
काठमाडौं । सरकारले खर्च घटाउन संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलको संख्या घटाए पनि राज्यको व्ययभार नघटेको पाइएको छ ।
यो घटना ०८० सालको हो । ०८० भदौ ६ गतेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्युयोर्क जाने निर्णय गरेको थियो ।
०८० भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रसंघको महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलको संख्या संशोधन गर्दै १३ जनामा सीमित गर्यो । यो १३ जनामा पनि दुईजनाको आर्थिक भार नेपाल सरकारले व्यहोर्न पर्दैनथ्यो ।
जम्बो टोली राष्ट्रसंघको महासभामा जान लागेको भन्दै आलोचना भएपछि त्यतिबेला सरकारले संख्या २३ बाट घटाएर १३ मा झारेको थियो । संख्या घटाउनुको उद्देश्य राज्यलाई व्ययभार कम गर्ने भन्ने थियो ।
तर, यसको ठिकविपरीत ०८० सालमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल जाँदा राज्यलाई ४४ लाख ३७ हजार व्ययभार परेको महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार मन्त्रिपरिषद्को ०८० भदौ ६ गतेको निर्णयअनुसार २६ जनाको हवाई टिकट बुकिङ गरेकोमा परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय संशोधन भएको कारण १४ जनाको हवाई टिकट बुकिङ रद्द गरेको थियो ।
“ग्रुप बुकिङ टिकट रद्द भएको अवस्थामा टिकटको रकम फिर्ता नहुने व्यहोरा टिकट आपूर्तिकर्ताले जनाएको उल्लेख छ । उक्त हवाई टिकट रद्द भएका कारण ४४ लाख ३७ हजार रुपैयाँ व्ययभार परेको छ,” महालेखाको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार त्यतिबेला मन्त्रिपरिषद्को निर्णयमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपश्चात् नौजनाको प्रतिनिधिमण्डल चीन जाने निर्णय भएको थिएन ।
“तर मन्त्रिपरिषद्को निर्णय बेगर नौजना अमेरिकाबाट चीन जान बुकिङ गरेका हवाई टिकट रद्द गर्नुपर्दा माथि उल्लिखित व्ययभारमध्ये ३१ लाख ६ हजार रुपैयाँ खर्च व्यहोर्नु परेको छ,” महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले यस सम्बन्धमा भनेको छ, “प्रत्येक वर्ष आयोजना हुने कार्यक्रममा सहभागी हुने पदाधिकारीको संख्या तथा सहभागीको भूमिकालगायत विषय समयमै यकिन हुन सकेमा हवाई टिकटको लागतमा कमी र व्यवस्थापन पक्षमा समेत सहजता हुने हुँदा आ–आफ्नो क्षेत्रको कार्यमा प्रभावकारिता र मितव्ययिता कायम गर्न सम्बन्धित निकाय जिम्मेवार हुनुपर्दछ ।”