site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुल्झिँदै सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको विवाद

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चिकित्सा शिक्षाअन्तर्गतका विषयमा भर्ना प्रक्रिया चिकित्सा शिक्षा ऐनअनुसार नै गर्ने भएको छ । सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले भर्ना प्रक्रियामा आयोगको सुझावअनुसार नै अघि बढ्ने तयारी भएको बताए । 

“भर्नाको सम्बन्धमा चिकित्सा शिक्षा आयोगले उठाएको विषयलाई नै मनन गरी उहाँहरूसँगकै समन्वयमा अघि बढ्ने तयारी भएको छ । यससम्बन्धी सम्पूर्ण प्रक्रिया मन्त्रालयको रोहबरमा हुने छ,” अधिकारीले बाह्रखरीसित भने ।

योसँगै सरकारका दुई निकायबीचको कार्यक्षेत्र र अधिकारको विवाद सुल्झिने देखिएको छ । 

विवाद के थियो ? 

सीटीईभीटीले आफू मातहतका कलेजहरूमा आगामी शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया अघि बढाएको थियो । तर, चिकित्सा शिक्षा आयोगले मापदण्ड नपुगेका कलेजहरूको भर्ना प्रक्रिया तत्काल अघि नबढाउन सीटीईभीटीलाई निर्देशन दिएको थियो । 

सीटीईभीटीले भने आयोगको परिपत्रानुसार प्रमाणपत्र तहका कार्यक्रमको भर्ना नरोक्ने जनाएको थियो ।

आयोगको पत्रको भ्रममा नपरी सीटीईभीटीले निर्धारण शैक्षिक सत्र २०८०/०८१ को भर्ना प्रक्रियामा सहभागी हुन अभिभावक र विद्यार्थीलाई आह्वानसमेत गरिसकेको थियो । तर, भर्ना प्रक्रिया चिकित्सा शिक्षा ऐन मिचेर अघि नबढाउन आयोगले सुझाएको थियो । 

“सीटीईभीटीका उच्च अधिकारीहरूको तहबाट यस्तो निर्णय भएको पक्कै होइन । ऐनविपरीत भर्ना प्रक्रिया अघि बढाउने आह्वान बीचका कुनै स्वार्थी समूहबाट भएको हुनुपर्छ । त्यसैले यो सच्चिनुपर्छ । ऐन र कानुनभन्दा माथि कोही हुँदैन । सीटीईभीटीले पनि यो निर्णय सच्याउँछ भन्नेमा म विश्वस्त छु,” आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बाह्रखरीसित भने । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले दुई निकायका प्रतिनिधिहरूलाई राखेर केहीदिन यता निरन्तर छलफल गराइरहेका थिए । पछिल्लोपटक बिहीबार दुई निकायबीच छलफल भएको थियो । 

ऐनले के भन्छ ?

सीटीईभीटीले यसअघि आफ्नो मातहतका कलेजको भर्ना प्रक्रियाको सम्पूर्ण अधिकार परिषद् परीक्षा नियन्त्रण कार्यालयलाई नै हुने जनाउँदै भर्ना सूचना निकालेको थियो । आफ्नो मातहतका कलेजहरूमा प्रमाणपत्र तहसम्मका सम्पूर्ण कार्यक्रममा भर्ना तथा पढाइ सञ्चालनको अधिकार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ अनुरूप नै हुने सीटीईभीटीले दाबी गरेको थियो । 

यता राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा आयोगको काम, कर्तव्य र अधिकार तोकिएको छ । जसमा ‘आयोगले संघ र प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह तथा विधाको मापदण्ड र स्तरसम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने’ उल्लेख छ । त्यस्तै ‘परिषद् (सीटीईभीटी) अन्तर्गत प्रमाण तहका स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रमहरूको प्रवेश परीक्षा सम्बन्धी व्यवस्था आयोगको समन्वयमा परिषद्ले गर्ने भन्ने उल्लेख छ ।  

सीटीईभीटीले आफ्नो मातहतमा २४२ वटा शिक्षण संस्थाबाट चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro