site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उज्यालो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बिजुली चम्केजस्तो केही भयो, अचानक ! घोच्यो मुटुनेरै । लडेँ म भुईंमा । 
‘पाऽऽऽनी,’ तीव्र छटपटीबीचै चिच्याएछु मैले ।

छटपटी बढ्दै गयो । संघर्ष थपियो । छटपटी र संघर्षको दोभानमा कालो बादल मिसियो । उर्लियो, मडारियो । ढाक्दै गयो क्रमशः । लगत्तै शरीरभित्रबाट केही निस्कियो, दिव्य तत्त्व । उडेर गयो । वायुमण्डलमा मिसियो । 

०००

KFC Island Ad
Dabur Nepal
NIC Asia

लौन, कहाँ आइपुगेँ म ? कुन ठाउँ हो यो ? चारैतिर हेर्छु । चुक घोप्ट्याएजस्तै कालो छ, निस्पट्ट अँध्यारो । 
 
उफ्, यो कस्तो नीरवता ! के मूर्दाशान्ति यस्तै हुन्छ ? – कल्पन्छु ।  

आफ्नोपनको खोजीमा दौडिएँ म । जीवित अस्तित्वको नामोनिसान छैन, पऽऽऽरपऽऽऽरसम्मै । दौडिइरहेँ ।

Royal Enfield Island Ad

पऽऽऽर केही वस्तु देखिए, टल्किइरहेका । निभ्नै लागेको दियोमा आशाको तेल थपियो । त्यतैतिर हान्निएँ म ।

नजिकै पुगेँ । काला छायाचित्र भेटिए, बिल्कुल सपाट । कहाली लागेर आयो । देख्छु, छायाचित्रको माथिल्लो भागमा गुच्चाजस्ता जोर वस्तु टल्किइरहेका ।

छायाचित्रको आँखा हुनुपर्छ, सायद ! – अनुमान लगाउँछु । 

‘तिमीहरू को हौ ?,’ नडराएको अभिनय गर्दै सोधेँ मैले । तथापि, स्वर त काँपेकै थियो ।

‘प्रेतआत्मा हौँ हामी !,’ आवाज सुनियो ।

‘प्रेतआत्मा ?,’ मेरा नशानशामा आतंक दौडियो । सम्पूर्ण शरीर चिसो लाग्यो । गोडाहरू काँपे, थरर्र । मुटु नउफ्रने कुरै भएन । श्वास फुल्यो । मेरा त्रसित एवम् विस्फारित नजरहरू चारैतिर दौडिए ।

पर अर्को समूह देखियो, छायाचित्रहरूकै । आँखाहरू टल्किइरहेका । अलि पर अर्को समूह देखियो । झन् पर अर्को समूह !

मेरा रोमरोमबाट त्रास छुटे चिट्चिट्ती । निथ्रुक्कै भएँ म ।

‘प्रेतआत्माहरू किन समूहसमूहमा विभक्त ?,’ सामुन्नेको प्रेतआत्मासामु आफ्ना आश्चर्य बिसाएँ ।

‘मृत्युका आधारमा समूहसमूहमा विभक्त भएका,’ त्यो प्रेतआत्मा बोल्यो, ‘हामी दुर्घटनामा परी अकाल मृत्युवरण गरेका प्रेतआत्माहरूको समूह । पल्लो अरूद्वारा हत्या गरिएका प्रेतआत्माहरूको समूह । पऽऽऽर आत्महत्या गरेका प्रेतआत्माहरूको समूह ।’

प्रत्येक समूहमाथि पालैपालो चोर औँला दौडायो त्यसले । मेरा नजरहरूले त्यसका चोर औँलालाई पछ्याए ।

‘ऊर्जाशील युवा अवस्थामै तपाईंको मृत्यु ? कसरी ?,’ त्यस प्रेतआत्माले प्रतिप्रश्न गर्यो मलाई । 

०००

‘हतियारधारी समूहद्वारा मारिएँ म,’ उसको प्रश्नले अतीतमा फर्कायो मलाई । आफ्नै अकाल मृत्युको तितो यथार्थले चिमट्यो ।

‘हतियारधारी समूहद्वारा ? किन ?,’ जिज्ञासु देखियो ऊ । 

‘देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । सर्वसाधारण जनता द्वन्द्वरत दुई पक्षको चेपुवामा थिए । राज्यपक्ष आउँथ्यो, उसका उर्दी मान् भन्थ्यो । थर्काउँथ्यो । विद्रोही पक्ष आउँथ्यो, आफ्ना उर्दीको पालना गर् भन्थ्यो । धम्क्याउँथ्यो ।’

‘अनि ?’ 

‘जुन शृंखला वर्षौँसम्म चलिरह्यो । आफ्नै मुलुकमा आवाजविहीन जिन्दगी बाँचिरह्यौँ हामी, अनागरिकसरह । जो कम्ता पीडादायी थिएन । एक साँझ हतियारधारी एउटा समूह आयो घरमा । मलाई आँगनमा निकाल्यो, अन्धाधुन्ध गोली बर्सायो । आँगनमैँ ढलेँ म ।’ 

आफ्नो अकाल मृत्युको फेहरिस्त बताएँ मैले ।

‘तपाईंको कसुर के थियो ?,’ सोध्यो त्यस प्रेतआत्माले ।

‘आफ्नो कसुर सोध्ने मौकै पाइनँ मैले । न त सफाइको मौका नै पाएँ । घरमा आएका हतियारधारी समूहलाई खान र बस्न दिएको हुँ । रहरले त किन हुन्थ्यो र ? करले, बाध्यताले । थाहा छैन, ती राज्यपक्षका थिए कि विद्रोही पक्षका ।’

मेरो मृत्युको फेहरिस्त सुनिरहेको त्यो प्रेतआत्मा भावशून्य देखियो । बिल्कुल सपाट ।

आफ्नै विगतले आहत तुल्यायो मलाई । धाँजा फाट्यो मुटुमाझ । नयनहरू भरिए, बर्सिए क्रमशः । बर्सातले दृश्यहरू धमिला देखिए । दुर्घटनामा परी मृत्युवरण गरेका, अरूद्वारा हत्या गरिएका प्रेतआत्माहरूको समूहलाई पार गर्दै गए नजरहरू ।

आत्महत्या गरेका प्रेतआत्माहरूको समूहमा पुगेँ, हठात् रोकिएँ । विडम्बना, आत्महत्या गर्नेहरूमा ऊर्जावान् युवाहरूको संख्या अधिक देखियो !

युवाहरूको यस्तो आत्मघाती कदमले यो समाज, अर्थतन्त्र अनि देशलाई कहाँ पुर्याउला ? समग्र मुलुककै समृद्धिको अवसान हुँदै गएको देखेँ मैले, सुदूरमा ।

मानिस जीवनका सुन्दर पक्षहरूलाई बिर्सेर किन आत्मघाती कदम चाल्छ ? जीवनका मिठा धुनहरू किन बिर्सन्छ ? किन आफूभित्रको इन्द्रेणी महसुस गर्न सक्दैन ? जन्मँदा आफूसँगै ल्याएका अथाह सम्भावनाहरू किन देख्दैन ? अनायासै किन तिनको गला रेट्छ ? किन आत्महत्या रोज्छ ? – अनुत्तरित प्रश्नका छालहरूले बगाउँछन् मलाई ।

आत्महत्या गरेका प्रेतआत्मासामु पुगेँ म । जहाँ विभिन्न मुलुकका प्रेतआत्मा रहेछन् । कोही एसियाली, कोही अफ्रिकी, कोही युरोपेली, कोही अस्ट्रेलियाली, कोही अमेरिकी ।

धनी, विकसित एवम् भौतिक सुविधाले सम्पन्न मानिने मुलुकका मानिसहरूले समेत आत्महत्या गरेका ? यो कस्तो अपत्यारिलो सत्य ?

लाग्यो– अभाव, गरिबी, बेरोजगारी, विपन्नता नै आत्महत्याको कारकतत्त्व होइन रहेछ । भौतिक सुखसुविधा अनि सम्पन्नता मात्रै पनि अन्तिम सत्य होइन रहेछ, बाँच्ने आधार होइन रहेछ ।

त्यसो भए मानिस किन आत्महत्या गर्छ ? जीवनदेखि नै यो मोहभंग किन ? यो कस्तो उत्तरविहीनता ?

अगाडि बढेँ म । एउटा प्रेतआत्मासँग जम्काभेट भयो । 

‘तपाईँ कुन मूलको ?,’ सोधेँ मैले ।  

‘अमेरिकी ?’ बोल्यो त्यो ।

‘संसारकै विकसित, सम्पन्न एवम् शक्तिशाली मानिने राष्ट्र । हो, बाँकी विश्वको सपनाको मुलुक । त्यस मुलुकको नागरिक तपाईंले समेत आत्महत्या रोज्नुभयो ? किन ?,’ सोधेँ मैले ।

भावशून्य देखियो ऊ । क्वारक्वार्ती हेर्यो मलाई । हेरिरह्यो । मानौँ, म उसलाई निरर्थक प्रश्न गरिरहेछु ।

‘अथाह सम्भावनाका बीच फुलेको सुन्दर जीवन, सृष्टिकै अनुपम उपहार मानवजीवन । यति सुन्दर उपहारको गला रेटिदिनुभयो तपाईंले ? किन ?,’ पुनः सोधेँ ।

‘पेसाले वैज्ञानिक थिएँ म,’ सुस्केरा छोडियो ऊभित्रबाट, ‘अनुसन्धान, आविष्कार मेरो धर्म । भौतिक स्रोत–साधनको आविष्कारमार्फत मानवजीवनलाई सुखी, सम्पन्न अनि समृद्ध बनाउन हरपल अनुसन्धानमा जुटिरहन्थेँ म ।’

बोल्दै गरेका उसका गला अवरुद्ध हुँदै थिए, अथाह पीडाले सायद ।

‘कृत्रिम बुद्वि प्रत्यारोपण गरिएका जीवित रोबोट (जेनोबोट) बनाएँ मैले, दुरुस्तै प्राकृतिक मानवजस्ता । परिस्थितिअनुसार उपयुक्त निर्णय लिन सक्षम स्वचालित ती जेनोबोट आज विद्युत् उत्पादन एवम् वितरण परियोजनाहरूमा काम गरिरहेका छन् ।

गाडी, रेल, हवाईजहाज उद्योगका भट्टीबाट बलेका फलाम निकालिरहेका छन् । तिनका उत्पादन विभाग सम्हालिरहेका छन् । दंगाग्रस्त क्षेत्रको नियन्त्रण, आगलागी नियन्त्रण, विपद् व्यवस्थापन एवम् उद्धारकार्यमा खटिँदै आएका छन् ।’

प्राकृतिक मानवजस्तै रोबोट ? परिस्थितिअनुसार उपयुक्त निर्णय लिन सक्षम ? यस्तो लाग्थ्यो– ऊ बिल्कुल काल्पनिक कथा भनिरहेछ, चामत्कारिक । म उसको काल्पनिकतामा डुब्दै छु ।

‘स्वचालित रोबोटको आविष्कारपश्चात् दुईवटा परियोजनामा एकसाथ काम गर्ने योजनामा थिएँ म ।’ 

‘ती के–के थिए ?,’ मेरो उत्सुकता बढ्दै गयो । 

‘पहिलो, प्रजनन् क्षमतासहितको रोबोट आविष्कार...,’ बोल्दै थियो त्यो ।  

रोबोट, त्यो पनि प्रजनन क्षमतासहितको ! मेरो आश्चर्यले आकाश छोयो । 

‘दोस्रो, मानिसलाई दीर्घजीवी बनाउने । मृत्युलाई परास्त गर्न सम्भव छ वा छैन ? यदि छ भने कसरी ? यिनै विषयमा अनुसन्धान गर्ने योजनामा थिएँ म ।’ 

उसका पछिल्ला योजनाहरू झनै चामत्कारिक लागे । आममानिसको कल्पनाशक्तिभन्दा बाहिरका !  

‘नयाँ अनुसन्धानमा अनुबन्ध हुनुअघि घरपरिवारसँग भेट्ने इच्छा जाग्यो । घर पुगेँ म । डोरबेल बजाएँ । मेरै आविष्कारको एक संस्करण, स्वचालित रोबोटले ढोका खोल्यो ।’

०००
    
‘अभिवादन मिस्टर डेभिड !,’ शिर झुकायो त्यसले ।
 
‘तपार्इं यहाँ ! कसरी ?’ अचम्मित देखियो त्यो ।    

‘म यस घरको मालिक ।’ 

‘तपाईं मोनिकाको श्रीमान् ?,’ ऊभित्रका आश्चर्य आँखाहरूमा दौडिए, देखेँ ।  

‘हो,’ बोलेँ म ।   

‘यतिका समयसम्म तपाईं कहाँ हुनुहुन्थ्यो ? यो घर मोनिकासँग हाम्रा मालिकले किनेकै एक वर्ष हुन लागिसक्यो ।’

मेरा हातगोडा चिसा भए । गले, लल्याकलुलुक । 
   
‘घर बेचेपछि उनीहरू कहाँ गए केही थाहा छ ?,’ मुटु थामेरै सोधेँ मैले ।

‘सुन्छु, घर बेचेपछि उहाँ अहिले आफ्नो प्रेमीसँग लिभिङ टुगेदरमा हुनुहुन्छ रे ।’

त्योभन्दा बढी सुन्न सकिनँ मैले । मेरा ओठतालु सुके । मुटु चिरिँदै गयो । धर्ती डगमगायो । डगमगाएको धर्ती भासिँदै गयो, निरन्तर ।     

०००

‘श्रीमतीलाई फोन गरेँ । सिमकार्ड डियाक्टिभ रहेछ । छोराछोरीलाई फोन गरेँ । मेरो देश, जहाँ उमेर पुगेका छोराछोरी स्वनिर्णयका लागि कानुनी रूपमै स्वतन्त्र हुन्छन् ।

छोरो आफ्नी प्रेमिकासँग लिभिङ टुगेदरमा रहेछ । छोरी आफ्नो प्रेमीसँग । म दिन रात प्रयोगशालामा व्यस्त हुन्थेँ । मानवजातकै सुख–सुविधा, समृद्धिका लागि मरिमेट्थेँ । उता मेरो संसार उजाडिएछ,’ भक्कानियो डेभिड ।

‘...’ मौनता छायो वातावरणमा ।

‘जस्तै विपद्मा पनि सम्हालिनुको विकल्प नहुने रहेछ, सम्हालिने प्रयास गरेँ । नजिकैको सहरमा डेरा लिएँ । नामदाम, भौतिक सुख–सुविधा के थिएन मसँग ? तर, मनमुटु साट्ने आफ्नो मान्छे थिएन । भावना साट्ने मान्छे थिएन । जीवनको सहारा थिएन ।

जीवन नीरस लाग्न थाल्यो, बिलकुल अर्थहीन, मूल्यहीन । अनुसन्धानमा के मन जान्थ्यो ? चिन्ताले गाल्दै लग्न थाल्यो । निराशाले गाँज्दै लग्यो । भित्रभित्रै नराम्रोसँग टुट्दै गएँ म, अदृश्य रूपमा । हो, मेरो जीवनका रङ मेटिए, धुन हराए, लय बिथोलिए ।’ 

केही बेर रोकियो ऊ । टोलायो । फेरि बोल्न थाल्यो ।

‘जीवन संगिनीविना पुरुष आधा मरिसक्दो रहेछ, सायद । आफूलाई कमजोर महसुस गर्न थालेँ मैले, बिलकुल निरीह । हरेक बिहान मानिसहरू आँखामा सपना, मनमा उत्साह बोकेर बिउँझन्छन्, सायद । तर, मेरा हरेक बिहान हृदयविदारक हुन्थे । त्यहाँ न सपना हुन्थे न उत्साह, न उमंग नै । भिजेको सिरानीसँगै बिउँझन्थे म ।’

लामो सुस्केरा छोड्यो उसले । म उसलाई हेरिरहेँ, निर्निमेष । 

‘सम्भावनाका ढोकाहरू बन्द थिए । इच्छा, आकांक्षा चार भित्ताभित्र कैद । रातहरू निराश मनोदशाबीच गुज्रन्थे, अनिदा बनेर । लाग्थ्यो– अलिकति देखिने निलो आकाश समेत झ्यालबाट छिरेर मलाई नै निल्ने मौका पर्खिरहेछ । 

मन किन यसरी निस्सासिएको, अत्तालिएको, डराएको, भारी भएको ? भविष्य किन अनिश्चित लागेको, अन्धकार ? मनमा अनौठा विचार मात्र किन आएका ? के यही हो निराशा, उदासी ?

जीवन किन यति उजाड, किन यति बोझिलो ? खै म हुनुको अर्थ, खै महत्त्व ? सांसारिक मायामोह बिर्संदै गएँ मैले । जीवन मोह बिर्संदै गएँ । मृत्यु प्यारो लाग्न थाल्यो ।

हो, मुक्तिको चाहना पलाउन थाल्यो मनमा । निराश मनोदशाले थिचिएरै उठेँ म एक बिहान । पन्ध्रौँ तलामा रहेको आफ्नै अपार्टमेन्टको बार्दलीमा निस्केँ । मेरा अनिदा आँखाहरूले सहरलाई पटकपटक फन्को मारे । 

यति विशाल सहर, मान्छे फेरि पनि किन एक्लो ? सहरको रमझमबीच पनि मान्छे किन दुखी ? किन बेचैन ? खै उत्तर ?

निराशाको श्वास तानेँ मैले, लामो । आँखा बन्द गरेँ । पीडाको झरी दर्कियो, बग्यो परेलीहरू हुँदै । बार्दलीबाट हामफालेँ । सारा बन्धनबाट मुक्त भएँ ।’ 

०००

देखेँ, डेभिडका नयनहरू पीडाले भरिँदै थिए । जो परेलीका डिलबाट पोखिए क्रमशः ।

‘आखिर मानिस किन आत्महत्या रोज्छ ? कमजोर मानसिकताका कारण ? या अरू नै केही ?,’ जान्ने इच्छा जागृत भयो मभित्र ।

‘गम्भीर मानसिक स्वास्थ्य समस्या नै आत्महत्याको मुख्य कारण हो,’ बोल्यो डेभिड, ‘अनपेक्षित घटनाक्रमका कारण सिर्जित पीडाको निरन्तर बिझाइले मानिसलाई मानसिक रूपमा विक्षिप्त बनाइदिँदो रहेछ, विचलित । जड बनाइदिँदो रहेछ, चेतनाशून्य । तात्कालिक समस्याबाट मुक्त हुने भ्रममा ऊ यस्तो आत्मघाती कदम चाल्न पुग्दो रहेछ ।’

‘आत्महत्या आवेगप्रेरित हुन्छन् ? वा योजनाबद्ध ?,’ सोधेँ । 

‘केही आवेगप्रेरित, केही योजनाबद्ध पनि । अकस्मात् बदलिने मानसिक स्थितिले आवेगप्रेरित आत्महत्या गराउँदो रहेछ । निराशाको निरन्तर बिझाइले थिल्थिलिएको मानिसमा जीवनप्रति नै वितृष्णा उत्पन्न हुँदै जाँदो रहेछ ।

यस्तो जीवन किन बाँच्नु ? यस्तै प्रश्नले चिमोट्दो रहेछ उसलाई । ग्लानिले गाँज्दै लाँदो रहेछ । हीनताबोधले गलाउँदो रहेछ । परिणामः मानिस मर्ने योजना बुन्न थाल्दो रहेछ, बिलकुल मेरै नियतिजस्तो,’ भोगाइ सुनायो डेभिडले ।

‘आत्महत्या समस्याहरूको समाधान हो त ?,’ सोधेँ मैले ।

‘कदापि होइन,’ दृढ सुनियो ऊ । 

‘होइन भने तपाईं आफैँले किन आत्महत्याको बाटो रोज्नुभयो ?’

‘यो सत्य आफ्नै मृत्युपछि मात्र महुसुस भयो मलाई,’ पछुतायो डेभिड ।

‘आत्महत्या गर्नुअघि तपाईंलाई आफ्नो माया लागेन ?,’ सोधेँ ।

‘चरम निराशाबीच गुज्रिएको मानिसका लागि के माया, के मोह ? विक्षिप्त मनस्थितिको उपज, जिन्दगी बिलकुल सपाट लाग्ने रहेछ, ब्ल्याक एन्ड ह्वाइट, नीरस, मूल्यहीन । 

मानिसले चरम शून्य महसुस गर्दो रहेछ । आफू हुनुको अर्थ भुल्दो रहेछ । महत्त्व भुल्दो रहेछ । आत्मघाती बन्दो रहेछ । आफैँलाई निमिट्यान्न पार्दो रहेछ ।’

‘आखिर मानिस कहाँ चुक्यो ? यस्तो विकराल परिस्थितिको कुनै समाधान छैन ?,’ चिन्ता पोखिए मेरा ।

‘अवश्य छ,’ चम्किला देखिए डेभिडका नयनहरू । 

‘त्यो के त ?,’ जान्ने आतुरता बढ्यो । 

‘सकारात्मक चिन्तन,’ डेभिडको उत्तर, ‘यसले ऊर्जा प्रदान गर्छ, मानिसलाई भावनात्मक रुपमै बलियो बनाउँछ । वास्तविकतालाई स्वीकार गर्ने आत्मबल प्रदान गर्छ, साहस दिन्छ । चुनौतीको सामना गर्न सक्षम बनाउँछ । सुखदुःख घामछाया हुन् । आउँछन् जान्छन् भन्ने यथार्थबोध गराउँछ । संयमित हुन सिकाउँछ । जीवनप्रति आशावादी बनाउँछ ।’   

‘कसरीे ?,’ सोधेँ मैले ।

‘चौबीस घण्टामा पनि त आधा समय उज्यालो बित्छ, आधा समय अँध्यारो । उज्यालो रोज्ने कि अँध्यारो ? यो हाम्रो आफेनो छनोट हो । सकारात्मक चिन्तनले जीवनका सकारात्मक पक्षहरु खोज्न उत्प्रेरित गर्छ । 

उज्याला पक्षहरूसँग गाँसिन सिकाउँछ । आघातहरूमा सम्हालिँदै अघि बढ्न सकेमा उज्याला दिन अवश्य आउनेछन् भन्ने आशा जगाउँछ,’ डेभिड बोलिरहेछ । 

म उसका कुरा सुनिरहेछु ।
  
‘आधुनिकताले मानिसलाई यान्त्रिक बनाएको छ । कृत्रिम बनाएको छ । आत्मीयजनबाट टाढा बनाएको छ । जीवनका उत्सव हरण गरेको छ । हो, एकाकी बनाउँदै लगेको छ । 

आज खै समाज र मानिसबीचको अन्तरघुलन ? खै तन र मनबीचको संयोजन ? खै प्राकृतता ? खै जीवनको सुन्दरता, खै लयबद्धता ? विडम्बना, सफल अनि सम्पन्न बन्ने होडमा आजको मानिसले आफैँलाई बिर्सेको छ । हाँस्नै बिर्सेको छ । बाँच्नै बिर्सेको छ । मनको शान्ति, आनन्द बिर्सेको छ । उसले आफैँलाई प्रेम गर्न बिर्सेको छ ।’  

दीर्घ निःश्वास छोड्यो उसले ।  

‘आजको मानिसलाई स्वप्रेमको महत्त्व बुझाउनुपरेको छ । प्रेममै जीवन फुल्दछ, शान्ति फक्रिन्छ, आनन्द मुस्कुराउँछ भन्ने सत्य स्मरण गराउनुपरेको छ । हाँस्न सिकाउनुपरेको छ । बाँच्न सिकाउनुपरेको छ, ताकि भुईंको टिप्न खोज्दा पोल्टाको नपोखियोस् । आफैँभित्रको शान्ति अनि आँखैअगाडिको उज्यालोबाट विमुख हुन नपरोस् ।’ 

डेभिडसँग मृत्युदर्शन वा जीवनदर्शन ? का कुरा गरेर रात बिताएँ मैले । 

दुःख नबुझी सुख बुझिन्न रहेछ । मृत्यु नबुझी जीवन बुझिन्न रहेछ । लाग्यो– अन्तिम सत्य भेटेँ मैले, दिव्य ज्ञान प्राप्त गरेँ । भावविभोर हुँदै गएँ म । मेरा विह्वल नयनहरू पऽऽऽरपऽऽऽरसम्म दौडिए ।

पूर्वी क्षितिज देखियो पऽऽऽर सुनौला किरणहरू पोखिँदै गरेको । रंगीन । मोहक । जो फैलिँदै गए, चारैतिर । अहिले सबैतिर उज्यालैउज्यालो देखिरहेको छु म, आफूभित्र अनि बाहिर पनि ।

जगत् सार्थक लाग्यो । पूर्ण लाग्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro