
काठमाडौं । नारायणगढ–मुग्लिन–आँबुखैरेनी सडकखण्डका धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टा सडकखण्डको देवघाटदेखि कालीखोला, सखर तनहुँ आसपास धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ ।
सो सडकखण्डमा पर्ने स–साना खोलामा आकस्मिक बाढी, गेग्रान बहाब हुनसक्ने महाशाखाले अनुमान गरेको छ ।
सो क्षेत्रको राजमार्गमा पहिरोको जोखिम हुनसक्ने भएकाले सडकखण्डमा यात्रा गर्दा अति उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटकपटक अवरुद्ध हुने गरेको छ । आज बिहान पनि इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।