site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाखुसीमा भएजस्ता घटना नदोहोरिने गरी काम गर्न समितिको निर्देशन
तस्बिर : रासस ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले यही साउन ७ गते रानीबारीस्थित सामाखुसी खोलामा आएको बाढीमा परी बेपत्ता भएका साजन मगरको खोजी गर्न र त्यस्ता घटना नदोहोरिने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

वर्षात्का समयमा यस्ता घटना अन्यत्र नदोहोरिने गरी काम गर्न समितिले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी मन्त्रालयलगायत सरकारी निकायलाई निर्देशन दिएको हो ।

समितिले भौगोर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न, काठमाडौं उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

Argakhachi Cement Island Ad

मंगलबार बसेको समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सामाखुसीमा भएको जस्ता घटना दोहोरिन नदिन विभिन्न निकाय संलग्न हुनुपर्ने भएकाले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । चक्रपथको ढल सामाखुसीमै मिसिने भएकाले व्यवस्थापनका लागि मन्त्रालय र त्यसअन्तर्गतका निकायले काम गर्ने उनको भनाइ थियो ।

वर्षात्मा मानिसको जिउ, धनसम्पत्तिको सुरक्षाका लागि काम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री ज्वालाले स्पष्ट पारे ।

समितिका ज्येष्ठ सदस्य लालवीर चौधरीले पूर्वाधार निर्माण गर्दा आइपर्ने यस्ता समस्या समाधान गरेर अघि बढ्न निर्देशन दिएका थिए ।

सडक विस्तार गर्दा अपांगतामैत्री नबनाउँदा र काम सुरु गरेर अलपत्र छोड्दा सामाखुसीमा घटना घटेको सांसद राजेन्द्र बजगाईंले बताए ।

सांसद प्रदीप पौडेलले चक्रपथबाट निस्कने ढललाई विष्णुमतीमा जाने गरी व्यवस्थापन गर्न सडक विभागलगायत सरोकारवाला निकायसँग माग गरे ।

सांसद ठाकुर गैरेले सामाखुसीमा भएजस्ता घटना दोहोरिन नदिने गरी सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताउ ।

बैठकमा बिना लामा, माधव सापकोटा, ऐनबहादुर शाही, प्रेम महर्जन, दीपकबहादुर सिंह, सन्तोष परियार, निशा डाँगीलगायत सांसदहरूले धारणा राखेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले काठमाडौं उपत्यकाको प्राकृतिक ढल व्यवस्थापन बिग्रिएको र आधुनिक ढल व्यवस्थापनमा धेरै निकाय संलग्न हुने भएकाले पनि समस्या भएको बताए । काठमाडौंका एकचौथाइ सडक मात्र विभागले हेर्ने भएकाले पनि कहाँ के भइरहेको छ भन्ने कुराको जानकारी मन्त्रालयबाट मात्र पाउन नसकिने उनको भनाइ छ । रासस

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्