काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको हालै सम्पन्न अधिवेशनले अध्यक्षमा राजेन्द्र केसीलाई निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनले प्रथम तथा द्वितीय उपाध्यक्षमा मन्जिला अनिल र निर्मलरमण पराजुलीलाई चयन गरेको छ ।
त्यसैगरी समितिको महासचिवमा रञ्जना निरौला, सचिवमा सुशिला खड्का हसिना र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित भएका छन् ।
समितिका सदस्यहरूमा आकाश अधिकारी, डा. शान्तिमाया गिरी, डीआर राई, शान्ति रिसाल, दुर्गाबहादुर शाह ‘बाबा’, सीता बिष्ट कार्की, डा. हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइँकेल र इन्दिरा ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन–सत्रमा विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गरियो । कार्यक्रममा ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार’ नगद राशि २१ हजारसहित गीतकार यादव खरेललाई प्रदान गरियो । यो पुरस्कार प्रेमध्वज प्रधानलाई (मरणोपरान्त) प्रदान गरियो ।
सोही अवसरमा कलाकार मदनदास श्रेष्ठलाई ‘अनेसास विशिष्ट सम्मान’ प्रदान गरियो । कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्ष गीता खत्री, पूर्वअध्यक्ष राधेश्याम लेकाली र निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइलालाई पनि सम्मानित गरिएको थियो ।