काठमाडौं । दक्षिण कोरियाविरुद्ध २–० को जित निकाल्दै कोलम्बियाले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकपमा सुखद् सुरुआत गरेको छ ।
ह्यान्डबलका कारण पेनाल्टी हुँदा र गोलकिपरको एक गल्तीका कारण दक्षिण कोरियाले पहिलो खेलमा नै तीन अंक कोलम्बियालाई सुम्पिनु पर्यो । अस्ट्रेलियाको सिड्नीस्थित एलिएन्ज रंगशालामा सम्पन्न खेलमा कोलम्बियाले ३०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै दक्षिण कोरियाविरुद्ध अग्रता बनाएको थियो ।
२८औँ मिनेटमा १८ यार्ड बक्सभित्र दक्षिण कोरियाकी सिम सिओ–येओनको ह्यान्ड भएपछि कोलम्बियाले पेनाल्टीको अवसर पाएको थियो । जसमा कोलम्बियाकी उच्च गोलकर्तासमेत रहेकी क्याटालिना उस्मेले कुनै गल्ती नगरी बललाई जाली चुमाइन् । उस्मेको प्रहारमा दक्षिण कोरियाकी गोलकिपर योन योङ–गुएलले विपरीत दिशातर्फ डाइभ गरेकी थिइन् ।
त्यसको आठ मिनेटपछि नै कोलम्बियाले अग्रता दोब्बर पार्यो । रियाल मड्रिडकी १८ वर्षीय लिन्डा काइसेडोले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार कोरियन गोलकिपरले सहजै नियन्त्रणमा लिन खोज्दा हातबाट चिप्लिँदै गोल भएको थियो ।
जितसँगै तीन अंक जोडेको कोलम्बिया समूह ‘एच’को दोस्रो स्थानमा उक्लिएको छ । समान अंक रहे पनि यो समूहमा जर्मनी शीर्ष स्थानमा छ । तालिकाको तेस्रो स्थानमा दक्षिण कोरिया र चौथो स्थानमा मोरोक्को छन् ।