site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा फैलियो आँखा पाक्ने रोग, एक दिनमै थपिए हजार बढी संक्रमित
Tiktok banner adTiktok banner ad

पोखरा । कुनै बेला सेतो पुतलीको झुसले आँखामा हुने संक्रमण ‘सापु’का बिरामीले पोखराको हिमालय आँखा अस्पताल भरिभराउ हुन्थ्यो । यतिबेला भने आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’का बिरामीले अस्पताल भरिएको छ । आँखा पाक्ने रोगका बिरामीको संख्या यही सातामा मात्रै तेब्बरले बढेको छ । 

औसतमा ४/५ सय बिरामी आउने अस्पतालमा पछिल्लो दुई दिनयता मात्रै हजारभन्दा बढी बिरामी आँखा पाक्ने रोगको उपचार गर्न अस्पताल आएका छन् ।

पछिल्लो समय यो रोग यति तीव्र गतिमा फैलिएको छ कि त्यसलाई नियन्त्रण गर्न भनेर पालिकाहरूले विद्यालय नै बन्द गर्न थालेका छन् ।

नवलपुरको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाले सोमबार नै चार दिनका लागि भनेर विद्यालय बन्द गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएका छन् । खैरेनीटार माध्यमिक विद्यालय साउन २४ गतेसम्म बन्द भएको छ । पोखरामै पनि रामबजारमा रहेको एक विद्यालय बन्द गरिएको छ । 

आँखा पाक्ने रोग फैलिने दर तीव्र गतिमा बढेका कारण महानगरपालिका भित्रका विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने विषयमा महानगरपालिकाले मंगलबार निर्णय लिने जनाएको छ ।

सोमबार नै पत्रकार सम्मेलन गरेर हिमालय आँखा अस्पतालले आँखा पाक्ने रोगका बिरामीको संख्या बढेको जानकारी दिएको छ ।

गण्डकी प्रदेशकै एकमात्र आँखा रोगको विशेषज्ञ अस्पताल हिमालय आँखा अस्पतालमा गएको मंगलबारदेखि आइतबारसम्म मात्रै १ हजार ५७३ जना बिरामी आँखा पाक्ने रोग लिएर उपचार गराउन आएको अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले जानकारी दिइन् ।

यो रोग सबै उमेर समूहलाई लाग्ने भएतापनि बालबालिकामा संक्रमणको दर उच्च छ । डा. श्रेष्ठका अनुसार ९१८ जना बालबालिकामा यो रोग देखिएको छ ।

आइतबार मात्रै अस्पताल आएकामध्ये ६२९ बिरामी आँखा पाक्ने ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’का संक्रमित थिए । तीमध्ये ३६० जना बालबालिका हुन् ।

सोमबार त बिहानैदेखि अस्पतालमा बिरामीको झनै भिड बढेको छ । आँखा पाक्ने रोगले ग्रसित भएपछि जिल्ला जिल्लाबाट आएका बिरामीले भिड बढेको छ ।

यो संक्रमणका मुख्य लक्षणहरूमा आँखा पोल्ने, बिझाउने, आँसु धेरै आउने, आँखा रातो देखिने, सुन्निनेजस्ता समस्या देखिन्छन् ।

डा. श्रेष्ठ भन्छिन्, “यो हावाबाट सर्दैन । हाम्रो आँखाको तरल पदार्थबाट भाइरस ट्रान्समिसन हुन्छ । हातमा संक्रमितको आँसु पर्‍यो भने त्यहाँबाट सर्छ ।”

संक्रमितले प्रयोग गरेको रुमाल, साबुन, चस्मा, औषधिलगायत सामग्री अरूले प्रयोग गर्दा संक्रमण सजिलै सर्ने उनले बताइन् । 

डा. श्रेष्ठले आँखा नमाड्न, पानी नछ्याप्न, जथाभाबी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न र लक्षण देखिएपछि अस्पताल जान सुझाव दिइन् । "आँखा पाक्यो भनेर कति जनाले आँखा खोलेर पानी छ्याप्छन्, त्यो चाहिँ गर्नुहुँदैन," उनले भनिन् ।

अस्पतालका प्रा. डा. इन्द्रमान महर्जनका अनुसार अहिले अस्पतालमा आउने बिरामीको संख्या तेब्बरले बढेको छ । उनका अनुसार अहिले दैनिक १२/१३ सय जना बिरामी आउँछन् । तीमध्ये अधिकांशमा बढीमा आँखा पाक्ने रोग देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro