलेनन् । महाधिवेशनमा कतै नखुलेका नेपाल तीन दिन बेपत्ता समेत भएको न्यौपानेले सुनाए ।
“छैटौं महाधिवेशनबाटै उहाँहरुबीच अलिअलि टसल सुरु भएको थियो । बुटवलमा भएको आठौं महाधिवेशनमा दुई नेताको टसल चुलियो । माधव उठ्ने आँट गर्नुभएन । उहाँ तीन दिन बेपत्तै हुनुभएको थियो । ओली र खनालबीच प्रतिपर्धा भयो,” न्यौपानेले बाह्रखरीलाई सुनाए ।
न्यौपाने केही समयअघि एकीकृत समाजावादी परित्याग गरी एमाले फर्किएका हुन् ।
उनका अनुसार, ११ जना स्थायी कमिटी सदस्य ओलीलाई वरिष्ठ उपाध्यक्ष बनाएर नेपाल अध्यक्ष बन्नुपर्ने पक्षमा थिए । तर, नेपाल तटस्थ बस्दा खनाल अध्यक्ष बनेका थिए ।
“माधव नेपाल तीन दिन बेपत्ता हुनुभयो । मैले त माधवजीसँग केपीजीलाई वरिष्ठ उपाध्यक्ष बनाऔं । तपाईं अध्यक्ष हुनुस् । नवौंमा केपी ओलीलाई अध्यक्ष छाड्नुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ । ११ जना स्थायी कमिटी सदस्यको राय यसैमा थियो,” न्यौपानेले बाह्रखरीसँग भने, “बुटवल पुगेपछि ती ११ जना छिन्नभिन्न भए । उहाँ केपी ओलीलाई पनि सहयोग गरेजस्तो भाव नदेखाउने झलनाथलाई पनि सहयोग नगर्ने गरी तटस्थ बस्नुभयो ।”
प्रधानमन्त्री बन्दा एक अर्का विरुद्ध मोर्चा
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेपछि २०६६ जेठ ११ गते माधव नेपाल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । तर एमालेकै असहयोग कारण नेपाल नेतृत्वको सरकार ढल्यो । “माधव हुँदा हटाउन झलनाथ लाग्ने मोर्चा कसेर लागे, झलनाथ आएपछि उनलाई हटाउन ज्यान फालेर लागे,” उनी भन्छन्, “जो माथिल्लो सिटमा हुन्छ उसको विरुद्ध मोर्चा बनाउने लागिहाल्ने परिस्थिति बन्यो ।”
माधव नेपाल सरकार ढालेर माओवादीको समर्थनमा खनाल २०६७ माघ २३ गते प्रधानमन्त्री बनेका थिए । नेपाल र खनाललाई एक अर्काको सरकार ढाल्न भूमिका खेलेको आरोप लाग्दै आएको छ । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा नेकपा (एमाले) दोस्रो दल बनेको थियो । एमालेमा संसदीय दलको नेता चयनका लागि चुनाव भयो ।
त्यतिबेला एमालेका अध्यक्ष खनाल थिए । संसदीय दलको नेता छान्ने चुनावमा भने खनाल र तेस्रो वरीयतामा रहेका नेता ओलीबीच प्रतिस्पर्धा भयो । अध्यक्षलाई हराउँदै ओली दलका नेतामा चुनिए । उनले खनाल समूहका नेताहरुको साथ पनि पाएका थिए । ओलीले खनालको भन्दा २३ मत बढी ल्याएका थिए ।
खनाललाई नेपालले नै चुनावमा उमेदवार बनएका थिए । उनले खनाललाई प्रधानमन्त्री बनाउने आश्वासन दिलाएको नेताहरु बताउँछन् । २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा नेपाल र ओलीबीच प्रतिष्पर्धा भयो । नेपाललाई हराउँदै अध्यक्षमा ओली चुनिए ।
नेपाललाई खनाल पक्षका केही नेताले भोट दिएनन् । ओली नेतृत्वमा आएपछि नेपाल–खनाल कमजोर बने ।
उनीहरुबीचको सम्बन्ध एक अर्कालाई समर्थन गर्ने र विरोध गर्ने गरी अघि बढ्दै आएको छ । “एक–अर्कामा समर्थन पनि गर्ने र विरोध गर्दै अघि बढिरहेका छन्,” नेपाल–खनाल सम्बन्ध केलाउँदै मैनाली भन्छन् ।
त्यसो त, एमाले र माओवादीबीच एकता भएर बनेको नेकपामा माधव वरिष्ठ नेता बनेका थिए । तर, खनालले यसमा असहमति राख्दै आएका थिए । ओलीले नेपाललाई वरिष्ठ नेताबाट हटाएर खनाललाई बनाउने प्रस्ताव समेत गरेका थिए ।
पार्टी विवादमा खनाल–नेपालसँगै रहे । तत्कालीन बहुमत रहेको समूह अर्थात् प्रचण्ड–नेपाल समूहमा नै रहे । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई पूर्व–अवस्थामा फर्काइदिँदा खनाल–नेपाल एउटै समूहमा रहे ।
दुई वर्षअघि अर्थात् २०७८ भदौ २ गते एमाले विभाजन भयो । माधव नेपालललाई उनी निकटस्थ नेताहरुले नै साथ दिएनन् । एकीकृत समाजवादी बनाउँदा खनालले माधवलाई साथ दिए ।
पार्टी विभाजनका बेला खनाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका थिए । खनाललाई पार्टी विभाजनको पक्षमा नलाग्न आग्रह गर्दै एमाले नेता सुरेन्द्र पाण्डे दिल्ली पुगेका थिए । तर खनालले पार्टी विभाजनलाई नै सदर गरे ।
पार्टी दर्ताका लागि दिल्लीस्थित नेपाली दूतावासबाट मञ्जुरीनामा पठाएका थिए । तर पछि पार्टी विभाजन गरिएको औचित्य पुष्टि हुन नसकेको खनाल बताउँदै आएका छन् भने नेपाल औचित्य पुष्टि भइसकेको बताउँछन् ।
त्यस्तै, जबजको औचित्य अझै रहेको निष्कर्षमा नेपाल छन् । भदौ ५–७ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा सो कुरा उल्लेख छ ।
“नेपाली विशेषताको समाजवाद लोकतान्त्रिक मूल्य मान्यतासहितको हुनेछ भन्ने मान्यता पनि राखेका छौँ । जबजले केवल राज्यसत्ताको मात्र होइन कम्युनिष्ट आन्दोलन र पार्टीको लोकतान्त्रिकरणको मान्यता पनि राखेको छ । साथै प्रतिस्पर्धा र पहलकदमीद्वारा श्रेष्ठता एवं अगुवाइ हासिल गर्ने मान्यता पनि जबजले राखेको छ,” प्रतिवेदनमा भनिएको छ, “यी सबै सन्दर्भमा जबजको सान्दर्भिकता छ । तथापि जबज समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त भने होइन । समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । यसमा हाम्रो पार्टी प्रष्ट छ ।”
तर, पाँचौ महाधिवेशनबाटै जबजको विरोध गरेका खनाल जबजको औचित्य देख्दैनन् । केन्द्रीय कमिटी बैठकमा उनले जबज कालतित भइसकेकाले त्यसलाई स्वीकारेर अघि बढ्न नहुने तर्क खनालको छ ।
त्यस्तै एकीकृत समाजवादी चार दल सम्मिलित समाजवादी मोर्चामा आबद्ध छ । खनालले मोर्चा गठनका लागि प्रधान शत्रु टुंग्याउनुपर्ने बताउँदै आएका छन् भने गठबन्धनको विरोध गरिरहेका छन् । गएको साउन २० गतेको स्थायी कमिटी बैठकमा खनालले छुट्टै मत पेश गरेका थिए । केन्द्रीय कमिटी बैठकमा पनि सोही विषयलाई दोहोर्याएका थिए । नेताहरुबीच देखिएको विभिन्न अन्तरविरोधले नेता कार्यकर्ता भने चिन्तित देखिन्छन् । केन्द्रीय कमिटी बैठकमा नेताहरुले मतभिन्नता हटाएर जानुपर्नेमा जोड दिएका छन् ।
“जबज लगायतका विषयमा कतिपय विषयमा विमति छ । त्यसलाई हटाउँदै एक मत भएर जाऔंं भन्ने कुरा आएको छ,” केन्द्रीय सदस्य दीर्घ सोडारीले भने ।
एकीकृत समाजवादी अब पार्टीको महाधिवेशनमा होमिँदै छ । महाधिवेशनमा पुग्दा विचारमा एकरुपमा आउनुपर्ने पक्षमा नेताहरु छन् । एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ पार्टीमा आउने भिन्न मतले पार्टीमा विचार माझिदै जाने बताउँछन् ।
“पार्टीमा विभिन्न मत आउँछ । त्यसमा छलफल गर्दै जानुपर्छ । फरक मतले विचार माझेर अघि बढ्न सहयोग गर्छ,” श्रेष्ठ भन्छन् । पार्टीमा चरम असन्तुष्टि व्यक्त गरे पनि खनाल पार्टी छाडेर गइहाल्ने नेताहरु देख्दैनन् । पार्टीमा रहेर आफ्ना फरक मत राख्दै अघि बढ्ने पक्षमा खनाल रहेको उनी निकट नेताहरु सुनाउँछन् ।
खनाल–नेपालबीचको द्वन्द्वलाई एमाले केन्द्रीय सदस्य न्यौपाने व्यापारी र ग्राहकबीचको सम्बन्धको रुपमा अर्थ्याउँछन् । उनको टिप्पणी छ, “व्यापारीसँगको मोलतोल जस्तै हो । भाउमा मिल्दा हासीखुसी नमिले रातो–पिरो ।”