
काठमाडौं । पछिल्लो एक वर्षमा नेपालले आठ अर्ब ३१ करोड ५३ लाख २० हजार रुपैयाँको मरमसला आयात गरेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा उक्त रकम बराबरको मरमसला नेपाल भित्रिएको हो ।
२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा उक्त रकममा ३ करोड १ लाख ९५ हजार ८१८ केजी मरमसला नेपाल भित्रिएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा एक अर्ब ३९ करोड ८० लाख ५४ हजार रुपैयाँमा १० लाख ७४ हजार ६९६ केजी सुकुमेल र ३८ करोड ७१ लाख ९२ हजार रुपैयाँमा आठ लाख ४६ हजार ५७८ केजी मरिच नेपालले आयात गरेको छ ।
सोही अवधिमा १७ करोड १९ लाख ८२ हजार रुपैयाँको ६ लाख ४३ हजार ९४२ केजी दालचिनी र ११ करोड ४४ लाख ४२ हजार रुपैयाँको दुई लाख ४ हजार ६४९ केजी ल्वाङ नेपाल भित्रिएको छ ।
तीन करोड ३६ लाख ५१ हजार रुपैयाँको ५१ हजार ५७० केजी जाइफल, ६५ करोड १३ लाख ५० हजार रुपैयाँको ४५ लाख ७ हजार ३८३ केजी धनियाँ र दुई अर्ब २ करोड ५ लाख ७ हजार रुपैयाँको ६० लाख ९७ हजार ९२ केजी जिरा गत आर्थिक वर्ष नेपालले आयात गरेको छ ।
गत आर्थिक वर्ष नै नेपालले ११ करोड ४२ लाख ९५ हजार रुपैयाँको सुप, ११ करोड ९१ लाख ९७ हजार रुपैयाँको अदुवा, २९ करोड ९२ लाख ७२ हजार रुपैयाँको बेसार, २५ करोड ४९ लाख ९२ हजार रुपैयाँको मेथी र २४ करोड ८६ लाख ५१ हजार रुपैयाँको सुकेको खुर्सानी आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा आठ अर्ब ८३ करोड १० लाख ५६ हजार रुपैयाँको चार करोड ११ लाख ६९ हजार ८६८ केजी मरमसला नेपाल भित्रिएको थियो ।