काठमाडौं । देशका अधिकांश सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । केही नदीमा आकस्मिक बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन महाकाली, नारायणी, मर्स्याङ्दी र यसका सहायक नदीहरूको बहाव सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
इलाम, झापा, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पा भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र दार्चुला भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।