काठमाडौं । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले सोमबार काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)को सचिवालय सरुवा गरिएको छ । त्यहाँ कार्यरत एसएसपी भुपेन्द्र खत्रीलाई काठमाडौं प्रहरीको जिम्मेवारी दिएको छ ।
त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा एसएसपी सोमेन्द्र सिंह राठौरलाई पठाइएको छ । त्यस्तै, अर्का एसएसपी सानुराम भट्टराईलाई सुरक्षा परिषद् सरुवा गरिएको छ ।