site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ब्याज अनुदानबापतको आठ अर्ब ८१ करोड रकम राष्ट्र बैंकले दिएन, छानबिन गर्नुपर्ने

काठमाडौं । सरकारले ब्याज अनुदानबापत उपलब्ध गराएको रकममध्ये आठ अर्ब ८१ करोड १६ लाख रुपैयाँ बैंकमा राखिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले ब्याज अनुदान पाउनयोग्य क्षेत्रगत तथा विषयगत कर्जा र सो कर्जामा दिइएको अनुदान विवरण पेस नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८०/८१ मा २१ अर्ब १४ करोड ६० लाख बजेट विनियोजन गरेकोमा तीन अर्ब नेपाल राष्ट्र बैंकलाई निकासा गरेको प्रतिवेदनमा उल्लेख छ । “नेपाल राष्ट्र बैंकले ब्याज अनुदान पाउनयोग्य क्षेत्रगत तथा विषयगत कर्जा र सो कर्जामा दिइएको अनुदानको विवरण पेस गरेको छैन । नेपाल राष्ट्र बैंकलाई २०८०/८१ सम्म २७ अर्ब निकासा गरेकोमा १८ अर्ब १८ करोड ८३ लाख १२ हजार रुपैयाँ ब्याज अनुदान वितरण गरेको देखिन्छ । नेपाल सरकारबाट प्राप्त रकममध्ये आठ अर्ब ८१ करोड १६ लाख ८८ हजार ब्याज अनुदान प्रवाह नभई बैंकमा मौज्दात रहेकोले कार्यक्रमको लक्ष्य अनुरूप अनुदान वितरण हुनसकेको छैन,” प्रतिवेदनमा उल्लेख छ ।

सरकारले बजेट खर्च जनाई उपलब्ध गराएको रकम बैंकमा मौज्दात रहेको सम्बन्धमा छानबिन गरी बाँकी रकम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने महालेखाको ६२औँ प्रतिवदेनकम उल्लेख गरेको छ ।

त्यस्तै, अनुदानका कारण सिर्जना भएको रोजगारी एवं उद्यमशीलता विकासलगायत उत्पादनशील अर्थतन्त्र निर्माणमा खेलेको भूमिका तथा सहुलियतपूर्ण कर्जाको प्रतिफल समेतलाई यकिन गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्