तुलसीपुर (दाङ) । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस सल्यानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।
दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनालाई उपचारका लागि कोहलपुर रेफर गर्ने तयारी रहेको छ । अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
लु २ ख ५७३१ नम्बरको यात्रुवाहक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो । रासस