काठमाडौं । सर्वोच्च अदालतबाट जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की र एसपी रमेशकुमार बस्नेतले अदालतको अवहेलना मुद्दामा क्षमादान पाएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमारप्रसाद चुडालको इजलासले दुवैजनालाई अदालतमै उपस्थित गराएर क्षमादान दिएको हो ।
बाह्र वर्षअघिको तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला कार्यान्वयन नगरेको भनी सर्वोच्च अदालतले गत २०७९ फागुन ११ मा आदेश गरेको थियो । आदेशअनुसार जाहेरीको अनुसन्धान गरी सरकारी कागजात किर्तेमा मुद्दा नचल्ने निर्णय गरेपछि न्यायाधीश खतिवडा र चुडालको इजलासले क्षमादान गरेको हो ।
भक्तपुर जिल्ला अदालतत र तत्कालीन पुनरावेदन अदालत पाटनले श्रीमान्–श्रीमतीको झगडामा महिलाको पक्षमा फैसला गरेपछि श्रीमान् र सासूले विवाह दर्ता, अस्पताल भर्ना, बच्चाको जन्मसहितका सबै कागज किर्ते भएको दाबीसहित काठमाडौं प्रहरी परिसरमा मुद्दा दायर गरेका थिए । तर, प्रहरीले उनीहरूको उजुरी नै गलत भएको भनेर मुद्दा चलाएन । त्यसपछि ‘अनुचित विलम्ब गरेकाले शीघ्रता प्रदान गरी पाऊँ’ भन्दै पुनरावेदन अदालतमा रिट निवेदन परेको थियो ।
त्यसअनुसार जाहेरीबारे यथाशीघ्र काम, कारबाही अघि बढाउनू भन्दै पुनरावेदन अदालत पाटनले २९ असार २०६८ मा परमादेश जारी गरेकोमा आदेश कार्यान्वयन नभएपछि सर्वोच्चमा रिट परेको थियो । रिटमा सुनुवाइ हुँदा ०७६ सालमा सर्वोच्चले सक्कल मिसिल झिकाएपछि प्रहरीमा कुनै कारबाही नभएको देखिएको थियो । ०७९ माघमा काठमाडौं प्रमुख भएर गएका कार्कीलाई एकैपटक १५ दिन जेल सजाय र पाँचहजार जरिबानाको फैसला थाहा भएपछि बल्ज उनले मिसिल खोजी गरेको बताएका छन् ।
“यसअघिका प्रमुखहरू सबैको तर्फबाट मैले कालकूट विष पिएँ,” काठमाडौं परिसर प्रमुख कार्कीले बाह्रखरीसँग भने, “मुद्दा नचल्ने निर्णय गरेर आएपछि आज इजलासबाट त्यो कालकूट विषयबाट मसहितलाई मुक्त गरिदिएको छ ।” उनले न्यायालयका फैसलाको सम्मानका लागि भएको निर्णयलाई आफूले पनि सम्मान गरेको बताए ।