
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक संकटको समाधानका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताएका छन् ।
समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटीद्वारा सोमबार आयोजित कार्यक्रममा उनले मुलुकमा समानता, आर्थिक विकास, सामाजिक रुपान्तरण, न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए ।
राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अवसर उपलब्ध गराउन समाजवाद निर्विकल्प भएको बताउँदै समाजवादकै बाटोमा जानुपर्नेमा उनको जोड छ ।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै नेता खनालले उनीहरूले दलहरूका गलत अभ्यास, भ्रष्टाचार न्यूनीकरणका लागि समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
नेता खनालले संविधान र गणतन्त्र रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने विचार व्यक्त गरे । सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रका लागि समाजवादी अर्थव्यवस्था महत्त्वपूर्ण हुने बताउँदै उनले देशको समग्र विकासका लागि राजनीतिक दलको साझा दृष्टिकोणको आवश्यक रहेको बताए ।
पार्टीले राजनीतिक गतिविधि सञ्चालन गर्न नसकेको बताउँदै उनले पार्टीको अधिवेशन सम्पन्न भएको करिब एक वर्षसम्म पनि विधान परिमार्जन गरी प्रकाशन हुन नसकेकामा चिन्ता व्यक्त गरे ।