site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीटीईभीटीका पदाधिकारीलाई बर्खास्त गर्न डा. केसीको माग
फाइल तस्बिर।

काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगलाई नटेर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । भ्रष्ट पदाधिकारीको संज्ञा दिँदै डा. केसीले उनीहरुलाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष माग गरेका छन् ।

डा. केसीले बिहीबार प्रेस विज्ञप्तिमार्फत सीटीईभीटीको निर्णय उल्ट्याउन, शुल्क बढाउनेसम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् ।

“सबै प्रदेशमा सरकारी मेडिकल कलेज÷प्रतिष्ठान पुर्याउनुपर्नेमा विभिन्न वहानामा रोकिएको काम अघि बढाउने, पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने, स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्नेलगायत यस अगाडि हामीसित भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न हामी सरकारसित माग गर्दर्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

अन्यथा कुनै पनि बेला सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रम ल्याउन बाध्य हुने उनले बताएका छन् ।

आयोगले मापदण्ड नपुगेका कलेजहरुमा सिट निर्धारण नगर्न र भर्ना प्रक्रिया अघि नबढाउन सीटीईभीटीलाई निर्देशन दिएको थियो । चिकित्सा शिक्षा अध्ययन गराउने कलेजहरुको मापदण्ड र अपग्रेडिङको विषय आफ्नो क्षेत्राधिकारभित्र पर्ने आयोगको दाबी छ ।

सीटीईभीटीले भने भर्ना प्रक्रियाको सम्पूर्ण अधिकार परिषद् परीक्षा नियन्त्रण कार्यालयलाई नै हुने दाबी गरेको छ । सोही दाबीका आधारमा सीटीईभीटीले भर्ना प्रक्रिया नरोक्ने जनाएको छ ।

यस्तो छ डा.केसीको प्रेस विज्ञप्ति

शिक्षा र स्वास्थ्य विशुद्ध सेवामुलक र नाफारहित क्षेत्र हुनुपर्नेमा नेपालमा राजनीतिक दलहरुले यी क्षेत्रको अति व्यापारीकरण गरेका छन् । त्यसैले विभिन्न खाले माफियाहरु यी क्षेत्रमा लगानी गरेर नाफाखोरी गर्न उद्यत् छन् । त्यस्तै, पार्टीका भ्रष्ट कार्यकर्ताहरु नियामक निकायमा पुगेर अन्धाधुन्ध विभिन्न तहका निजी संस्थालाई सम्बन्धन बेचेर रातारात धनी बन्ने ध्याउन्नमा छन् ।

चिकित्सा शिक्षाजस्तो संवेदनशील क्षेत्रमा यस्तो हुनु हुँदैन भनी हामीले गरेको दशक लामो सत्याग्रहसहितको आन्दोलनका कारण २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भयो र त्यसैअनुसार चिकित्सा शिक्षा आयोग स्थापना भयो । माफिया र तिनका राजनीतिक संरक्षकहरुका अनेक अवरोध र हस्तक्षेपका बाबजुद आयोग सन्तोषजनक कार्य सम्पादन गर्न सफल भएको छ ।

यसबीच सीटीईभीटीलाई पूर्ण रुपमा कार्यकर्ता भर्तीको थलो बनाएका भ्रष्ट नेताहरुले चिकित्सा शिक्षाजस्तो संवेदनशील विषयलाई खुलेआम बिक्रीको विषय बनाई गुणस्तर धराशायी बनाइसकेका छन् ।

त्यसैले देशको सबै तहको सबै खाले चिकित्सा शिक्षाको गुणस्तर चिकित्सा शिक्षा आयोगले गर्ने परिकल्पना चिकित्सा शिक्षा ऐनले गरेको छ । तर पार्टीका भ्रष्ट नेताले सीटीईभीटीमा नियुक्त गरेका आफैंमा निजी कलेजका मालिक रहेका माफियाहरु अहिले त्यो व्यवस्था उल्ट्याउन र अटेर गर्न तथा आफ्नै स्वार्थका लागि विभिन्न कोर्सहरुको शुल्क अचाक्ली बढाउन उद्यत् भएका छन् ।

खुलेआम आयोगको निर्देशन नटेर्ने उनीहरुको दुस्साहस पार्टीका भ्रष्ट र अपराधी नेताहरुकै चिकित्सा शिक्षाको गुणस्तर धराशायी बनाएर दोहन गर्ने प्रयासको अर्को रुप हो ।

यस्तो प्रयास नेपालमा चिकित्सा शिक्षाको गुणस्तर बढाउने तथा आम विद्यार्थीहरुलाई राहत दिने हाम्रो अभियान तथा चिकित्सा शिक्षा ऐनको आशयभन्दा पूर्णविपरीत छ ।

साथै, यसले सीटीईभीटी कब्जा गरेर बसेका कार्यकर्ताहरु र तिनका राजनीतिक मालिकहरु कतिसम्म गिरेर सुधारको प्रक्रिया उल्ट्याउन चाहन्छन् भन्ने पनि प्रष्ट हुन्छ । उनीहरुको यस्तो प्रयास हाम्रा लागि कुनै पनि हालतमा स्वीकार्य छैन बरु निन्दनीय छ ।

त्यसैले सीटीईभीटीका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी चिकित्सा शिक्षा आयोगलाई नटेर्ने उनीहरुको निर्णय उल्ट्याउन, शुल्क बढाउनेसम्बन्धी निर्णय खारेज गर्न तथा सबै प्रदेशमा सरकारी मेडिकल कलेज÷प्रतिष्ठान पुर्याउनुपर्नेमा विभिन्न वहानामा रोकिएको काम अघि बढाउने, पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने, स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने लगायत यसअगाडि हामीसित भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न हामी सरकारसित माग गर्दर्छौं ।

अन्यथा कुनै पनि बेला सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रमहरु ल्याउन बाध्य हुने जानकारी गराउन चाहन्छौं ।

डा. गोविन्द केसी
२०८०।४।११

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro