site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उरुङ्खात चाहनाहरू
Sarbottam CementSarbottam Cement

विगतको मिठो स्मृति–बिम्ब । त्यही मिठासमा घोलिएर आएको यौटा तस्बिर । सौन्दर्य र स्वादले घनीभूत । प्रकृतिको त्यही विराट विरासतमा विचरण गरेका उरुङ्खात सम्झनाका चाङहरू । यायावरी ती दिनहरूका एकपछि अर्काे चित्रमय दृश्यहरू ।

उरुङ्खात चाहनाहरूको चक्करमा रारातालको रमाइलो सम्झना । यौटा विस्मृत सम्झना । धूमिल स्मृति–बिम्ब आँखामा । कति दशक पुराना यात्रा–विवरण यौटा चिर्कटोमा अटेमटेस । 

त्यही चिर्कटोले चिथोरेर अनायसै अतीत पुर्याएको क्षण । केही भावुक पनि, केही चञ्चल पनि । समग्रमा खुसीले उफ्रिएका पाइलाहरू । राराको सुन्दरताले आँखाभरि वर्षिएका हर्षका आँसुहरू ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहानैदेखि गर्मीको यो बिहान । तथापि, शीतल र शान्त लाग्छ । किनकि, सुदूर विगत सम्झेर रमाइरहेको यो पल ! आफैँमा सुकोमल, सुमधुर सम्झनाहरूले पुष्पित र पल्लवित । यसरी तात्तातो घाममा पनि नओइलाउनु बरु हलक्क हुर्किनु सकारात्मक सन्देश प्रवाहित ।

विगत फर्किए वर्तमानमा हराउनु पनि हराउनु हो सायद । सम्झनाहरूमा बयली खेल्नु पनि खेल्नु हो । जहाँ पुगेपछि वर्तमान भुसुक्कै भुलिन्छ । र, सारा तनावका तानाबानाबाट मुक्त भइन्छ । 

Global Ime bank

अनि, सुदूर अतीतमा पुगेर रमाइन्छ । हरपलका हैरानीहरूबाट छिनभर भए पनि मुक्ति पाइन्छ । बिरानिँदै गएका विगतलाई फर्केर ओल्टाइपल्टाइ हेर्न सकिन्छ । झोक्राउँदै, झर्किंदै, तर्किंदै, तर्सिंदै मन भंग–भरंग हुँदैन । 

पीडा भए पनि खुसीले हाँस्न सक्नु नै सक्नु हो जीवनमा । यी सबैलाई समेटेर, सम्झेर मिठो प्राप्ति भन्नु व्यतीत दिनहरूमा पुनः फर्किएर आल्हादित बन्नु हो । सम्झना–संस्मरणहरूको सँगालो आफ्नै विगतको प्रतिबिम्ब । आवरणमा अनावरण ।

दुर्गमको दुःख आफ्नो ठाउँमा होला, तर दृश्यपानको तृष्णाले कत्ति पनि धीत नमर्ने । हेरिरहौँ आँखामा अटेसमटेस । देखिरहौँ मनैदेखि हरपल । 

आहा, साँच्चै कति मनोहर प्रवृmति ! आँखामा राखे’नि नबिझाउने ‘लालगेडी’जस्तै । मनमा राखे नि नबिर्सिने ‘दिव्य ज्ञान’ वा गायत्री मन्त्रजस्तै । सधैँ आँखामा झलझली । सधैँ मनमा ताजा ।

तिनमा जिन्दगीका संघर्षशील पाइला–पदचापका डोबहरू । नमेटिएका ती दागहरूमा सफलता प्राप्ति निम्ति गरिएका दुःखहरू । 

खुसी भेट्न घण्टौँ हिँडेर पनि नथाकेका पाइलाहरू । अनि, देखिएका अनुपम दृश्यका शृंखला । अनुभूतिका आलेखहरू कतिकति । 

फर्किएर हेर्दा, गहिराइमा पुगेर सम्झिँदा पाएको सास्ती, खाएको चोट र भोगेको दुःख बिर्सिन त कहाँ सक्नु !

तथापि, त्यहाँदेखि यहाँसम्मको यात्रामा त्यो दुखाइ र पीडा पनि हाइसन्चोको लाग्दो रहेछ ।

उडौँजस्तै वायुपंखी वेगबतासले । सारा सुन्दरतालाई पिएर तृप्त भइहालौँजस्तै बालसुलभ रहरहरू । त्यही रहरले कुत्कुतिँदै यात्रामा आफैँलाई भुल्नुको आनन्द । कति रमाइलो । कति घमाइलो । 

अभावको कुनै भोक छैन जस्तो । रोगले शोक निम्त्याएको छैन कि जस्तो । निदाउनलाई ओछ्यानै नचाहिने । सपना देख्न मिठो निद्रा पर्नै नपर्ने । 

आकाश कहिल्यै नधुम्मिएजस्तो । विरक्ति रित्तिएको । बैरभाव शून्य । मायालु आभासहरू । मित्रताका हातहरू । हर्षातीत अतीत मेरा ।

फराकिलो रारालेकको पाटन । यो हरियाली दुबोचौर मात्र होइन । वनस्पतिका अनेक जीवन त्यहाँ । जुनै मौसम पनि फुलिरहेका, हुर्किरहेका औषधीय गुण बोकेर । 

कोपिला कलिला कति । कतै तारुन्य उमेरका तामझामको उपस्थिति । उन्मुक्त बैँसका रङ र रहरहरू । सुवास र सौन्दर्यहरू ।

जता हे¥यो उतै उस्तै खुला पाटन । त्यस्तै हराभरा धरती । मन हरदम खुसीले पागल । मन हरक्षण चञ्चल । कति अचम्मकै प्रकृतिको भोक । कहिले प्रकृतिको झोक पनि । 

कति प्रिय र कति धेरै सुन्दरताको भण्डार रारालेक । यस्तो अनुपम सौन्दर्यमा आँखाले पिउनु पनि कति ! प्यास बुझ्दैन । 

आँखाको प्रथम स्पर्श र मनको मुग्ध मौनता । प्रणय–परागको एक पवित्र क्षण । सारा दुःख बिर्सिएर उरुङ्खात चाहनाहरूले एकै घुट्कोमा समग्र सौन्दर्य पिएर रित्याउँदैमा नसकिँदो रहेछ ।

अल्छी र आलस्य छैन । पीडा र तनाव छैन । देख्नुको आनन्द । हिँड्नुको कठिनाइ तर देख्नुको प्रीतिकर आभाहरू । 

कत्ति नथाक्ने मन । कत्ति नअघाउने आँखा । कति लोभी र भोको । देख्नु र हेर्नुको, पुग्नु र रमाउनुको धोको र ध्याउन्न कतिकति !

अलग्ग भूगोल । अलग्ग सौन्दर्यको सौगात र सुवास मगमगाइरहेको । प्राकृतिक मुस्कान छचल्किरहेको छताछुल्ल । मौलिकताको पृथक् अध्याय झलमल्ल ! 

जता हेरे पनि आँखा बिझ्दैन । बिझाउँदैन दृश्यले आँखालाई कदापि । जहाँ पुगे पनि सुन्दरता निख्रिँदैन । बरु, नयाँ, झन् अर्को अलग्ग मनोरम प्रवृmति रूपसी छविसँगै दृश्यमान ।

अनेक बिम्ब, अनेक प्रतिबिम्ब, अनेक रुपरङ र अनगन्ती जीवनका तरङहरू ।

प्रसिद्ध रारातालको यात्रामा चंखेली लेक । जहाँ देखिएका थिए हिमाली छटा र पहाडी तरेलीका लमतन्ने शृंखला । कहालीलाग्दो बाँदर लड्ने भीर । हिँड्दाहिँड्दै खुट्टा खुस्किए हाडखोर बाँकी रहँदैन होला ।

जहाँ टेकिएको थियो, हिउँले भिजेका सेताम्मे लेक । चिसो मौसममा पनि न्यानो अनुभूति । अलग्ग यात्रानुभवको प्रथम पहेली ।

एक क्लिकको यो झिल्कोमा कति धेरै अनुभूतिका खातहरू । भावनाका भेलहरू । पन्छाउँदै अवरोधका ढुंगा, काँडा, घोचाघाराहरू । सँगाल्दै जीवन्त अनुभूतिका आलेखहरू । समेट्दै यात्राका सुखद भेटहरू । 

अनौठो सौजन्य–साक्षात्कार प्रकृतिसँग । राराताल परिवेशसँग । चाहनाहरूका उरुङ्खातले थिल्थिलिँदै पनि उपलब्धिका उन्नत पक्षहरू ।

लेख्नुको आनन्द पढेर कहाँ पाउनु ? पढ्नुको आनन्द पनि लेखेर कहाँ सक्नु ? घुम्नुको मज्जा नघुम्नेलाई कहाँ मिल्नु ? उकालो चढ्नेहरूले नै देख्न पाउँछन् प्रवृmतिको विराट वैभव । 

शिखर चुम्नेहरूले नै भेट्छन् सौन्दर्यको मुस्कान । हिँड्नेहरूले नै चाख्न पाउँछन् चखिला दृश्यहरू । तिनैले स्वागत पाउँछन् अतिथिको । यात्राको मिठो खुसी तिनैले भेट्छन् । 

तिनैले खान्छन् सौगात चोखो कुराउनी । देख्न पाउँछन् अनेकौँ दृश्यहरूको इन्द्रेणी मिलन । र, प्रकृतिप्रेमीले सौन्दर्य–संवाद गर्छन् चुपचाप ।

मन भएर मात्रै पनि नहुँदो रहेछ । समय र फुर्सद मिलेर पनि नहुने रहेछ । बरु, बेफुर्सद र व्यस्ततामै जिन्दगीको बेग्लै सम्प्रेषणका स्वादहरू । 

त्यही स्वादमा तंग्रिएका अंग–अवयव । ऊर्जावान् बनेका तनमन । अल्छी कहाँ भाग्छ, थाहा छैन । आलस्य कता जान्छ, थाहा छैन । खुसी कसरी निम्तिन्छ, पत्तै नहुँदो रहेछ । दुःख कहाँ भाग्छ, थाहा नपाइँदो रहेछ ।

अन्ततः तस्बिरसँगसँगै विगत कालखण्डको यात्रामा तरंगित हुनुको बेग्लै मज्जा । यात्राका यादहरूमा पुनः पुग्नु, झुम्नु र रम्नुको बेग्लै हर्ष !

भनिसाध्य छैन यात्राका प्रत्येक दृश्य र दर्शनका कुराहरू । लेखेर पनि लेखिसकिँदैन । सम्झेर पनि सम्झिसाध्य हुँदैन रहेछ । 

सम्झनाका नागबेली लहराहरू जीवनसँगै जेलिएका । एकपछि अर्को पत्रैपत्र । तिनलाई निकालेर, केलाएर, निफनेर हेर्नु ।

देखिन्छ, दृश्यका रंगीन क्यानभासहरू । जहाँ आरेखित दृश्यका बग्रेल्ती स्वरूपहरू । कुशल कलाकारको ‘तीव्र ब्रसस्ट्रोक’ र ‘सबल तूलिकाघात’ । 

रङको ‘उत्कृष्ट संयोजन’ । आकृतिहरूको ‘सुन्दर संरचना’ । परिपक्व सिर्जना प्रकृतिको । हेरेर कहिल्यै अघाइन्न प्रकृतिको यस्तो चित्रकृति । व्याख्या–वर्णन, विश्लेषण पनि गर्न सकिँदैन ।

बाँकी रहन्छ अनुभूतिका उच्छ्वासहरू । अधुरै रहन्छ लेखनका कुराहरू !

विगत दिनहरू धेरै ‘प्रिय’ हुन्छ । सम्झनाहरूका ‘पोकापन्तरा’ खोलेर कहिल्यै सकिँदैन । बितेका दिनहरू कति धेरै । 

‘मनचिन्ते झोला’जस्तै जति झिके पनि नरित्तिने, नसिद्धिने कहिल्यै पनि । हेर्दा खोक्रो छ, तर भरिलो, रसिलो अनुभवहरूको उरुङ्खात !

चाहनाहरूको उरुङ्खात भेलबाढी, तर धमिलो होइन, मैलो छैन किञ्चित पनि । बरु, सफा एकदमै कञ्चन कलेवर । 

उरुङ्खात चाहनाहरू बोकेर जिन्दगी जिइरहेछ । घुमेका, पुगेका, भेटेका ठाउँहरू स्मृति–अभिलेख पल्टाउँदै अहिले जीवन हाँसिरहेछ । 

gyanendravivas@gmail.com

 
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय