
काठमाडौं । गैरकानुनी रूपमा करोडौँ मानिसको गोपनीयतामाथि आक्रमण गरेको आरोपमा गुगलले पाँच अर्ब अमेरिकी डलरको मुद्दा खेपिरहेको छ ।
यसै मुद्दाको सारांश निर्णय माग्ने गुगलको अनुरोध सोमबार क्यालिफोर्नियाका एक न्यायाधीशले अस्वीकार गरेका छन् ।
गुगलविरुद्ध मुद्दा हाल्नेहरूले कम्पनीले इन्कग्निटो मोडमासमेत प्रयोगकर्ताको इन्टरनेट ब्राउजिङ ट्र्याक गरेको दाबी गरेका छन् । इन्कग्निटोमा समेत गुगलका कुकी, एनालिटिक्स र एनालाइटिक्स टुलले इन्टरनेट ब्राउजिङ गतिविधि ट्र्याक गर्न जारी राखेको उनीहरूको आरोप छ ।
न्यायाधीश इभान गोन्जालेज रोजर्सले यो मुद्दा जारी रहेको बताएकी छन् ।
गुगलका प्रवक्ता जोसे कास्टानेडाले यी दाबीको कडा विरोध गर्ने र कडारूपमा आफ्नो रक्षा गर्ने बताएका छन् । क्रोमको इन्कग्निटो मोडले प्रयोगकर्ताको गतिविधि ब्राउजर वा उपकरणमा नराखेरै इन्टरनेट चलाउन दिने उनको दाबी छ ।
तर, त्यहाँ खोलिएका वेबसाइटहरूले ब्राउजिङ गतिविधिबारे जानकारी संकलन गर्न सक्ने उनको भनाइ छ ।
गुगलले क्रोमको इनकग्निटो मोडमा पनि ब्राउजिङको डाटा संकलन गरेको दाबी गर्दै वादीहरूले सन् २०२० मा गुगलमाथि मुद्दा हालेका थिए ।
मुद्दामा कम्तीमा पाँच अर्ब अमेरिकी डलरको क्षतिपूर्ति माग गरिएको छ । यो मुद्दा सुनुवाइका लागि अघि बढ्न लागेका न्यायाधीशले गुगलको माग अस्वीकार गरेका हुन् ।
द भर्जबाट ।