
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा पहिलोपटक गठित स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको पहलमा युनिसेफ नेपालको सहकार्यमा ‘विपद् जोखिम व्यवस्थापनमा निजी क्षेत्रको भूमिका’ विषयक कार्यक्रम भएको छ ।
कार्यक्रममा विपद् के हो ? यसको जोखिम के के हुन सक्छन् ? विपद्ले व्यवसायमा कसरी हानि गर्छ ? यसलाई न्यूनीकरण गर्न के–के गर्नु पर्छलगायत विभिन्न विषयहरुको बारेमा प्रस्तुतकर्ताले स्पष्ट पारेका थिए ।
युनिसेफ नेपालको तर्फबाट सुनिता कायस्थले १९९८ देखिको महासंघसंगको सहकार्य स्मरण गर्दै विपद्पश्चातको महासंघको प्रभावकारी अग्रसरतालाई विपद् पूर्वतयारी प्रयोग गर्न सकेमा धेरै जोखिम न्यूनीकरण हुने र व्यवसाय निरन्तरतामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनको सहकार्यका लागि युनिसेफ नेपाल सदैव तयार रहेको बताइन् ।
महासंघले विपद् पूर्वतयारीमा जिम्मेवारी महसुस गर्दै नेपाल सरकार एवं विभिन्न दातृ निकायहरुको सहकार्य एवं निजीक्षेत्रको अग्रसरतामा व्यवसाय निरन्तरतासम्बन्धी चेतनामूलक कार्यक्रमहरु गर्ने योजना रहेको जानकारी दिइएको छ ।
सोही अवसरमा कार्यक्रमका महासंघका उपाध्यक्ष हेमराज ढकालले अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण भएको बताए । उद्योगी व्यवसायीहरुमा व्यवसाय निरन्तरता योजनाको बारेमा विभिन्न क्षेत्रगत रूपमा जानकारी गराउनुपर्ने र त्यसको लागि महासंघ निरन्तर सहकार्यमा रहने बताए ।
त्यस्तै, मन्तव्यको क्रममा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले व्यवसाय निरन्तरता योजनाको बारेमा आफू जानकार हुने अवसर प्राप्त भएको यो उद्योगी व्यवसायीको लागि अतिनै महत्वपूर्ण रहेको बताइन् ।