
काठमाडौं । बंगलादेशबाट नेपाल बोलाएर बन्धक बनाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चारजना बंगाली र दुईजना नेपाली नागरिक छन् ।
उनीहरूलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बंगलादेशका ४७ वर्षीय अमिर हुसेन, ३८ वर्षीय सलिम मिया, ३७ वर्षीय एमडी मोसिउर रहमान र २१ वर्षीया जहन्जिर आलम छन् ।
त्यस्तै, नेपाली नागरिक इलामकी ३३ वर्षीया रोशनी राई र सिन्धुपाल्चोक बलेफीकी २७ वर्षीया तारा नेपाली छन् ।
उनीहरूले बंगलादेशी नागरिककै योजनामा नेपाली युवती प्रयोग गरेर बंगलादेशीलाई काठमाडौं बोलाउने र बन्धक बनाएर फिरौती रकमसमेत मागेको खुलेको छ ।
पक्राउ परेकाहरूले वैदेशिक रोजगारीका लागि नेपालबाट अन्य देश पठाउने भन्दै बन्धक बनाएर रकम असुल गरेको खुलेको कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए ।
उनीहरूले पीडित परिवारबाट १० लाख रुपैयाँ लिएको समेत खुलेको छ । उनीहरूले पीडितलाई विभिन्न होटेलमा लिएर बन्धन बनाएर राख्ने गरेको प्रहरीले जनाएको छ ।