काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । वर्षापछि काठमाडौं उपत्यकाका केहीसहित विभिन्न स्थानमा डुबान समेत भएको छ ।
आज सर्लाही, रौतहट, सिन्धुलीमा बाढीको अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मती र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतरा तहभन्दा माथि रहने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा अति उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), तनहुँ, स्याङ्जा, रुपन्देही, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीहरूमा पनि आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ ।
पाँचथर, रामेछाप, ओखलढुंगा, उदयपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, धादिङ, कास्की, प्युठान, अर्घाखाँची, गुल्मी, सल्यान, रोल्पा, सुर्खेत, दैलेख, डोटी, बझाङ, जाजरकोट, अछाम, डडेलधुरा, बैतडी र दार्चुला भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि बढ्दो हुने पूर्वानुमान छ ।
आज कन्काई, कमला, पश्चिम राप्ती, बबई, पूर्वी राप्ती र यसका प्रमुख सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । साना नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।